|
एक दिनको सामान्यता ? इन्द्रबहादुर राई
"मूलाको बीउ तिमीले पातलो छरेछौ, माया," मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले। "अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।" कान्लामा उम्रेका खरुकीलाई दोबारेर म त्यहीमाथि बसेको थिएँ। सिमीको बीउ ऐले मैले रोपिसकेर खाली भएको झोला ओछ्याई ऊ बसेकी थिइन्। थकाइ मार्दै थियौँ।लगत्तै तल्तिरको लामो-लामो दुई गह्रामा मूला ठाउँ-ठावैँ उम्रेको थियो, नयाँ खनेको माटोमा दुई-पात तीन-पात भैसकेको थियो। "झरीले बगायो अलिक बीउ, तर हाम्रो कुखुरैले राख्दिँदैन।" भनिन् मायाले– "त्यो नौवटाको माउ यतै मात्रै झर्छ।" "अँ, त्यो झर्छ........" "एकछिन हेरेन भने पाखै खोस्रिसक्छ।" "आज दिन कति गरम हकि ? मकै सुक्ने घाम।" "बीउको दाम उठ्छ।" मायाले मूलाकै कुरा गर्दै थिइन्। "के भनेँ मैले ऐले तिमीलाई ?" क्रोधको अनुकरण गरेँ मैले। "के भन्यौ र, घाम लाग्यो भन्यौ, मकै सुक्छ भन्यौ।" माया कमजोरीसँग हासिन्। "अब एक हप्ता घाम लागिदेओस् यसरी", भनेँ मैले- "हाम्रो मकैहरू सबै सब सुक्छ, काँक्राको चिचिलाहरू ठूलो हुन्छ, हाँगाभरि झुन्डेको रूख-रामबेडाहरूमा रङ चढ्छ।" "मेरो ओथ्रा बसेको दुवै पोथीले चल्ला निकाल्छ, म आलु खनाइसक्छु, तिमीले आज रोपेको सिमीहरू उम्रिसक्छ।" उसले पनि थपिन्। "दशैँ आउनु डेढ महिनामात्रै रहन्छ, नानीहरूलाई लुगा किन्दिइसक्नुपर्छ, म मेरो तलब पाइसक्छु, हजुरलाई कान्जिबेरम ल्याइदिइसकेको हुन्छु।" माया हाँसिन्। "उः पर बिरुवाहरू रोपिसकेछ।" पल्लो बारीको डाँडामा सनवीरको बाबु बिसाएर कटुवा बेर्दै थियो। बिरुवा रोपिसकेछ होला। "आफ्नै सानो जङ्गल हुनुपर्छ प्रत्येक मानिसको। आफ्नो गाईलाई त्यहाँ घाँस काटौँला, आफ्नो घरलाई त्यहाँबाट दाउरा ओसारौँला भनेर होइऩ। गाउँघरकोहरूले मागिहाल्छ, दिनुपर्छ, चोरिहाल्छ, कराइटोपल्नुपर्छ भनेर। सांसारिकता। त्यहाँ साँपको मकैहरू उम्रिन्छ, हाम्रो केट्केटीहरू हेरेर डरावस्, असिलो फल्छ काँडैभरि, चारैतिरकोहरू जम्मा होस्।" "दुई दिन भयो यसरी घाम लागेको।" मायाले भनिन्। साँच्चै राम्रो घाम लागेको थियो, चारैतिर न्यानो बनाएर, एकै गब्रा तल झरे हपहप्ती अझै बढिहाल्ने। हावा आज खोल्सैखोल्सा उकालो बग्थ्यो न कसो, अम्लिसो, अँलैछी र मानेका पातहरू हल्लिरहेका थिए। यता हावा छेलेर उभिएको मकैको बोट प्रत्येकले दुई-दुई घोगा बोकेको छ। "मकै यो साल राम्रो भयो हाम्रो।" मैले भनेँ – "मुसाले र कागले पनि आएर खाँदै रैछ।" मेरो आँखा बारीमा तलतलसम्म पुग्यो। "गृहस्थी धर्म सबभन्दा राम्रो अरे, हामीलाई