कला र क्रान्ति

?   कुमुद अधिकारी

आज फेरि प्रद्युम्‍न बत्तिएर मेरा कोठामा आए। मेरो त उही हो चाल ! क्यानभासै क्यानभासहरूले भरिभराउ कोठामा आफ्ना कूचीहरूसहित व्यस्त थिएँ। अझ आज तैल-रङहरू र कूचीहरूका साथ प्रेमालाई अगाडि कुर्सीमा बसाएको थिएँ। आजको उनको फुत्‍किन लागेको मुस्कानलाई मैले क्यानभासमा उतार्नु थियो। काम अन्तिम चरणमा पुग्नै लागेको थियो। उनकै पछाडि भित्तामा लियोनार्दो दा भिन्चीको 'मोनालिसा' पनि थियो। त्यही मोनालिसाले मलाई कैयौँ दिनसम्म अलमल्याएको छ। मोनालिसाका रङ अनि प्रकाश र छायाको संयोजनदेखि लिएर अन्य हरेक पक्षहरूको अध्ययन गर्दा पनि म तिनको मुस्कानको रहस्य भेट्न सदैव अक्षम भएको छु र अझै  पनि हुन्छु। हामी कलाकारहरूका लागि कि मुस्कुराएको मुखाकृति कि त नहाँसेको अनुहारको भाव ल्याउन धेरै सजिलो हुन्छ। भावहरू जति सरल रूपमा व्यक्त हुन्छन् त्यति नै चित्रमा पनि व्यक्त गर्न सकिन्छन्। जटिलभावहरू उतार्न कूचीहरूको चुनावदेखि लिएर रङहरूको समायोजन र क्यानभासको गुणस्तरजस्ता यावत् कुरामा ध्यान पुर्‍याउनुपर्छ। अनि कलाकारकै मनोभावहरूले पनि निकै प्रभाव पार्छन्। यस्तै जटिलताहरूले भरिएका चित्रहरू बनाउन मलाई असाध्यै मन पर्छ र म यस्ता चित्रहरूमा रम्‍‌ने गर्छु। तर यो मोनालिसाको फुत्किन लागेको मुस्कानलाई मैले केही गरे पनि उतार्न सकिरहेको छैन। यो थिम मेरा लागि निकै चुनौतीपूर्ण भएको छ र यसैलाई मैले कलाकारिताको आनन्द ठानेको छु। मेरो विशाल कला-कक्षका कुनामा सयौँ मोनालिसाहरू थन्किएका छन्। मैले त्यही मुस्कानको नक्कल गर्ने चक्करमा सयौँ क्यानभासहरू खर्चेको छु र मोनालिसाको निकै नक्कल गरेको छु। मोनालिसाको जस्तै प्रेमाको मुस्कान मैले यदि उतार्न सकिनँ भने म कलाकार हुँ भन्न पनि लाज लाग्ने अवस्था आउला कि ?

प्रद्युम्‍न कोठामा पसेको देखेर प्रेमा जुरुक्क उठ्‌छिन्- ''ऐया ! मेरो त जउ नै अररियो !'' अहिले मात्र मलाई बोध हुन्छ, मोनालिसाको मुस्कान उनको अनुहारमा उतार्ने चक्करमा मैले उनलाई एक घण्टादेखि कुर्सीमा अरर्‍याएर बसाइराखेको रहेछु। उनी पनि ! मैले जे गरे पनि केही गुनासो छैन। मेरो कला-साधनालाई जहिल्यै साथ दिएकी छिन्। सही अर्थमा मेरी साथी। मेरी सहयात्री, कलामा सधैँ मसँगै डुब्न सक्‍ने। उनी जहिले पनि मेरो कलाकक्षका ढोकाहरू खोल्नेबित्तिकै आफ्नो पचास मिटर पर रहेको घरबाट टुप्‍लुक्क आइपुग्छिन्। तर आज एक घण्टासम्म कुर्सीमा नहल्लिकन मोनालिसाको जस्तो मुस्कान लिएर बसेको बस्यै। मैले मेरा नयनहरूबाटै उनलाई आभार व्यक्त गरेँ। उनले फेरि त्यही रहस्यमय मुस्कान छरिन्। यस कुराले पनि मलाई निकै अचम्ममा पारेको छ, उनले कसरी मोनालिसाको जस्तो मुस्कान ल्याउन सकेकी होलिन्। जे होस् ... उनको मोनालिसाको मुस्कान भनेकै मेरा लागि प्रेमको अभिव्यक्ति थियो।

