|
नुन-सिपाही ? मुन्सी प्रेमचन्द जब ईश्वरप्रदत्त वस्तु नुनको नयाँ विभाग बन्यो र त्यसको उपयोगमा नियन्त्रण भयो, मानिसहरूले लुकी-छिपी त्यसको व्यापार गर्न थाले। हरेक प्रकारका छल-प्रपञ्चहरूको सूत्रपात भयो, कसैले घूस दिएर काम चलाउँथे भने कसैले अलिकति चलाखी देखाएर। अधिकारीहरू मालामाल भए। पटवारीको जस्तो सम्मानित पद छाडेर मानिसहरू नुनविभागतिर दलाली गर्न थाले। दरोगा अर्थात् विभागीय प्रहरी-प्रमुख पदका लागि त वकिलहरू पनि लोभिएका थिए। यो त्यस्तो बेला थियो जतिबेला अङ्ग्रेजी शिक्षा र इसाई मतलाई मानिसहरू एउटै कुरा सम्झन्थे। फारसी भाषाको बाहुल्य थियो। प्रेमकथा र फारसी काव्य पढेर फारसीका ज्ञाता भई मानिसहरू सर्वोच्च पदमा नियुक्त हुन्थे। मुन्सी वंशीधर पनि जुलेखाको विरहकथा समाप्त गरेर अनि मजनू र फरहादको प्रेमलाई नल र नीलको लडाइँ एवम् अमेरिकाको आविष्कारभन्दा धेरै महत्त्वको मानेर जागिरको खोजीमा निस्कनुभयो। उहाँका पिता अनुभवले खारिएका व्यक्ति हुनुहुन्थ्यो, सम्झाउन थाल्नुभयो- "छोरा, घरको दुर्दशा देखेका छौ। ऋणले पुरिएका छौँ। छोरीहरू बन्सोझैँ हुर्किरहेका छन्। म त पहिराको रूखझैँ भएको छु, कतिबेला ढल्ने हुँ, थाहा छैन। अब तिमी नै घरका मुखिया मालिक हौ। जागिरको पदमा ध्यान नदेऊ। यो त देवात्माहरूको वासस्थान हो। दृष्टि त चढाइने वस्तु र कपडाहरूमा राख्नुपर्छ। यस्तो जागिर खोज जहाँ केही दायाँ-बायाँको आम्दानी होस्। मासिक वेतन त पूर्णिमाको चन्द्रमाझैँ हो जुन घटेको घट्यै लुप्त हुन्छ। दायाँ-बायाँको कमाइमात्रै बहँदो स्रोत हो जसले तिर्खा मेट्नसक्छ। वेतन मान्छेले दिन्छ त्यसैले त्यसमा वृद्धि हुँदैन तर दायाँ-बायाँको कमाइ ईश्वरको वरदान हो, त्यो उनैले दिन्छन्। म के सम्झाऊँ तिमीलाई, आफैँ बुज्झकी छौ। यस्ता कुरामा विवेकको निकै आवश्यकता पर्छ। मान्छे हेर, उसको आवश्यकतालाई हेर, अवसर हेर अनि जे उचित लाग्छ गर। अभाव र आवश्यकताले पिल्सिएको मान्छेसँग कठोर हुँदा लाभैलाभ हुन्छ। तर अभाव नभएकालाई कज्याउन निकै गाह्रो पर्छ। यिनै कुरा मनमा राख। यही नै हो मेरो जन्मभरिको कमाइ। यति उपदेश दिएर पिताले आशीर्वाद दिनुभयो। वंशीधर आज्ञाकारी पुत्र हुनुहुन्थ्यो। सबैकुराहरू ध्यानले सुनेर घरबाट निस्कनुभयो। यस विस्तृत र विशाल संसारमा उहाँका लागि धैर्य आफ्नो मित्र थियो, बुद्धि पथप्रदर्शक र आत्मानुशासन आफ्ना सहायक थिए। उहाँ सायद राम्रो साइतमा हिँड्नुभएको थियो त्यसैले जानेबित्तिकै नुनविभागको प्रमुख सिपाही पदमा नियुक्त हुनुभयो। वेतन राम्रो थियो र दायाँबायाँको आम्दानीको त हिसाबै थिएन। वृद्ध मुन्सी सुखद समाचार सुन्नेबित्तिकै