|
पोस्टमास्टर ? रवीन्द्रनाथ ठाकुर
जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए । हाम्रा पोस्टमास्टर कोलकाताका ठिटा थिए । पानीको माछालाई डाँडामा फ्याँकिदिँदा जस्तो हालत हुन्छ, यो घना बस्तीमा आउँदा पोस्टमास्टरलाई पनि त्यस्तै भएको थियो । एउटा अँध्यारो कटेरामा उनको अफिस थियो, छेवैमा जलकुम्भीले भरिएको पोखरी थियो र पोखरीको वरिपरि जङ्गल थियो । कोठीका कर-असुल्ने जति कर्मचारीहरू थिए उनीहरूको एक त फुर्सत पनि हुँदैनथ्यो र उनीहरूको यी भलाद्मीसँगको मेलमिलाप पनि उपयुक्त थिएन । त्यैमाथि कोलकाताका केटाहरू राम्ररी घुलमिल हुन जान्दैनन् । नौलो ठाउँमा गए भने कि त रुखा हुन्छन्, नभए अलमलिइरहन्छन् । त्यसैले स्थानीय मानिसहरूको कोलकत्तेसँग हत्तपत्त मेलमिलाप नै हुँदैन । त्यसैले पोस्टमास्टरको पनि खासै काम छैन । कहिलेकाहीँ एकदुईवटा कविता लेख्ने प्रयास गर्छन् । कवितामा यस्ता भाव व्यक्त गर्छन् - दिनभरि रुखका पालुवाका कम्पनहरू र बादल हेरेर जीवन सुखसँग बिताउन सकिन्छ - तर प्रभुलाई थाहा छ, यदि अरबी उपन्यासको कुनै दैत्य आएर एक रातमै सबै रूखहरू काटेर त्यहाँ पक्की बाटो बनाइदियो र लहरका लहर अट्टालिकाहरूले आकाशका बादलहरूलाई दृष्टिपथबाट छेकिदियो भने मात्रै यी अधमरा भद्र मान्छेले पुनः नवजीवन प्राप्त गर्ने थिए । पोस्टमास्टरको वेतन अति सामान्य थियो । आफैँ पकाएर खानुपर्ने बाध्यता र गाउँकी एउटी पितामाताविहीन अनाथ बालिकाले उनको काम सघाएवापत साँझबिहान अलिकति खान पाउँथिन् । बालिकाको नाम थियो 'रतन' र उमेर त्यस्तै बाह्र-तेह्र को । विवाहको खासै सम्भावना थिएन। जब साँझमा गाउँका गाईगोठहरूबाट धुवाँ लठारिँदै उँभो उड्थ्यो, झाडीझाडीमा फट्याङ्ग्राहरू कराउन थाल्थे । गाउँमा टाढाबाट नशाखोर बहुलाहरूको दल खैँजडी बजाउँदै उच्च स्वरमा गाउँदै हिँड्न थाल्थे । जब अँध्यारो सिकुवामा बसेर वृक्षका पातहरूको तरङ्ग देख्दा कविहृदयमा अलिअलि कम्पन पैदा हुन्थ्यो तब कोठाका कुनामा पातलो बाती भएको दियो सल्काएर पोस्टमास्टर बोलाउँथे - 'रतन' ! रतन यही बोलावटको प्रतीक्षामा ढोका छेउमा हुन्थी तर एउटै बोलावटमा जान्नथी, भन्थी- 'के भयो बाबू, किन बोलाएको ?' पोस्टमास्टर- 'तँ के गर्दै छेस् ?' रतन - 'अब चुलो सल्काउन जानु छ भान्सामा।' पोस्टमास्टर- 'तेरो भान्साको काम भरे गर्नू, एकपल्ट मलाई तमाखु मिलाइदे त ।' तुरुन्तै गाला फुलाउँदै हुक्काको बटुकी फुक्दै रतन प्रवेश गर्थी कोठामा । रतनका हातबाट बटुकी लिएर