''म तुलसी-चिया लिएर आउँछु है।'' भन्दै उनी मेरो कलाकोठाबाट बाहिरिँदा प्रद्युम्‍नले टाउको घुमाइरहेका थिए। उनी मेरो कलाकोठामा आएर जहिले पनि त्यसै गर्छन्। लगभग बीचमै उभिएर एक फन्को लगाउँछन्, टाउको लगभग तीस डिग्रीको कोणमा पारेर।

''के हो प्रद्युम्‍न ? खालि भित्तातिर मात्र हेर्छौ त ? मेरो त वास्तै छैन ?''

''दाइले पनि के कुरा गर्‍या होला ? मैले तपाईँको वास्ता नगरे म यहाँ किन बारम्बार आउँथे ? तर तपाईँभन्दा पनि पहिले मलाई यी महान कलाकारहरूप्रति नतमस्तक हुन मन लाग्छ, यिनले विश्वलाई केसम्म दिएनन् र। हैन त दाइ ?''

''पक्कै हो प्रद्युम्‍न ! नत्र यी सबै मेरा कलाकोठामा किन हुन्थे र ? यी सब मेरा लागि प्रेरणाका स्रोत हुन्, कलाकारका हृदयका धड्कनहरू हुन्। यिनीहरूको कलाबाट प्रभावित नहुने मान्छे को होला र ?''

म पनि प्रद्युम्‍नसँगै मेरा प्रेरणाका स्रोतहरूलाई फेरि नियाल्न लागेँ। मेरा कलाकोठाका भित्तामा लगभग छ फुटमाथि लहरै तस्विरहरू छन् - पाब्लो रुइज वाइ पिकासो, माइकेलएन्जेलो ब्युओनारोटी, विन्सेन्ट विलेम भ्यानगग, लियोनार्दो दा भिन्ची, राफाएलो सान्जियो, लुइस ले नाइन, ले लोरेन उर्फ क्लाड गेले, निकोलस पोउसिन, टिटियन..............मकबुल फिदा हुसेन, .......हुँदै अरनिको,  लैनसिह वाङ्‌देल, सत्यजित रे, रवीन्द्रनाथ, अमर चित्रकार, किरण मानन्धर .. .. ........आदि...आदि...।  यीमध्ये कतिपय त मेरा समकालन पनि छन्। उनीहरूको कलाप्रतिको चेतनाले मलाई उनीहरूप्रति नतमस्तक बनाउँछ। समकालन भएर के भयो त मानिसको कलालाई हेर्ने दृष्टिकोणले हो कुनै कलाकार आदरको पात्र बन्ने।

|||

 

 दुईचार दिनअघि प्रद्युम्‍न मेरा कलाकोठामा यसरी नै बत्तिँदै आएका थिए र भनेका थिए - ''दाइ ! म नौलो क्रान्तिको खोजीमा छु। मैले यस्तो क्रान्ति खोजिरहेको छु, जसले हाम्रो देशको कायापलट गरोस्। तर अहिलेसम्मको अध्ययनले केही पनि फेला परेकै छैन।''

''कस्तो क्रान्ति हो भाइ ? मलाई पनि भन न त !"

''मैले भेटेको भए त तपाईँलाई भनिहाल्ने थिएँ नि। म यस्तो कुरा खोज्दै छु, जो अरू कसैले नभेटेको होस्, सर्वथा नौलो होस् र अत्यन्तै सहज होस्।''

''खै मैले त तिम्रो कुरा बुझिनँ। क्रान्ति गर्ने भन्छौ, मैले केही क्रान्तिहरू बाहेक हतियार र बन्दुकले मात्र क्रान्ति गरेको देखेको छु। तिमी त्यसै पनि अहिंसावादी मान्छे, के क्रान्ति गरौला र ?''

''दाइ पनि ! भौतिक क्रियाकलापहरू र हिँसाले भरिभराउ मात्र क्रान्ति हुन्छ र ? वैचारिक परिवर्तनहरू पनि त हुन्छन् मानिसहरूमा। मान्छेका विचारमा आमूल परिवर्तन आयो भने, त्यसलाई क्रान्ति भन्ने कि  नभन्ने ?''