खुसीले फुरुक्क पर्नुभयो। महाजनहरू केही नरम भए। पाउनेहरूको आशाको लहर उठ्यो र छिमेकीका हृदयमा शूलहरू उठ्न थाले। « हिउँदका दिन थिए। नुनका सिपाही, चौकीदारहरू नशामा मस्त थिए। मुन्सी वंशीधरले कार्यभार सम्हालेको छ महिनाभन्दा बढी भएको थिएन। थोरै समयमा नै आफ्नो उत्तम व्यवहार र कार्यकुशलाताले उहाँले अफिसरलाई मोहित पार्नुभयो। अफिसरहरूले उहाँलाई विश्वास गर्न थाले। नुन कार्यालयबाट एक माइल पूर्वपट्टि जमुना नदी बग्थिन् र त्यसमाथि नाउहरूको एउटा पुल बनेको थियो। सिपाही प्रमुखज्यू झ्याल बन्द गरेर राम्ररी निदाउनुभएको थियो। अचानक गोरुगाडीहरूको गडगडाहट र माझीहरूको हल्लाले उहाँ बिउँझिनुभयो र उठ्नुभयो। यति राति गाडीहरू किन नदी पारी जान्छन् ? अवश्य कतै गोलमाल हुनुपर्छ। तर्कले भ्रमको पुष्टि गर्यो। पोसाक लगाउनुभयो, पेस्तोल होल्स्टरमा राख्नुभयो र एकैछिनमा घोडा लिएर पुल भएको ठाउँमा आइपुग्नुभयो। गोरुगाडीहरूको लामो लाइनले पुल पार गरिरहेको थियो। हप्काउँदै सोध्नुभयो- 'कसका गाडीहरू हुन् यी ?' एकछिन मौनता छायो। त्यसपछि केहीबेर खासखुस भयो र अगाडिको मान्छेले भन्यो- 'पण्डित आलोपिदिनका।' 'को आलोपिदिन ?' 'दातागन्जका।' मुन्सी वंशीधर छक्क पर्नुभयो। पण्डित आलोपिदिन त्यस क्षेत्रका सबैभन्दा प्रतिष्ठित जमिन्दार हुनुहुन्थ्यो। लाखौँको लेनदेन थियो, साना-ठूला सबै उहाँका ऋणी थिए। व्यापार पनि लम्बाचौडा थियो र उहाँ चल्ता-पुर्जा मान्छे हुनुहुन्थ्यो। अङ्ग्रेज अफिसरहरू उहाँका क्षेत्रमा सिकार गर्न आउँथे र पाहुना भएर बस्थे। बाह्रै महिनाजसो भोजभतेर जसो चल्थ्यो। मुन्सीजीले सोध्नुभयो – 'यी गाडी कहाँ जान्छन् ?' उत्तर आयो – 'कानपुर।' तर 'के छ यी गाडीहरूमा ?' भनेर सोध्दा मौनताबाहेक केही जबाफ आएन। सिपाही प्रमुखको शङ्का झनै बड्यो। केहीबेरको प्रतीक्षापछि उहाँले कड्केर सोध्नुभयो – 'बहिरा भयौ कि क्या हो ? भन यिनमा के छ ?' फेरि पनि केही उत्तर नपाउँदा उहाँले घोडा एउटा गाडीछेउ लगेर बोरा छाम्नुभयो। शङ्का हट्यो, बोरामा नुनका ढिका थिए। « पण्डित आलोपिदिन आफ्नो सजाइएको रथमा बसेर उँघ्दै, ब्यूँझदै आउँदै हुनुहुन्थ्यो। अचानक कैयन् गाडीवानहरूले उहाँलाई उठाएर भने- 'महाराज, सिपाही प्रमुखले गाडीहरू रोकिदिनुभयो। घाटमा हुनुहुन्छ र तपाईँलाई बोलाइरहनुभएको छ।' पण्डित आलोपिदिनलाई लक्ष्मीमा अखण्ड विश्वास थियो। उहाँ भन्नुहुन्थ्यो- 'संसार त के स्वर्गमा पनि लक्ष्मीकै राज्य छ।' उहाँले भनेको यथार्थ पनि हो। न्याय र नीति लक्ष्मीकै खेलौना त थिए, उहाँले जसरी चाह्यो त्यसरी नै नचाउनुहुन्थ्यो। पल्टिएरै गर्वका साथ आलोपिदिनले भन्नुभयो- 