|
आत्मसङ्गीत ? प्रेमचन्द
आधा रात थियो। नदीको किनारा थियो। आकाशमा ताराहरू स्थिर थिए र नदीका तरङ्गहरू तिनै ताराका प्रतिबिम्बहरूसँगै चञ्चल थिए। स्वर्गीय सङ्गीतको मनोहर, जीवनदायी एवम् प्राणलाई पोषित गर्ने ध्वनिहरू, यस निस्तब्ध र तमोमय दृश्यमा हृदयमा आशा लुकाएर मुखमण्डलमा शोक छाएझैँ छाएका थिए। रानी मनोरमाले आज गुरुबाट दीक्षा लिनुभएको थियो। दिनभरि दान र व्रतमै व्यस्त रहेपछि, उहाँ मीठो निद्राको काखमा सुतिरहनुभएको थियो। अचानक उहाँका आँखाहरू खुले र उहाँले यी मनोहर ध्वनिहरू सुन्नुभयो। दियो देखेर कीराहरू व्याकुल भएझैँ उहाँ पनि व्याकुल हुनुभयो। गुलियाको गन्धमा कमिला अधीर भएझैँ उहाँ पनि अधीर हुनुभयो। उहाँ उठ्नुभयो, द्वारपाल र चौकीदारहरूका नजरबाट बच्दै, वेदनापूर्ण क्रन्दन सुनेर आँखाबाट आँसु निस्केझैँ उहाँ राजमहलबाट बाहिर निस्कनुभयो। सरिताका तटमा काँढैकाँढा भएका झाडीहरू थिए। अग्ला र तीखा चट्टानहरू थिए। भयानक जनावरहरू र तिनीहरूका डरलाग्दा आवाजहरू थिए। मनोरमा कोमलता र सुकुमारता की मूर्ति हुनुहुन्थ्यो। तर त्यस मधुर सङ्गीतबाट उहाँ यति धेरै प्रभावित हुनुहुन्थ्यो कि उहाँलाई ती सबै व्यवधानहरूको केही वास्ता थिएन। उहाँ घन्टौँ हिँडिरहनुभयो, तर केही समयपछि बाटामा नदीले उहाँको गतिलाई रोक्यो। ³³ मनोरमाले विवश भएर यताउति दृश्टि फ्याँक्नुभयो। किनारामा एउटा नौका देखियो पनि। उहाँले छेउमा गएर भन्नुभयो- "माझी ! म पारी जान्छु, मलाई त यो रागले व्याकुल बनाइसक्यो।" "राती त नौका खोल्न मिल्दैन हजुर। हावा जोडले चलेको छ अनि नदीका तरङहरू पनि डरलाग्दा छन्। ज्यान जाने डर छ।" "म रानी मनोरमा हुँ। नौका खोलिदेऊ, जति ज्याला माग्छौ दिन्छु।" "त्यसो हो भने त नौका खोल्दै खोल्दिनँ। रानीहरूको यस नदीमा निर्बाह हुँदैन।" "चौधरी, तेरो पाउ पर्छु, छिटो नौका खोलिदे, मेरो प्राण नै त्यतातिर तानिइरहेको छ।" "इनाम के दिने ?" "जे माग्छस् त्यही।" "तपाईँ नै भनिदिनुस् न। म गंवारले के जान्नु रानीहरूसँग के माग्नु पर्छ। कहीँ तपाईँको प्रतिष्ठाविरुद्ध केही मागिहाल्छु कि ?" "मेरो यो हार अति मूल्यवान छ। यसैलाई म ज्यालामा दिन्छु।" भन्दै मनोरमाले गलाबाट हार निकाल्नुभयो जसको चमकले उसको चाउरी परेको कठोर र कालो मुखमन्डल पनि उज्यालो भयो। अचानक मनोरमालाई सङ्गीतको ध्वनि नजिक आएझैँ लाग्यो। कदाचित कुनै पूर्ण ज्ञानी पुरुष आत्मानन्दको आवेशमा सरिताको त्यस तटमा बसेर त्यस निस्तब्ध निशालाई सङ्गीतमय