''तर प्रायजसो जुनसुकै क्रान्तिले कुनै न कुनै विचारलाई त पछ्याएकै हुन्छन्। वैचारिक परिवर्तन गराउन मात्र सके त राम्रै हो। तर फेरि विचारहरू लाद्‌ने हो भने कसले स्वीकार गर्ला र ? कि त ओसो, मार्टिन लुथर किङ या विन्स्टन चर्चिलजस्ता प्रभावशाली वक्ता हुनुपर्‍यो र नितान्त नयाँ विचार दिनुपर्‍यो।''

''मैले पनि यसलाई गम्भीर रपमै लिएको छु दाइ। खेलाँची ठानेको छैन। काम अत्यन्त कठिन छ।''

''हुन त हो ! तर वैचारिक क्रान्ति ल्याउनु खेलाँच होइन। माओवादीहरूले बन्दुक बोकेर गरेको जस्तो क्रान्ति त गर्न सकिएला। तर हेर उनीहरूले पनि बन्दुकले विचार परिवर्तन गर्न सकिँदैन भनेर त्यो त्यागिसके। बाटो अत्यन्त कठिन र दुरह छ, हिँड्ने आँट गरिहाल्यौ, लक्षमा पुग्न सकौला भन्ने आस गर्दछु।''

''कोसिस त गर्नैपर्‍यो नि हैन त दाइ ! हिँड्‌दै हिँडेन भने त कतै पुगिँदैन। पुग्नका लागि त हिँड्नैपर्छ, तर यहाँ मूल प्रश्न हो कुन बाटो हिँड्ने ? हिँड्ने दिशा त मैले पैल्याइसकेँ, अब बाटो मात्र पैल्याउन बाँकी छ। दाइका चित्रहरूले केही सोच दिइहाल्छन् कि भनेर यहाँ धाएको धाय्यै गर्छु।''

''यो मेरो अहोभाग्य हो प्रद्युम्‍न। तिमीलाई केही दिन सकेँ भने म आफूलाई भाग्यमानी नै ठान्दछु।''

|||

 

आज प्रद्युम्‍नले मेरा ठूलठूला फाइलहरू खोतलिरहेका छन्। मेरो स्वतन्त्र कलाअध्ययनका क्रममा बनेका फाइलहरू। मेरा अमूल्य निधिहरू। युरोपेली पेन्टिङको एउटा फाइल पल्टाएर प्रद्युम्‍न भन्छन्- ''दा ! यो त गुफापेन्टिङ जस्तो छ नि ?''

''हो त ! यो चित्र इसापूर्व १३००० को हो र लासकाउक्स फ्रान्सको हो। हेर त त्यसमा घोडा, गाई र गोरूहरूको कति सजीव चित्रण छ। तिमीलाई थाहा छ त्यसबेला कसरी त्यो पेन्टिङ बनाएको हो ?''

''छैन त दाइ।''

''त्यसबेला चित्र बनाउँदा मानिसहरूले जनावरको हड्डीमा रङ हालेर र फुकेर बनाउँथे र यो चित्र पनि त्यसरी नै बनाएका हुन्।''

''यो त अद्‌भुत कुरा भयो दाइ ! हड्‌डीबाट फुकेर पनि यति सजीव चित्रण त्यो पनि त्यति पहिले !''

''तिमी फाइल पल्टाउँदै त जाऊ, तिमीले अझै थुप्रैथोक भेट्न बाँकी नै छन्।'' यति भनेर म फेरि केही हप्ताअघिका चित्रहरूलाई सम्हाल्न लागेँ। समयले मलाई कतिबेला हो उछिनिसकेछ, प्रद्युम्‍नले कोठा छाडिसकेछ। मैले फेरि प्रेमालाई बोलाएर सघाउन भनेँ। उनी त्यही मोनालिसाको मुस्कान लिएर मलाई सघाउन आइपुगिन्। केही पछि प्रदर्शनी गर्ने भनेर राखेका ''क्रूरता(क्रुयल्टि)'' थिमका चित्रहरूलाई निकैबेर लाग्यो क्रम मिलाएर राख्‍न।