'हिँड म आउँछु।' यति भनेर उहाँले निश्चिन्तताका साथ पान बनाएर खानुभयो र ओढ्ने ओड्दै सिपाही-प्रमुखका अघि आएर भन्नुभयो- 'बाबूजी, आशीर्वाद ! भन्नुहोस् मबाट कस्तो अपराध भयो र तपाईँले यी गाडीहरू रोकिदिनुभयो ? हामी ब्राह्मणलाई त तपाईँको कृपादृष्टि चाहिन्छ।' वंशीधरले रुखो भएर भन्नुभयो- 'सरकारी आज्ञा।' पण्डित आलोपिदिन हाँस्दै भन्न लाग्नुभयो- 'म सरकार पनि जान्दिनँ र सरकारी हुकुम पनि। मेरो सरकार त तपाईँ नै हो। तपाईँ-हाम्रो घरको कुरा त हो, म तपाईँबाट टाढाको कसरी हुनसक्छु र? तपाईँले ब्यर्थै कष्ट गर्नुभयो। यतैबाट गएर घाटका देवतालाई भेटी नचढाई हिँड्ने कुरा पनि कतै सम्भव हुन्छ र ?' म त तपाईँकै सेवामा हाजिर हुन आइरहेको थिएँ।' वंशीधरमाथि ऐश्वर्यको मोहनीले केही काम गरेन। इमानदारीको नयाँ उमङ्ग थियो। कड्किएर भन्नुभयो- 'म ती नमकहरामहरूमा पर्दिनँ जसले कौडीका दाममा आफ्नो इमान बेचिहिँड्छन्। तपाईँ अब हिरासतमा हुनुहुन्छ। कानुनअनुसार तपाईँको चलानी हुन्छ। बस, अरू कुराका लागि मलाई फुर्सत छैन। जमादार बदलुसिंह, उहाँलाई हिरासतमा लेऊ, म आदेश गर्छु।' पण्डिल आलोपिदिन स्तम्भित हुनुभयो। गाडीवानहरूबीच पनि हलचल मच्चियो। पण्डितजीको जीवनमा यस्तो गाली र कठोर वचन सुन्ने अवसर कदाचित् पहिलो थियो। बदलुसिंह अगाडि बढे तर पण्डितजीको रोबका कारण हात पक्रिन सकेनन्। पण्डितजीले धर्मले धनको यस्तो अनादर गरेको कहिल्यै देख्नुभएको थिएन। केटो अलिक उद्दण्ड छ, मायामोहको जालमा फँसेको छैन, अल्लारे छ, सङ्कोच गर्दो रहेछ भन्ने विचारका साथ भन्नुभयो – 'बाबूसाहेब, यसो नगर्नुहोस्। म मेटिन्छु। बर्बाद हुन्छु। इज्जत धूलोमै मिल्छ। मेरो अपमान गरेर तपाईँका हातमा के आउँछ र ? म तपाईँभन्दा अलग छु र ?' वंशीधरले कठोर स्वरमा भने – 'म यस्ता कुरा सुन्न चाहन्नँ।' आलोपिदिनले जुन सहारालाई चट्टान सम्झिनुभएको थियो, त्यो चट्टान खुट्टामुनिबाट चिप्लिएको भान भयो। स्वाभिमान र ऐश्वर्यलाई ठूलो चोट लाग्यो। तर अहिलेसम्म पनि धनको साङ्ख्यिक शक्तिमा पूरा भरोसा थियो। आफ्नो सहायकसँग भने – 'लालाजी, एक हजारका नोट बाबूसाहेबलाई टक्र्याऊ, उहाँ यतिबेला भोको सिंह हुनुभएको छ।' वंशीधरले रिस उगेल्दै भन्नुभयो- 'एक हजार त के एक लाखले पनि मलाई साँचो मार्गबाट हटाउन सक्तैन।' धर्मको यो बुद्धिहीन दृढता र देव-दुर्लभ त्यागमा मन निकै विचलित भयो। अब दुई शक्तिहरूबीच सङ्ग्राम हुन थाल्यो। धनले उफ्री-उफ्री आक्रमण गर्न थाल्यो। एकबाट पाँच, पाँचबाट दस, दसबाट पन्ध्र हुँदै बीस हजारसम्म पुग्यो तर धर्मको अलौकिक वीरताका साथ त्यो बहुसङ्ख्यक सेनाको सम्मुख एक्लो पर्वतझैँ अटल