|
वृक्षसँग ? जीवनाथ उपाध्याय अधिकारी कोदाको सानु दानासरि अति मसिनू बीजमा खुम्चिएर बस्ता क्यै कष्ट भो वा खुसीसित लिइयो त्यो समाधिस्थ रूप। हावापानी र न्यानूपनसँग जननी भूमिको स्निग्ध काख- मिल्दा टुट्यो समाधि क्रमसित उभिने गर्न थाल्यौ प्रयास ।।
भोग्यौ दुःसह्य आपद्-विपदहरू त्यसै बालपनभित्र वृक्ष- के मानिस के जनावर सब मिली तिमीमा गर्दथे दुस्प्रहार। कोमल त्यो तन बचाई जिउन अति विषम कष्ट काटेर आज आयो कल्याणकारी रूप लिई दुनियाँमाझ हे वृक्षराज।।
हितकारक यस जगत्मा तिमीसरि अरू क्वै छैन त्रैलोक्यमाझ गर्छौ निःस्वार्थ सेवा चर अचर सबै जीवको एकनास। तिम्रा शीतल छहारीमनि बसी दुनियाँ ग्रीष्मको ताप छल्छ तिम्रै हाँगाबिँगामा विहगगण रची नीड संसार हेर्छ।।
तिम्रा फलमा चराका हूल अनि मनुवा झुम्मिई पेट भर्छन् गाई, भैँसी बाख्रासरि पशुहरूले पातले पेट भर्छन्। यसबाहेक वायुमण्डलभरि जति छ धुँवाजातको दुष्ट तत्त्व- त्यसलाई शुद्ध पारी तिमी गरिदिँदछौ प्राणदाता स्वरूप।।
मानिसमा तुच्छ स्वार्थीपन बढी अहिले गर्छ तिम्रो विनाश चाँडै भोग्नेछ उस्ले परिणति त्यसको स्वास्थ्यमा आइ ह्रास। तिम्रो काया ढलेरै पनि अरुहरूको गर्छ कल्याण वृक्ष बन्छन् त्यसबाट राम्रा घर-महल, बुटादार कुर्सी-दराज।।
पृथ्वीको वायुमण्डल चर-अचर सबैनिम्ति हितकर बनाई- राख्नेमा वृक्ष तिम्रो अतिशय दरिलो भूमिका चाल पाई। लोकले गर्दै छ हल्ला गर अब सबले वृक्षरोपण भनेर बिस्तारै हुन्छ होला अब तिमीहरूको वंशविस्तार वृक्ष।। ³³³ |
|
|
व्यास पूर्णिमा, संवत् १९८० मा माघेगाउँ, इलाममा जन्मनुभएका श्री जीवनाथ उपाध्याय अधिकारी अवकाशप्राप्त शिक्षक हुनुहुन्छ। उहाँले संस्कृतमा साहित्याचार्य, नेपालीमा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ। उहाँले मेघदूत, सरलगीता, रघुवंश, गीतगोविन्दजस्ता ग्रन्थहरू संस्कृतबाट अनुवाद गर्नुभएको छ। श्री अधिकारीका अरू दुईवटा कृतिहरू प्रकाशोन्मुख छन्। |