निकै समय र शक्ति खर्चेर मैले 'क्रूरता' थिमका चित्रहरू बनाएको थिएँ। बितेका पाँच वर्षहरूमा मैले समाचार पत्र पढिनँ। समाचारका लागि मेरो एउटै मात्र साधन रह्यो - रेडियो। समाचार पत्र र पत्रिकाहरू नहेर्नुपछाडि पनि एउटा प्रमुख कारण छ। म चाहन्थेँ ती पत्र-पत्रिकाहरूमा छापिएका फोटाहरूले मेरो कलालाई प्रभावित नपारून्। मलाई समाचार सुनेर नै चित्र बनाउने कौशल हासिल गर्न पनि मन लाग्यो। यी पाँच वर्षहरूमा मैले ''क्रुयल्टि'' थिम राखेर निकै चित्रहरू बनाएको थिएँ।

''दाइ ! तपाईँको फाइलले त मलाई तानेको तानै पार्‍यो। फेरि हेरौँ ?.....'' उही तरिकाले बत्तिँदै प्रद्युम्‍न आइपुगे।

''अहँ, एकछिन तिमी मलाई सघाउ अनि मात्र फाइल हेर्न दिउँला।'' मैले यति भनिसक्ता प्रेमा भान्सातिर हिडिँसकेकी थिइन्। उनलाई राम्ररी थाहा थियो, प्रद्युम्‍न जतिपल्ट आउँछन् त्यति नै पल्ट तुलसीचिया खुवाउनुपर्छ। उनको यो नियमित काम नै थियो।

''दाइ, यो मानिस को हो ? कतै देखेजस्तो पनि लाग्यो, फेरि हेर्छु हैनजस्तो लाग्छ। अनि यसको अनुहारमा यति धेरै त्राश किन नि ?''

''प्रद्युम्‍न ! त्यो ट्रेसिङ जम्मै हटाएर हेर त के देख्छौ !"

"अरे ! यी त माओवादीहरूले मारेका शिक्षक मुक्तिनाथ अधिकारी हैनन् ? घुँडा टेकाएर हात पछाडि लगेर बाँधेर अत्यन्त पाविक तरिकाले मारिएका। तर दाइले त अर्कैरूपले बनाउनुभएछ नि !"

''हो प्रद्युम्‍न ! मैले यिनलाई कहिल्यै देखिनँ र यिनी मारिएको तस्विर पनि कहिल्यै हेरेको छैन। मैले गर्न खोजेको चाहिँ य चित्रमा यिनलाई मार्ने मान्छेको क्रूरतालाई देखाउन खोजेको मात्र हो।''

''दाइ ! यो चित्र हेर्दा मलाई नै भक्कानु फुट्ला जस्तो भैरहेको छ। सिंहको मुखमा पर्न आँटेको मृगको जस्तो त्राश देखा परेको अनुहार छ, क्रूरताको साह्रै सजीव चित्रण छ।"

"यहाँ म अलिकति बिमति राख्छु तिमीसँग प्रद्युम्‍न ! तिमीले गरेको तुलना यहाँ अलिक मिलेन कि? सिंहको मुखमा पर्न आँटेको मृगमा जुन त्राश देखा पर्छ त्यो योभन्दा नितान्त भिन्न छ। तिमीलाई थाहा छ, सिंहको आहारा हो मृग। सिंहको क्रोध उसको भोजन प्राप्तिका लागि मात्र हो अन्यथा सिंह क्रूर हुनै सक्तैन। र मृगको अनुहारमा पनि त्राश होइन स्वाभाविक डरमात्र हो। सिंह र मृग दुवै प्रकृतिका अङ्ग हुन् र एकअर्काका परिपूरक हुन्। तर यो चित्रमा त मैले स्वभावैले विवेकशील भनिने मनुष्यको क्रूरताको पराकाष्टा देखाउन खोजेको । आखिरी यो हिंसा केका लागि? योभन्दा ठूलो बिडम्बना के हो र ?''