र अविचलित उभिइरह्यो। आलोपिदिनले निराश भएर भन्नुभयो- 'अब यसभन्दा धेरै मेरो सामर्थ्य छैन। अब बाँकी तपाईँको अधिकार।' वंशीधरले आफ्नो जमादारलाई हप्काए। बदलुसिंह सिपाहीप्रमुखलाई मनमनै गाली गर्दै आलोपिदिनतिर बढे- 'पण्डितजी अत्तालिएर तीन कदम पछाडि सरे र अत्यन्त दीनभावले भने – 'बाबूसाहेब, ईश्वरका लागि ममाथि दया गर्नुहोस्। म पच्चीस हजारमा कुरो मिलाउन तयार छु।' 'असम्भव कुरा छ।' 'तीस हजारमा...?' '....................' 'चालीस हजारमा पनि हुँदैन ?' 'चालीस हजार त के चालीस लाखमा पनि असम्भव। बदलुसिंह त्यस मानिसलाई हिरासतमा लेऊ। अब म एकशब्द पनि बोल्न चाहन्नँ।' धर्मले धनलाई पैतालामुनि कुल्चियो। आलोपिदिनले एउटा हृष्ट-पुष्ट मान्छेलाई हथकडी लिएर आउँदै गरेको देखे। चारैतिर निराश र कातर दृष्टिले हेर्न लागे र एकछिनपछि बेहोस भएर लडे। दुनियाँ सुतेको थियो तर उसको जिब्रो जिउँदै थियो। बिहान बालकदेखि वृद्धसम्म सबैका मुखमा एउटै कुरा थियो। जसलाई हेर्यो उही पण्डितजीको त्यस व्यवहारमाथि टीका-टिप्पणी गरिरहेका भेटिन्थे, निन्दाको वर्षा भइरहेको थियो मानौ संसारबाट अब यो पाप काटियो। पानीलाई दूधको नाममा बेच्नेवाला ग्वाला, काल्पनिक हाजिरी-खाता भर्ने अधिकारी वर्ग, रेलमा बिनाटिकट यात्रा गर्ने बाबूहरू, नक्कली कागजपत्र बनाउने सेठ र साहूहरू सबै देवताझैँ गर्दन चलाइरहेका थिए। अर्को दिन पण्डित आलोपिदिन अभियुक्त भएर सिपाहीहरूका साथ हातमा हथकडी, हृदयमा ग्लानि र क्षोभ लिई लज्जाले शिर निहुर्याउँदै अदालततिर लाग्दा सहरभरि ठूलो खलबल भयो। मेलामा पनि आँखाहरू त्यति उत्सुक नहुँदा हुन्। भीडका कारण छत र भित्ताहरू छुट्टिन सकिरहेका थिएनन्। तर अदालत पुग्नमात्र थियो। पण्डित आलोपिदिन यस अगाध वनका सिंह हुनुहुन्थ्यो। अधिकारीवर्ग उहाँका भक्त थिए, कर्मचारी-सेवक वकिल-मुख्तार उहाँका आज्ञापालक अनि अर्दली, चौकीदार र चपरासी त उहाँका बिनामूल्यका दास नै थिए। उहाँलाई देख्नेबित्तिकै चारैतिरबाट मानिसहरू जम्मा हुन थाले। मानिसहरू आश्चर्यचकित थिए। उनीहरू आलोपिदिनले यस्तो काम किन गर्नुभयो भन्ने कुरामा नभएर उहाँ कसरी कानुनको पन्जामा पर्नुभयो बन्ने कुरामा छक्क परिरहेका थिए। जससँग असम्भवलाई सम्भव बनाउने धन होस्, अनन्य वाचालता होस्, कसरी पक्राउ पर्नुभयो ? हरेकले उहाँसँग सहानूभूति प्रकट गरिरहेका थिए। ठूलो तत्परताका साथ यो आक्रमण रोक्नका लागि वकिलहरूको एउटा सेना तयार गरियो। न्यायका मैदानमा धर्म र धनको युद्ध सुरु भयो। वंशीधर चुपचाप हुनुहुन्थ्यो। उहाँसँग सत्यबाहेक अन्य कुनै शक्ति थिएन। स्पष्ट बोलीबाहेक अन्य बोली पनि थिएन। साक्षीहरू