गजल

? सुन्दर भट्ट

 

भोट माग्न आ'का थिए, डोको देखाइ दिएँ

दुई दिनदेखि न'खाको पेट, भोको देखाइ दिएँ

 

तिम्रो घरमा अन्नपानी पठाइदिन्छौ भन्दै थिए

मागी ल्याको मकै पिठो पोको देखाइ दिएँ

 

गाउँ-गाउँमा स्वास्थ्य चौकी बनाइ दिन्छौँ भने अनि

जीउ भरि घाउ-खटिरा फोको देखाइ दिएँ

 

तिम्रो गाउँ स्वर्गजस्तै बनाइदिन्छौ भने तिन्‌ले

खान नपाई बालबच्चा रो'को देखाइ दिएँ

 

नबुझिने अरू पनि धेरै थरी कुरा गर्थे

घाँस काट्न हिँडेको म, बोको देखाइ दिएँ।

 

³³³ 


दिङ्ला भोजपुर स्थायी घर हुने श्री सुन्दर भट्ट हाल बेलबारी ४ मोरङमा बसोबास गर्नुहुन्छ र सुकुना साहित्यिक विद्यार्थी समाजसँग आबद्ध हुनुहुन्छ।