बोजूले भन्थ्यो। साधुसंन्यासी भएर गएर पनि त्यसले मागेर खानुपर्छ अरे, गृहस्थीले मत्तै मान्छेदेखि लिएर देवता, चरामुसासम्मलाई खुवाउँछ।" धर्मको यो टुक्राले मलाई ध्यानमग्न पारेछ। "होला।" मैले भनेँ- "तर त्यस्तो गृहस्थी धर्म पालन गर्नुलाई चोरदेखि बचाउनुपर्छ। ढुङ्गाले हान्नुपर्छ चोर्नेलाई।" "पारि साहिँला दाज्यू बिचरा दिनभरि मकै रुङ्दै छ। आइतवार पनि रुङिबस्छ।" मायाले बताइन्- "एकैछिन बाँदर छिर्नु पायो भने सखाप पार्छ मकै।" मायाले पारि साहिँला नेवारको बारी देख्नलाई हेरी। हाम्रै बारीको भित्ताले छेल्थ्यो। "उसको मुखैमा पर्छ। उसको सकेर मत्तै बाँदर हाम्रोमा आउँछ।" मलाई ढुक्क थियो। "सनवीरको बाबुले बिरुवा साँच्चै रोपिसकेछ। हाम्रो केटाकेटी पनि पुगेछ।" मायाले देखिछन्। हरियो र सेतोहरू फलाकफिलिक मैले पनि देखेँ। "त्यसले चाहिँ कमिजै नलगाई पुगेछ।" "बिरुवा त रोप्यो तर चाँपको बिरुवा ल्याइदिएछौ ज्यादा।" मायाले भनिन्। "नफुल्ने चाँप पनि छ, त्यसको हुन्छ घाँस।" मैले भनेँ।" तुसारेहरू थुप्रै यै बेला कलम काट्दै सार्नुपर्ने। सर्छ होइन ?" "तुसारे के गर्नु सारेर? हिँउदोलाई घाँसै हुँदैन त्यो, सब पात अग्घि नै झरिहाल्छ। बर्खामा हरियो हुन्छ तर भुइँघाँसै थुप्रै पाउँछ। घाँसको लागि गगुनै राम्रो।" "गगून राम्रो।" "गगुन शोभा पनि हुन्छ बारीको।" हाम्रै मास्तिर एक रूख गगुन उभेर कुरा सुनिरहेको रहेछ। आकाशको उज्यालो निलो देख्नै नदिने बाक्लो थियो त्यो। "सुन्दरता यो गगुनको खास केमा छ, भन त मलाई" मैले पनि हेर्दै सोधेँ। "पात अचम्मै बाक्लो छ, त्यै होइन यसको राम्रो?" मैले नै सोधेँ। "डन्ठीदेखिको रातो रेखा पातको मुनिमुनि उकालो गएको छ, हेर न, सप्पै पातको। त्यै मन पर्छ मलाई यसको।" कति क्षण बितेर गयो। "उः यता हेर", मैले सिक्किमपाखातिर देखाएँ – त्यै चुचुराको उता देन्जोङ पर्छ। बादलहरू, हेर न, घुमेको त्यहाँ, कति राम्रो।" आफ्नो रुग्णता ममा अढेसाएर त्यतै मायाले पनि हेरिन्। "त्यसलाई कथामा लेखे कसरी लेख्छु होला, भन त।" "कुन्नि त।" "पर्वतले काखमा बादलका बच्चाहरू थुपारेका........। भएन हकि?" "अहँ, भएन त्यस्तो।" हाँसिन् माया। "बादल(घाउटे इच्छा) ढुङ्गाभित्र पसेर ढुङ्गाभित्रै लुकिबस्न चाहन्छ......।" "डेलीको पेन्टिङ ?" सोधिन् उनले। "अस्ति हेरेको ?" मैले उद्योग छाडिदिएँ। टाढा-टाढा अरूका बारीहरू पनि हेर्यौँ। पानीका लहरझैँ काटिएका गह्राहरू, माटो र घाँसका गह्राहरू। "बाँसको झ्याङ हाम्रो कतिवटा छ?" सोधेँ मैले कताबाट। "बीसवटा छ।" "अट्ठाइस झ्याङ परेङ छ। त्यो मसिनो फिरफिरे