माझी

                     ?  नवराज सुब्बा

यात्रामा गीत गाउँदा

सबभन्दा खुसी भएको छु

सबभन्दा दुखी पनि

सायद मै भएको छु।

 

बन्धकी घरजेथा कम्मरमा कसेर

भीसा लागेको हर्केलाई कतै उड्न हतार होला

पोल्टोमा सुख पट्याएर राख्ने पुतलीथैली घुसारेर

मधुर सपना च्याप्दै

कान्छीलाई अरब छिर्नु हतार होला

कसैलाई गाडी भेट्न हतार होला

कसैलाई घर पुग्न हतार होला

तर खोई कसैले देखेनन् छामेनन्

मेरो छातीमाथि उठेका

नदीको भन्दा अग्ला छालहरू

यात्री ! जे होस् हामीले नदीको यात्राभरि

आँखा जुधायौँ मनमनै दोहोरी गीत गायौँ

र तर्‍यौ एकसाथ एउटै नदी।

 

म माझी

अरूको विदाइ र आगमनमा

स्वयम् यात्री भन्दा खुसी हुँदै आएको छु

नदी तार्दा पाएको भाडाले

अलिकति सन्तोष साटेर

बिहान बेलुका छाक टारेको छु

म यसकारणले अझै खुसी छु कि

नदीको बीचमा नदीको लहर काट्न

तानेका लामा सुस्केराहरूको मूल्य

बग्दाबग्दै नदीमै त्यत्तिकै बगाइपठाएको छु।

हेर त !

उर्लेको त्यो छालमा उर्लेर पनि म

हर यात्रीको आगमनमा

उही किनारामा

स्वागतार्थ हाजिरै छु, हाँसेकै छु।

 

यात्री ! जीवनको गीत गाउँदा

सबभन्दा खुसी भएको छु

सबभन्दा दुखी पनि

सायद मै भएको छु।

 

³³³

 


२०१८ साल असोज १५ गते आठराई, ताप्तेजुङमा जन्मनु भएका श्री नवराज सुब्बा कविता, गीत निबन्ध आदि विधामा कलम चलाउनु हुन्छ। उहाँका जीवन मेरो शब्दकोश नामको कवितासङ्ग्रह सँगसँगै जनस्वास्थ्य क्षेत्रका ६ वटा पुस्तकहरू प्रकाशित छन्। गो.द.वा, मोहन रेग्मी स्मृति वाणी पुरस्कार सहित विभिन्न पुरस्कारहरूले पुरस्कृत श्री सुब्बा वाणी प्रकाशन विराटनगर लगायत आधा दर्जनजति संघसंस्थासँग सम्बन्धित हुनुहुन्छ।

सम्पर्कः nrsubba@hotmail.com, वेबसाइटः www.nrsubba.com.np