थिए तर लोभका कारण डाँवाडोल। यहाँसम्मकी मुन्सीजीलाई न्याय पनि आफ्नो तर्फबाट टाढा हुँदै गएको देखिन थाल्यो। त्यो न्यायको दरबार थियो तर त्यहाँका कर्मचारीहरूमा पक्षपातको नशा छाएको थियो। पक्षपात भएका ठाउँमा न्याको कल्पना कसरी गर्न सकिन्छ र ? मुद्दा छिट्टै सकियो। डिपुटी मजिस्ट्रेटले फैसलामा लेखे- 'पण्डित आपोपीदीनविरूद्ध दिएका प्रमाणहरू आधारहीन र भ्रमात्मक छन्। उहाँ ठूलो मानिस हुनुहुन्छ। थोरै लाभका लागि उहाँले यस्तो काम गर्नुभयो होला भन्ने कुरा कल्पना पनि गर्न सकिन्न। सिपाही-प्रमुख वंशीधरको पनि यसमा त्यति धेरै दोष छैन, तर उनको उद्धण्डता र विचारहीनताले एकजना भलाद्मीले दुःख झेल्नुपर्यो, यो खेदको कुरा हो। म प्रसन्न छु उनी आफ्नो कामप्रति सजग र सचेत रहन्छन् तर नुनको मुद्दामा उनको बढेको इमानदारीले उनको विवेक र बुद्धिलाई भ्रस्ट गरेको छ। भविश्यमा उनी होसियार रहून्।' वकिलहरूले यो फैसला सुनेपछि खुसीले उफ्रिए। पण्डित आलोपिदिन हाँस्दै बाहिर निस्कनुभयो र स्वजन-बन्धुहरूमा पैसा बर्साउनुभयो। उदारताको सागर उर्लियो। त्यसका लहरहरूले अदालतको आधार नै हल्लियो। वंशीधर बाहिर निस्कँदा चारैतिरबाट उहाँमाथि व्यङ्ग्यबाणहरू प्रहार हुन थाले। चपरासीहरूले झुकेर सलाम गरे। तर यसबेला हरेक कटुवाक्यले, हरेक सङ्केतले उहाँको गर्वाग्निलाई प्रज्ज्वलित पारिरहेको थियो। कदाचित् उहाँले यो मुद्दा जितेको भए यसरी जर्खरिएर हिँड्नुहुन्नथ्यो होला। आज उहाँलाई संसारको खेदपूर्ण र विचित्र अनुभव भयो। न्याय र विद्वता, लामा-लामा उपाधिहरू लामा-लामा दाह्रीहरू र खुकुला ओढ्नेहरू, एउटै पनि साँचो आदरका पात्र छैनन्। वंशीधरले धनसँग शत्रुता गर्नुभएको थियो, त्यसको मूल्य त तिर्नै थियो। मुस्किलले एक हप्ता पनि बितेको थिएन। उहाँले खोसुवापत्र पाउनुभयो। इमानदारिताको, कार्यपरायणता दण्ड थियो त्यो। भत्किएको मन, शोक र खेदबाट व्यथित भएर उहाँ घरतिर जानुभयो। वृद्ध मुन्सी त पहिलेदेखि नै भुत्भुतिरहेको हुनुहुन्थ्यो – 'हिँड्ने बेलामा यसलाई सम्झाएको त थिएँ, तर एउटै कुरो सुनेको हैन। मनोमानी मात्र गरिरहन्छ। आफूचाहिँ यहाँ साहू र कसाहीको ताकेता सही रहूँ, बूढेसकालमा भक्त बनेर बसूँ अनि उहाँचाहिँ सुख्खा तलब। मैले पनि त जागिर गरेको हुँ, ठूलो पदमा पनि थिइनँ, तर कामचाहिँ मन लगाएरै गरेको हुँ। खुब इमानदार हुनुपरेको। घरमा अँध्यारो छ, मस्जिदमा दियो बाल्दै हिँड्ने। धिक्कार छ यस्तो बुद्धिलाई। पढाएको लेखाएको सबै बेकार भो।' यस्तै दुरवस्थामा केही दिनपछि वंशीधर घर पुग्नुभयो। वृद्ध पिताजीले थाहा पाएर टाउको ठोक्न थाल्नुभयो- 'तेरो र मेरो टाउको फोरौँ कि क्या हो !' पछुतो मानेर धेरैबेरसम्म हात मलिरहनुभयो। क्रोधमा धेरै कुरा भन्नुभयो। वंशीधर त्यहाँबाट नहट्नुभएको भए क्रोधले विकट रूप धारण गर्ने थियो। वृद्धा आमाले पनि दुःख व्यक्त गर्नुभयो। जगन्नाथ र रामेश्वरका यात्राहरूको योजना माटामा मिलेको थियो। पत्नीले त कैयौँ दिनसम्म सोझो मुखले कुरा पनि गरिनन्। यस्तै प्रकारले एक हप्ता बित्यो। साँझको समय थियो। वृद्ध मुन्सी बसेर रामनामको माला जपिरहनुभएको थियो। त्यसैबेला द्वारमा सजिएको रथ आएर रोकियो। हरियो र गुलाबी रङका पर्दाहरू, पछाहिया जातका गोरुको जोडी, तिनका गर्दनमा नीलो माला, सिङहरू पित्तलले जडेका। कैयन् सेवकहरूले काँधमा लठ्ठी लिएका। मुन्सीजी स्वागतका लागि दौडिनुभयो। देख्नुभयो- पण्डित आलोपिदिन आउनुभएको छ। झुकेर दण्डवत् गर्नुभयो र चिल्लो घस्ने हिसाबमा कुरा गर्न थाल्नुभयो- 'हाम्रो अहोभाग्य, हजुरका चरणहरू हाम्रो द्वारमा आए। हजुर हाम्रा पुज्य देवता हुनुहुन्छ। हजुरलाई कुन मुख देखाऊँ, मुखमा त मोसो दलिएको छ। के गर्नु केटो अभागी कपूत निस्क्यो, नत्र किन हजुरबाट मुख लुकाउनुपर्थ्यो ! ईश्वरले यस्तो सन्तान दिनुभन्दा बरू निसन्तान राखुन्।' आलोपिदिनले भन्नुभयो- 'त्यसो नभन्नुस् भाइसाहेब।' मुन्सीजीले चकित हुँदै भन्नुभयो- 'त्यस्तो सन्तानलाई अरू के भनूँ त ?' आलोपिदिनले वात्सल्यपूर्ण स्वरमा भन्नुभयो- 'कुलतिलक र पुरुषको कीर्ति उज्ज्वल पार्ने धर्मपरायण मनुष्यहरू यस संसारमा कति छन् जसले धर्मका लागि सबैथोक त्याग्न सक्छन् ?' फेरि वंशीधरतिर फर्केर भन्नुभयो – 'प्रमुखज्यू यसलाई खुसामद नसम्झिनुहोला, त्यसै गर्नु थियो भने म यति कष्ट उठाउने नै थिइनँ। त्यस राति तपाईँले मलाई आफ्नो अधिकारले हिरासतमा लिनुभयो तर आज म स्वेच्छाले तपाईँको हिरासतमा आएको छु। मैले हजारौँ धनी र रइस देखेँ, हजारौँ उच्च अधिकारीहरूसँग काम पर्यो तर तपाईँले मात्र मलाई परास्त गर्न सक्नुभयो। मैले सबैलाई आफ्नो र आफ्नो धनको गुलाम बनाएँ। मलाई आज्ञा भए केही बिन्ती गरौँ ?' वंशीधरले आलोपिदिनलाई देखेर उठ्नुभयो अनि सत्कार गर्नुभयो तर स्वाभिमानका साथ। उहाँलाई लाग्यो 'यी महाशय पक्कै पनि मलाई लज्जित गराउन र ईर्ष्याले जलाउन आएका हुन्।' क्षमाप्रार्थनाको चेष्टा पनि गर्नुभएन, आफ्नो बुबाको चापलुसी असह्य भएको थियो तर पछि पण्डितजीको कुरा सुनेर मन केही शान्त भयो। उहाँतिर हेर्दा केही सद्भाव झल्किएझैँ लाग्यो। अब उहाँको गर्वले लज्जाका सामु शिर झुकायो। लजाउँदै भन्नुभयो- 'यसो भन्नु त तपाईँको उदारता हो। मबाट जे भूल भएको छ त्यसका लागि क्षमा गर्नुहोला। म धर्मको हथकडीमा बाँधिएको थिएँ, नत्र म