पात भएको पोहोर ल्याएकोसँग उन्तीस।" "त्यो सर्यो र?" "किन सरेन?" "मलाई फूलबारीको त्यो बाँस मन परेको थियो, चार पाटा परेको, एक घर पहेँलो, एक घर हरियो भएको, मलाई त्यो मन परेको थियो।" "तलाउको छेउको ?" माया हाँसिन्। "त्यस्तो म ल्याइदिन्छु तिमीलीई।" "पह्रारै देखाएकी मैले।" मनमा आशा राखेर उसले निराशा देखाई। "नेभारा चैँ नरोप्नु रैछ। अलिकति ठूलो हावा हरर आयो कि ठङ्ग-ठङ्ग हाँगा र धडै भाँचिन्छ। गैह्राको दुई रूखमात्रै राम्रो छ।" "हिजोदेखि रेणुकाको आमा पनि छैन।" मैले नै फेरि भनेँछुः "लास उठाउने बेलामा घरको छोराछोरीहरू के कहालिएर नमीठो रुन्छ, म त्यै बेलाको रुवाइसँग साह्रै भय लाग्छ।" म घोरिएर रोकिएँ। "रुन्छ त छोराछोरीहरू।" मायाले भनिन्। "त्यस दिन छोराछोरीहरू साह्रै गरी रून्छ, लोग्ने चुपचाप जस्तै सबै सहन्छ। तर नानीहरूले भोलिदेखि भुल्दै गरएर दिनदिनै अलिअलि धेर गर्दै हाँस्न थाल्छ, पछि रुनै बिर्सिन्छ।, कारण जीवन समग्र प्रतीक्षा र रहरको कुम्लो बोकेर अघिल्तिर आई उनीहरूलाई पर्खिरहेको हुन्छ। तर त्यो हिजो नरुने लोग्नेलाई राती आज अर्काले भात पस्किदिँदा स्वास्नीको याद आउँछ, सुत्न तरखर गर्दा याद आउँछ, बिहान उठेर एकछिनमा त्यो छैन भनेर याद आउँछ, काम गर्दागर्दै बाहिर याद आउँछ, घरभित्र बसेपछि याद हुन्छ। आफू नमरुन्जेल ऊ यसरी झस्किरहन्छ।" "जीवनको बाध्यताले मात्र अब ऊ बाँच्दछ।" मैले नै भनेँ। पारि कमानतिर घाम फिँजिएको थियो, हरियोहरू सब उज्यालो भएको घाम। ससानो बाटो र गोरेटोको रेखाहरू घरहरूको झुरुप्पदेखि तलतिर झरेका थिए, किरिङमिरिङ कोरिएर एउटा रेखा ठूलो गोलाइ मारेर आठ-दस रूखहरूको पोथ्रामा पस्थ्यो- गाउँको धारा होला त्यहाँ। अर्को एउटा बाटो गाउँदेखि आफैँ उकालो लागेर माथिको जङ्गलमा जान्थ्यो, दाउरा लिन। तीन ठाउँ कमानलाई ठाउँ-ठावैँ ठाडो चिर्दै बर्खाको सेतो खोलाहरू झरेको छ। खोलाका सेता टुक्राहरू ओह्रालै खस्दै-खस्दै आएका छन्, मुनि ठूलो खोलाको आवाज डाँडाहरूको फेद थर्काएर बज्छ। यो एक ठाउँ वनभित्र छाँगोभित्र छाँगो भएर खस्छ यहाँ, वर्षैपछि बर्खामा म यहाँ यसलाई खोज्छु। "उः त्यहाँ पानी खसेको पनि देख्छ, हेरिबस्दा।" उनले पनि त्यहीँ देखाइन्। निद्रित क्षणजस्तो पर्खिरहँदा पानी चल्मलाएर खस्दथ्यो बिस्तारै। हर्ष उकालो आउँथ्यो। नजिकमा आएर अब मैले भनेँ-"यो वर्ष बारीमा भटमास राम्रो छ हाम्रो, मकै सबैको भन्दा सर्वश्रेष्ठ, सयपत्री छैन, आलु हाम्रो सब हौसियो।" "तिमी ठूलो मान्छे, म बिमारी।" भनिन् मायाले। पसिना आएर अलिअलि आज रातो चढेको उसको अनुहारमा हेरेँ उनी जीवनलाई गम्भीर मानेर थाकी अब जिस्किरहेकी थिइन्- "म यो एक डाँख्ला ठोट्ने, एक मुठी चरिअमिलोले जोरो बोलाएर.....