बनाइरहेको थियो। रानीको हृदय उफ्रिन थालिसकेको थियो। आह ! कति मनलाई मुग्ध पार्ने राग ! उहाँले अधीर भएर भन्नुभयो- "माझी, अब ढिलो नगर्, नौका खोल्, म एकै क्षण पनि धैर्य गर्न नसक्ने भएँ।" "यो हार लिएर म के गर्नु ?" "असली मोती हुन्।" "त्यसो हो भने त अझै बिपत्ति हुने भो। माझिनीले गलामा धारण गरेर छिमेकीलाई देखाउँछे, ती सबै आह्रिसले डड्नेछन् र उसलाई गाली गर्नेछन्। चोरले देख्यो भने उसकै छातीमा सर्प गुँडुल्कि मार्ला। मेरो सुनसान झुप्रामा दिउसै डकैती होला। अनि फेरि मान्छेले चोरीको आरोप लगाउँछन्। अहँ मलाई त यो हार चाहिँदैन।" "तँ जे माग्छस् त्यही दिन्छु तर ढिलो नगर्। ममा अब धैर्य रहेन। एकैछिन पनि प्रतिक्षा गर्न सक्ने शक्ति ममा छैन। यस रागको हरेक तानले मेरो आत्मालाई तड्पाइरहेको छ।" "यो भन्दा राम्रो कुनै चीज दिनुस्।" "अरे निर्दयी ! तँ मलाई कुरामा अल्झाइराख्न चाहन्छस्। म जे दिन्छु त्यो लिँदैनस् र आफू पनि केही माग्दैनस्। तलाईँ के थाहा यतिबेला मेरो हालत के भएको छ? म यो आत्मिक पदार्थमा सर्वस्व त्याग गर्न तयार छु।" "अरू के दिने त?" "मसित योभन्दा बहुमुल्य बस्तु छैन। तर तँ अहिले नै नौका खोलिदे, म तलाईँ मेरो महल नै दिन्छु जुन तैले कदाचित देखेको होलास्। विशुद्ध सेतो ढुङ्गाबाट बनेको छ, भारत मै यसको तुलना छैन।" (हाँस्दै) "त्यस महलमा मलाई के आनन्द आउला र ? उल्टै मेरा भाइ-बन्धुहरू शत्रु बन्नेछन्। यो नौकामा अँधेरी रातमा पनि मलाई डर लाग्दैन। आँधी आइरहँदा पनि म यहीँ पल्टिइरहन्छु। तर त्यस महलले त मलाई दिउसै सिध्याउनेछ। मेरा घरका सबै मान्छे एउटै कुनामा आँटिहाल्छन्। अरू मान्छे कहाँबाट ल्याउनु ? मेरा न नोकर चाकर छन् न त्यतिका धैरे माल-सामान। महलको फूलबारी सुक्नेछ, बगैँचामा स्याल कराउन थाल्नेछन् र छानाका कुनातिर परेवा र रूपीले घरजम गर्नेछन्।" मनोरमा अचानक तन्मय अवस्थाबाट तर्सिएजस्ती हुनुभयो। उहाँलाई त्यो सङ्गीत नजिक आएझैँ लाग्यो। त्यस सङ्गीतको सुन्दरता दीयोमा बाती उकास्ता दीयो अझ प्रकाशवान भएर प्रज्ज्वलित भएझैँ प्रखर हुँदै गइरहेको थियो। पहिले त चित्ताकर्षक मात्र थियो अब त यो सङ्गीत आवेशजनक पनि भएको थियो। मनोरमाले फेरि व्याकुल भएर भन्नुभयो- "आह ! तँ फेरि आफ्नै मुखले किन माग्दैनस् ? आह कति विराग जगाउने राग हो यो, कति भावविह्वल पार्ने ! अब म अलिकति पनि धैर्य धारण गर्न नसक्ने भएँ। पानी छालमा जानलाई जति व्याकुल हुन्छ, श्वास औषधीका लागि जति लालायित हुन्छ र गन्ध उड्नका लागि जति उताउलो हुन्छ, म पनि त्यस सङ्गीतका लागि त्यति नै व्याकुल छु। त्यस सङ्गीतमा कोइलीको जस्तो मस्ती छ, चखेवाको जस्तो वेदना छ, श्यामाको जस्तो विह्वलता छ, त्यसमा झरनाको जस्तो जोड छ, आँधीको जस्तो बल छ। त्यसमा ती सब कुरा छन् जसमा जसले विवेकाग्नि प्रज्ज्वलित हुन्छ, जसमा आत्मा समाहित हुन्छ र जसमा अन्तस्करण पवित्र हुन्छ। माझी, छिटो नौका खोल्, अब एक क्षणको विलम्ब पनि मेरा लागि मृत्युको निमन्त्रणा हुन्छ। जुन सुमनको सुगन्ध हो यो, जुन दीपकको दीप्ति हो यो, त्यहाँसम्म मलाई पुर्याइदे। म देख्न पाइरहेकी छैन, यस सङ्गीतको रचयिता मेरै छेउमा छ, अत्यन्त निकट छ।" "तपाईँको महल मलाई केही कामको छैन। मेरो झुप्रो नै त्यसभन्दा कहाँ हो कहाँ सुन्दर छ।" "हरे ! अब म तलाईँ के दिऊँ ? यो सङ्गीत हैन, यो सुविशाल क्षेत्रको पवित्रता हो, यी समस्त सुमन-समूहको सौरभ हो, समस्त मधुरताहरूको माधुरी हो, समस्त अवस्थाहरूको सार हो। नौका खोल्। म जबसम्म बाँच्छु तेरो सेवा गर्छु, तेरा लागि पानी भर्छु, तेरो झुप्रो बडार्छु। अँ, अनि तेरा बाटामा आउने रोडाहरू हटाउँछु, तेरो झुप्रालाई फूलहरूले सजाउँछु, तेरी माझिनीको खुट्टा मालिस गर्छु। मेरो प्यारो माझी, यदि मसँग सयवटा शरीर भएका भए म सबै यही सङ्गीतलाई अर्पण गर्ने थिएँ। ईश्वरका लागि पनि मलाई निराश नगर्। मेरो धैर्यको अन्तिम बिन्दु पनि सुकी सक्यो। अब यही चाहनामा मेरो शरीर जल्छ, अब मेरो शिर तेरा चरणमा।" यति भन्दै मनोरमा विक्षिप्त अवस्थामा माझीको छेउमा गएर उसका खुट्टामा ढल्नुभो। उहाँलाई यस्तो लाग्यो मानौ त्यो सङ्गीत कुनै प्रज्ज्वलित दियोझैँ आत्मामा प्रकाश बर्साउँदै उहाँतिर आइरहेछ। उहाँ रोमान्चित हुनुभो। हावामा उडेझैँ भयो। छेउछाउमा ताराहरू झिलमिलाएझैँ लाग्यो। त्यसमाथि आत्मविस्मृतिको भावावेशले उहाँलाई गाँज्यो। अब त्यही मस्त सङ्गीत, त्यही मनोहर राग उहाँका मुखबाट निस्कन थाल्यो। तिनै अमृतका बूँदहरू उहाँका अधरबाट निस्कन थाले। उहाँ आफैँ त्यस सङ्गीतको श्रोत हुनुहुन्थ्यो। नदीपारिबाट आउने आवाजहरू, प्राण पोषित गर्ने ध्वनिहरू उहाँकै मुखबाट निस्किरहेका थिए। मनोरमाको मुखमन्डल चन्द्रमाको जस्तै प्रकाशमान भयो र आँखाबाट प्रेमका किरणहरू निस्कन थाले। ³³³
हिन्दीबाट अनुवादः कुमुद अधिकारी। |
|
|
मुन्सी प्रेमचन्द जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६ उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्। |