तपाईँकै सेवक हुँ। जे आज्ञा हुन्छ त्यही शिरोपर गर्छु।' आलोपिदिनले विनीत भावले भन्नुभयो- 'नदीतटमा तपाईँले मेरो प्रार्थना स्वीकार गर्नुभएन तर आज स्वीकार गर्नुहोला।' वंशीधरले भन्नुभयो- 'म योग्य त छैन, तर जेजस्तो सेवा मबाट हुनसक्छ त्यसमा त्रुटि हुँदैन।' आलोपिदिनले एउटा स्ट्याम्प लगाएको कागज निकालेर वंशीधरका अगाडि राखिदिनुभयो र भन्नुभयो- 'पदलाई स्वीकार गरेर हस्ताक्षर गरिदिनुहोला। म ब्राह्मण हुँ, जबसम्म हस्ताक्षर गर्नुहुन्न म द्वारबाट हट्तिनँ।' मुन्सी वंशीधरले त्यो कागज पढ्नुभयो र उहाँका आँखाहरू कृतज्ञताका आँसुहरूले भरिए। पण्डित आलोपिदिनले उहाँलाई आफ्नो सम्पूर्ण जायजेथा र सम्पत्तिको स्थायी म्यानेजर नियुक्त गर्नुभएको थियो। छ हजार वार्षिक वेतनबाहेक दैनिक खर्च अलग्लै थियो। यात्राका लागि घोडा, बस्नलाई बङ्गला र नोकरचाकरहरू अतिरिक्त सुविधामा पर्दथे। उहाँले कम्पित स्वरमा भन्नुभयो- 'पण्डितजी तपाईँको उदारताको प्रशंसा गर्ने क्षमता मसँग छैन तर म यस्तो उच्च पदको योग्य छैन।' आलोपिदिनले हाँसेर भन्नुभयो- मलाई यतिबेला अयोग्य मानिसकै आवश्यकता छ।' वंशीधरले गम्भीर भावले भन्नुभयो- 'त्यसो त म तपाईँको सेवक नै हुँ। तपाईँजस्ता कीर्तिवान र सज्जन पुरुषको सेवा गर्नु मेरा लागि सौभाग्यको कुरा हो तर मसित न विद्या छ, न बुद्धि। त्यो स्वभाव पनि छैन जसले यी त्रुटिहरूको पूर्ति गरोस्। यस्तो महान् कार्यका लागि ठूलो मर्मज्ञ र अनुभवी व्यक्तिको आवश्यकता छ।' आलोपिदिनले कलमदानीबाट कलम निकालेर वंशीधरका हातमा दिँदै भन्नुभयो- 'न मलाई विद्वताको चाहना छ, न अनुभवको। मर्मज्ञता र कार्यकुशलता पनि म चाहन्नँ। यी गुणहरूको परिचय मैले राम्ररी पाइसकेको छु। अब सौभाग्य र सुअवसरले मलाई यस्तो मोती दिएको छ जसका सामु विद्वता र योग्यताको चमक पनि फिक्का लाग्छ। कलम लिनुहोस्, धेरै सोचविचार नगर्नुहोस् र सही गर्नुहोस्। परमात्मासँग यही प्रार्थना छ कि उनले तपाईँलाई त्यही नदी किनारमा भेटिएजस्तो उद्दण्ड, साहसी, कठोर तर कर्तव्यनिष्ठ सिपाही बनाइराखुन्। वंशीधरका आँखा भरिए। हृदयको सानो पात्रमा यति धेरै स्नेह अटाउन सकेन। एकपल्ट फेरि पण्डितजीतिर भक्ति र श्रद्धाका दृष्टिले हेरेर काम्दै गरेका हातले म्यानेजर पदको कागजमा सही गरिदिनुभयो। आलोपिदिनले प्रफुल्लित भएर उहाँलाई अँगालो मार्नुभयो। ««« हिन्दीबाट अनुवादः कुमुद अधिकारी। |
|
|
मुन्सी प्रेमचन्द जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६ उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी र अङ्ग्रेजी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्। |