दैलोमा निस्केर आधा मिनट भिजेर मर्नसक्छु।" "चामेकी स्वास्नी गौँथली साह्रै मुखाले थिई। सीधा मुखले कुरा गर्यो भने पनि बाङ्गा-बाङ्गा कुरा झिकेर निहुँ खोज्थी......।" मैले दोहोर्याइदिएँ। माया हाँसिन्। मेरो अभियोग बढ्ता थियो र त्यै बढ्ता जतिको सामना गर्न नसकेर हाँसिन्। दुर्बलता। माया लाग्यो। कुइरोको ठूलो जालो ठाउँ-ठाउँ फाटेको हेर्दाहेर्दै ठाडो उडेर आएर चलिरहेकै टाँगियो। "चिसोमा नबस धेरै, जाऔँ।" मैले भनेँ। "गरम भयो मलाई त।" भनिन् उनले। म पहिला उठेँ अनि मेरो पाखुरा तानेर ऊ पछि उठिन्। "तिम्रो एसिडेन्थिरा भन्ने उः त्यहाँ पनि फुलेछ।" मन्तिरको डिलमा लामो हरियोको वक्रमा सेतो फुलेको चारपत्रा लच्कँदै हल्लँदै थियो, हावाभित्र तीखो वासनाको सुर्को उडेर आउँथ्यो। "राम्रो-राम्रो धुपीहरू सारेकोछु मैले।" मैले बारीभरि हेर्दै भनेँ- "त्यहाँ पर नस्पातीको बोट ठूलो भएको छ, उः त्यो मेल आघौँ सालदेखि फल्छ, ठूला खालको किम्बु उः त्यो कसैलाई काट्न नदिनू।" हामी बिस्तारी ड्याङै-ड्याङ फर्किन लागिसकेका थियौँ। उँधो निहुरेका अम्लिसोका पातहरू पन्साउँदै, आफूभन्दा अग्ला मकैका बोटका घारीभित्र हराउँदै आउन थाल्यौँ। "पर्ख है, म मकै लान्छु।" रोकिएर यहाँ मायाले मकै हेर्न थालिन्, सुकेको जुँगाहरू हेर्न थालिन्। मैले पनि लम्केर दुइटा पुड्का भाँचिदिएँ। अलि माथि आइपुग्दा मैले भनेँ- "बरदान लेऊ। सधैँ मलाई खुसी पार्न चाहन्छ्यौ भने यसको अचार दिनू।" जीउभरि र पातभरि रातो काँडा खिलेर कलकलाउँदो टिम्मुर उभिबसेको थियो। "यसलाई बढ्न दिनू।" "तिम्रो मनमत्रै......" "आज तिहुन के छ ?" सोधेँ मैले। "कोपी, ऐले देशपदलाई पठाउँछु, काटेर ल्याउँछ।" "कुख्रा नखानु?" "कुन चैँ?" "पाङ्रे भाले, कौडे।" "काट।" अघिअघि सालमा मकै बोकेर हिँडिरहेकी उनलाई मैले अनि फर्काएर भनेँ- "हामी दुई शाहजादा-शाहजादी, प्रजा जनसाधारणको हालत र दुःख र सुख कस्तो छ त्यो बुझ्नु, महसुस गर्नु, हामी दुई आएका थियौँ। गुप्तभेषमा बसेर बाह्र वर्ष सबै बुझ्यौँ। अब ज्यादा यो बर्दास्त गर्न सकिन्न। फर्कौँ आफ्नै राजमहलतिर।" हाँसिन् माया बिस्तारी। "भन्ने थिएँ।" उनले भनिन्। - "तर भन्दिनँ, होस्।" ³ आँगनमा आइपुग्दा मास्तिरको मधु, अल्पना सब आएर आँगनमा कोठे रिङपाट खेल्दै रहेछन्। सानी छोरीको ताली खोसेर मैले कोठा मार्दै गएँ। "आमा राइट ................?" आँखा चिम्म गरेको छु, चकमन्न छ, भन्दिनेलाई पर्खिरहेको छु। ³³³ |