सोधिहाल्थे पोस्टमास्टर- 'भन् त रतन ! आमा सम्झन्छेस् ?' यस्ता कुराहरू त धेरै छन् । कतिपय सम्झनामा छन् कतिपय छैनन् रतनलाई । उसलाई आमाले भन्दा धेरै बाबुले माया गर्थे । बाबुलाई अलिअलि सम्झन्छे । दिनभरि परिश्रम गरेर बाबु बेलुका घर फर्किन्थे । तिनै बेलुकीहरूमध्येबाट एकदुईवटा बेलुकीहरू रतनका मानसपटमा स्पष्ट चित्रजस्तै अङ्कित छन् । यस्ता कुराहरू गर्दागर्दै रतन पोस्टमास्टरका गोडानजिकै भुइँमा बस्थी । फेरि ऊ विगत सम्झन्थी- उसको एउटा भाइ थियो । धेरै पहिले वर्षको एक दिन थियो । भाँच्चिएको रूखको हाँगालाई माछा मार्ने डन्डी बनाएर ख्यालख्यालमा माछा मार्ने खेल खेलेका थिए, एउटा पोखरीका किनारमा । अरू महत्त्वपूर्ण घटनाहरूभन्दा पनि बढी उसलाई यही घटना याद आउँथ्यो । यस्तै खालका कुरामा कोही बेला धेरै राती हुन्थ्यो र अल्छी लागेर पोस्टमास्टरलाई खाना बनाउन जाँगर चल्दैनथ्यो । बिहानको केही खानेकुरा बासी रहन्थ्यो र त्यसमाथि रतनले फटाफट आगो सल्काएर एकैछिनमा दुईचारवटा रोटी सेकेर ल्याउँथी, त्यतिमै बेलुकाको खाना टर्थ्यो । प्रत्येक दिन बेलुका त्यो ठूलो कटेराको कुनामा अफिसको काठको कुर्सी बसेर पोस्टमास्टर पनि आफ्ना भाइ, आमा र दिदीको कुरा सोच्दथे । प्रवासमा एक्लै बसेर जसका लागि हृदय व्यथित हुन्छ तिनीहरूलाई सम्झन्थे । यी सब कुरा त सधैँ मनमा आइरहन्छन् तर कुनै हालतमा पनि नीलो कोठीका कर्मचारीलाई त भन्ने कुरा भएन । त्यसैले एउटी सानी अशिक्षिता बालिकालाई सुनाउँदै जान्थे र उसलाई सुनाउँदा केही नराम्रो वा अस्वाभाविक लाग्दैनथ्यो । अन्त्यमा त यस्तो पनि भयो कि आफ्ना घरका मान्छेलाई पनि बालिकाले दाजु वा दिदी भनेर चिरपरिचितजस्तै उल्लेख गर्न थाली । यतिमात्र हो र ! बालिकाले आफ्नो सानो हृदयमा उनीहरूको काल्पनिक रूपरेखा पनि खिचिसकेकी थिई । एक दिन वर्षाकालको आकाश बादलविहीन थियो । न्यानो सुकोमल बतास चलिरहेको थियो । सूर्यका किरणले भिजेका घाँस र पातहरूबाट एकप्रकारको मीठो सुगन्ध उठिरहेको थियो । मनमा लाग्थ्यो- मानौँ क्लान्त धरणीको उष्ण निःश्वास आएर जीउमा स्पर्श गर्दै छ एवम् कहीँकतैको हठी पक्षी उसको एउटा एकलकाँटे, अत्यन्त करुण स्वरमा दिनभरि प्रकृतिको दरबारमा नालिस गर्दै छ । पोस्टमास्टरको केही काम थिएन र त्यस दिनको वर्षाले पखालिएका सपाट र चिल्ला पालुवाहरूको तरङ्ग अनि पराजित वर्षाको भग्नावशेषका रूपमा सूर्यका किरणहरूले उज्यालिएका बादलका तहहरू वास्तवमै हेर्न लायकका थिए । पोस्टमास्टर यी सबै |