''ल चिया खाऔँ !" प्रेमा त्यही मोनालिसीय मुस्कान लिएर आइपुगिन्। हामी चिया पिउन थाल्यौँ। चिया पिउने क्रमसँगै हाम्रो काम पनि अगाडि बढिरह्यो।

क्रूरताको थिममा अरू निकै चित्रहरू थिए। नगरकोट हत्याकाण्डको चित्रमा मैले एउटा सैनिकको सनकबाट उब्‍जेको क्रूरतालाई देखाउन खोजेको थिएँ। त्यस्तै विर्तामोडमा ट्राफिक प्रहरीको हत्या, बेलबारी हत्याकाण्ड, माओवादीहरूलाई सैनिकहिरासतमा यातना दिँदै मारेको.... आदि युद्धकालीनन क्रूरताका पच्चीस चित्रहरू थिए भने, घरेलु हिंसा एवम् अन्धविश्वासका अरू दसवटा चित्रहरू थिए। बोक्सीका नाममा दिसापिसाब खुवाइएका पनि दुईवटा चित्रहरू थिए। सबै चित्रहरू क्रममा राखिसकेपछि प्रद्युम्‍नले मेरो कलाकक्ष छाडेर गए अनि मचाहिँ कूचीहरू धोइपखाली गर्नतिर लागेँ।

|||

 

''प्रद्युम्‍न ! तिम्रो क्रान्तिको खोज कहाँ पुग्यो त ?"

''दाइ ! भर्खर इसापूर्वमा रोममा भएको दासहरूको क्रान्ति पढिसिध्याउँदै छु। अझै पढ्न कति हो कति बाँकी छ। केही कुरो भेटिहालिन्छ कि भनेर दाइका चित्रहरू हेर्न र फाइलहरू पल्टाउन यहाँ आउन मन लागिहाल्छ।"

''स्पार्टाकसले होइन दासहरूको नेतृत्व गरेर रोमन सैनिकहरूलाई पराजित गरेको ?'

''हो दाइ, तर तपाईँजस्तो कलाकार मान्छेलाई यो कुरा कसरी थाहा भयो?"

''मैले पनि कतै केही इतिहास त पढेजस्तो लाग्छ।'' मैले भनेपछि प्रद्युम्‍न लाजले भुतुक्क भए र फेरि मेरो युरोपेली कलाको फाइल पल्टाउन थाले।

"दाइ ! यो गहूँबारी र साइप्रसका रूखहरू कसको कलाकृति हो ?"

"भिन्सेन्ट विलेम भ्यानगगको हो।''

''दाइ ! यो कलाकृतिबारे केही थप.......... ?"

"भ्यानगगले आफ्नो सक्रिय कलासिर्जना कालमा प्रायजसो ल्यान्डस्केपहरू बनाए। तिनै ल्यान्डस्केप मध्येको एक हो गहूँबारी र साइप्रसका रूखहरू। उनले पनि अरू पोस्ट-इम्प्रेसनिस्ट कलाकारहरूझैँ, इम्प्रेसनिस्टहरूले जस्तो प्रकृति सोझै झल्किने चित्रहरू बनाएनन्। उनले आफ्ना चित्रहरूमा रङ र रेखाहरूको विषयगत प्रयोग गरेका छन्। उनका कलाकृतिहरू पछि गएर एक्स्प्रेसनिस्टहरूका लागि प्रेरणाका स्रोत बनेका थिए। गहिरिएर हेर त ! हेर्दा ठ्याक्कै प्राकृतिक, तर पनि केही भिन्न ....।

''साँच्चै रहेछ दाइ ! कलाकारको कलाकृति हतपत्त बुझ्नै नसकिने !''

''अँ तिमीलाई म अर्को कलाकृति देखाऊँ भन्दै थिएँ। सायद तिम्रो नवीन क्रान्तिको खोजमा सहायता पुग्छ कि ?"

''लौ न दाइ, बरू मै चिया पकाएर ल्याउँछु।''

''पर्दैन पर्दैन।'' भन्दै मैले प्रेमालाई तुलसीचिया पकाएर लिइ आउन भनेँ र प्रद्युम्‍नलाई फाइलको पेज नम्बर ५५ पल्टाउन भनेँ।

पेज न ५५ पल्टाएर प्रद्युम्‍न निकैबेर घोरिएर बसे र अन्तमा भने - ''केही त बुझेँ तर दाइले अझ स्पष्ट पारिदिनुहुन्थ्यो कि ?"

''चिन्यौ कसको कलाकृति हो ?"

"अहँ चिनिनँ त ! कलाकृति हेरेरै म कलाकार चिन्ने भैसकेको छैन दाइ।"

''ल ठीक छ। यो कलाकृति 'गेर्निका' शीर्षकको हो र पाब्लो रुइज वाइ पिकासोको हो।''

''दाइ ! यस कलाकृतिले त घोर पीडा झल्काइराखेझैँ छ नि त।''

''तिमीले ठीक भन्यौ। यो कलाकृति पिकासोले स्पेनको गृहयुद्धमा जनरल फ्रान्कोलाई समर्थन गर्दै  २६ एप्रिल १९३७मा जर्मन हवाइजहाजहरूले गेर्निकाको बास्क सहरमा बमबारी गरेपछि बीस दिन लगाएर बनाएका हुन्।''

''त्यसैले यहाँ लडिरहेको योद्धा पनि छ ?"

"हो, यो कलाकृतिले घटना स्वयम् त दर्साउँदैन तर पिकासोले आफ्नो क्रोध र आवेगलाई विम्बै-विम्बबाट पोखेका छन्। साँडे, मृत्युशय्याको घोडा, लडिरहेको योद्धा, मृत बालक र उसकी आमा, जलिरहेको भवनमा अल्झिएकी महिला अनि फेरि कोही दौडदै आएजस्ता विम्बहरूले यस कलाकृतिलाई उत्कृष्ट र अमर बनाएका छन्। गहिरिएर हेर त युद्धको विभीषिका कति धेरै देखिन्छ।

"हो दाइ ! साँच्चै अद्‌भूत !"

''के अद्भूत प्रद्युम्‍नजी ! " भन्दै प्रेमा तुलसीचिया लिएर आइन्। यसो उनको अनुहारमा हेरेँ। फेरि त्यही मोनालिसीय मुस्कान............।

|||

 

''दाइ आज मैले फ्रान्सिसी क्रान्ति, दोस्रो विश्वयुद्ध र रूसको अक्टोबर क्रान्तिको विषयमा पढेर आएँ। फेरि पनि मेरो मनले खोजेको कुरा पाइनँ। दाइकहाँ आएर कलाकृतिहरू हेर्न थाले पछि केही भेटेझैँ हुन्छ, फेरि घर जान्छु र क्रान्तिका किताबहरूमा टाउको खपाउँछु र आफैँ हराउँछु।'' प्रद्युम्‍नले आउनेबित्तिकै सबैकुरा ओकले।

''हो र ?" म हाँस्दै भन्छु। ऊ आउँदा मेरा नयाँ थिम ''अन्तिम सत्य'' अर्थात् ''द अल्टिमेट ट्रुथ'' थिमका चित्रहरूलाई क्रममा राख्‍न थालिसकेको थिएँ।

''आज फेरि अलिकति मलाई सघा है प्रद्युम्‍न ! तिमीलाई रमाइलै लाग्ला, ''द अल्टिमेट ट्रुथ'' का चित्रहरू हेर्न। "

''हुन्छ नि दाइ !"  भन्दै प्रद्युम्‍न मलाई सघाउन थाले।

यस थिममा मैले जोडी चित्रहरू बनाएको थिएँ। ब्रह्माण्डको जन्मको समानान्तर एउटा बालकको जन्म थियो। बिगब्याङ्बाट ब्रह्माण्ड निर्माण भएको एउटा चित्र थियो र त्यसैका छेउमा आमाको कोखबाट जन्म लिँदै गरेको बालकको चित्र थियो। बिगब्याङ्गको प्रकाशको सादृश्य आमाको अनुहारको उज्यालो थियो। मलाई यी चित्रहरू बनाउन झन्डै चार महिना लागेको थियो।

''क्रूरता'' थिमका चित्रहरूको अत्यन्तै सफल प्रदर्शनीपछि म निकै उत्साहित भएको थिएँ र नयाँ थिमहरूको खोजीमा थिएँ। त्यसैबेला स्टिफन हकिङको ''ए ब्रीफ हिस्ट्री अफ टाइम'' पढेपछि मलाई 'बिगब्याङ' र 'बिगक्रन्च'को थिममा चित्रहरू बनाउने विचार आयो र मैले नयाँ थिम रोजेँ 'द अल्टिमेट ट्रुथ'। यसमा ब्रह्माण्डको उत्पत्ति र अन्त्यलाई मानिसको जन्म र मृत्युसँग तुलना गरिएको छ।

''दाजु ! यो पहिलो चित्रलाई केहीबेर हेरौँ है।'' प्रद्युम्‍नले भनेपछि मैले यसो ढोकातिर हेरेँ। प्रेमा त्यही मोनालिसीय मुस्कान लिएर हामीलाई नै हेरिरहेकी थिइन्। उनले कुरो बुझिन् र भान्सातिर लागिन्। उनलाई प्रद्युम्‍नको कुराबाटै तुलसीचियाको कुरा थाहा भैहाल्छ।

त्यसपछि हामी अरू चित्रहरू मिलाउन लाग्यौँ। बिगब्याङ र बच्चाको जन्मको सादृश्यताबाट सुरु भएको शृङ्खला मानिसको मृत्यु र बिगक्रन्चमा गएर टुङ्गिएको थियो। यसमा पन्ध्रवटा कलाकृतिहरू थिए। सबै क्रम मिलाएर राखेपछि प्रद्युम्‍नको अनुहारमा अनौठो उज्यालो देखियो।

प्रेमा तुलसीचिया लिएर आइसकेकी थिइन्। चियाको चुस्कीसँगै प्रद्युम्‍न फेरि मेरो युरोपेली कलासम्बन्धी फाइल पल्टाउन थाल्यो। त्यो देखेर मैले उसलाई पेज नम्बर ६६ पल्टाउन भनेँ।

''दाइ यहाँ त एउटी नग्‍न युवती र एउटी लुगा लगाएकी युवती छन् नि !"

"हो, तिमीलाई थाहा छ, यी दुई युवतीहरूले के विम्बित गरेका छन् ?"

"यिनीहरूको अनुहार र भाव हेर्दा त पक्कै प्रेम नै हो तर कुनले कस्तो भने भन्नचाहिँ सकिनँ दाइ।"

''सोच न त एकछिन। घोरिएर हेर पत्ता लागिहाल्छ कि !"

प्रद्युम्‍नले दस मिनेटसम्म घोरिएर हेरेपछि पनि केही उत्तर नदिएकाले मैले नै उसको समस्या हल गरिदिएँ- "हेर प्रद्युम्‍न ! यो कलाकृति भेनिसका कलाकार टिटियनको प्रसिद्ध कलाकृति 'पवित्र र अपवित्र प्रेम' अर्थात् 'स्याक्रेड एन्ड प्रोफेन लभ हो' । यसमा लुगा लगाएकी महिलाले भौतिक धरातलीय प्रेमको प्रतिनिधित्व गर्छिन् भने नग्‍न युवतीले त्यसभन्दा माथिको विशुद्ध प्रेमको प्रतिनिधित्व गर्छिन्। केही बुझ्यौ ?

"अद्‌भूत ! अद्‌भूत !'' भन्दै प्रद्युम्‍न त्यसरी नै बाहिर बत्तिए जसरी आएका थिए।

|||

 

त्यसको लगभग चार महिनापछि प्रद्युम्‍न मेरो कलाकक्षमा फेरि बत्तिँदै आए। मलाई पनि प्रद्युम्‍न चार महिनासम्म हराउँदा निकै न्यास्रो लागिरहेको थियो। प्रेमा पनि चिन्तित थिइन्।

"के हो प्रद्युम्‍न ! चारचार महिना कता हरायौ ?''

''दाइ त्यही त हो आफ्नू त। क्रान्ति र आन्दोलनका किताबमै टाउको खपाइरहेँ। दाइकहाँ आउन मनलाग्दा लाग्दै केही किताबहरूको खरिदमा बाहिर पनि जानु पर्‍यो। दुई महिना त त्यतै अल्झिएँ। अब खप्‍नै नसकेर दाइकामा आएँ।"

''राम्रै गर्‍यौ। म पनि तिमी नहुँदा अत्तालिइरहेको थिएँ।'' मैले यसो भनिरहँदा प्रेमा भित्र आइसकेकी थिइन्।

''केहो प्रद्युम्‍नजी ! केही खबरै नगरी यतिका बेपत्ता?" उनका अनुहारमा रोष थियो। उनीलाई पनि प्रद्युम्‍न नआउँदा मलाई जत्तिकै चिन्ता हुन्थ्यो।

''माफ पाऊँ है प्रेमाजी !" भनेर प्रद्युम्‍नले भनेपछि उनी मुस्काउँदै भान्सातिर लागिन्। मचाहिँ यिनको यो मोनालिसीय मुस्कान कहिले क्यानभासमा उतारुँला भनि गम्‍न थालेँ।

''केही नयाँ छ दाइ ? नत्र भने पुरानै फाइल पल्टाऊँ कि ?"

"हैन हैन ! एकदम नयाँ छ, तिमीले पक्कै यसलाई मन पराउँछौ र तिम्रो कलासम्बन्धी खोज केही मात्रामा पूरा हुनेछ भन्ने लागेको छ मलाई।''

''के हो त दाइ थिम ?''

''इमान्दारिता, अर्थात् 'अनेस्टि'' भनेर मैले सोझै  उनका आँखामा हेरेँ।

''थिम त नौलै छ, तर मैले तपाईँले बनाएका कलाकृतिहरू अनुमान नै गर्न सकिरहेको छैन।''

''अरे ! त्यसको के चिन्ता र म तिमीलाई देखाइहाल्छु नि, ल हिँड त्यो कुनातिर।'' भन्दै मैले उनलाई डोर्‍याउँदै मेरा 'इमान्दारिता'का चित्रहरू भएतिर लगेँ।

यस शृङ्खलामा मैले मानिसहरूको इमान्दारितालाई परस्पर विरोधी विचारहरू(कन्ट्रास्टिङ आइडियाज)बाट व्यक्त गरेको थिएँ। रङहरू पनि भरसक कन्ट्रास्टिङ नै प्रयोग गरेको थिएँ। यस शृङ्खलाको पहिलो चित्र थियो- दृश्य चित्र जसमा एउटा भव्य महल थियो तर त्यसका वरिपरि फोहोरका नालाहरू थिए। महलमा जाने बाटामा पनि खाल्डैखाल्डाहरू थिए।

''प्रद्युम्‍न ! यही हो मेरो 'अनेस्ट'को पहिलो कलाकृति !"

उनले निकैबेर घोरिएर हेरेपछि भने - ''यो भवनको नामपटमा इन्जिनियर लेखेजस्तो छ। यसले दुईवटा अर्थ लाग्‍न सक्छन्- कि त यो घर नै इन्जिनियरको हो वा उसले बनाएको हो। फेरि वरिपरि यस्तो फोहोर ! दाइ केही प्रष्ट पारिदिनुहोस् न !"

''ल सुन। हो, यो महल इन्जिनियर कै हो। तर आफ्ना वरिपरिका बाटाघाटा र पुलहरू बनाउँने र महल निर्माण गर्ने ऊ आफैँ हो। हेर त ! महल त्यति भव्य हुँदाहुँदै पनि यो चित्रको कुरपता। सुन्दर तर कुरप।"

मैले पुलुक्क प्रद्युम्‍नको अनुहारमा हेरेँ। उनको अनुहारमा अनौठो आभा देखियो। त्यसपछि मैले प्रद्युम्‍नलाई इमान्दारिता थिमको अर्को कलाकृति देखाएँ। यो पनि दृश्य चित्र नै थियो - एउटा ठूलो विलासिताका सामानहरूले भरिभराउ बैठक कोठामा एकजना फाटेर टालेको लुगा लगाएको मानिस टेलिभिजन हेरिरहेको।

''दाइ यो कस्तो विरोधाभास, त्यस्तो कोठामा फाटेको लुगा लगाएको मानिस ?"

"हो प्रद्युम्‍न। यस चित्रका बारेमा म दुईकुरा मात्र म भन्छु। त्यो मानिसको अनुहारको ओज र लुगा उसका विचारहरू हुन् र बाहिरका सामानहरू उसको वर्तमान जसलाई हामी देख्छौँ। त्यो मानिस को हो चिन्ने जिम्मा तिम्रो..........."

मैले बुझ्न सकिनँ मेरा 'इमान्दारिता' थिमका दुई चित्रहरूलाई उनले कसरी बुझेका थिए। विचारको विरोधाभास आफैँमा विवादास्पद हुन सक्छ। आखिर मा