देश छोडेर जानेलाई

? नरहरि शर्मा अधिकारी

 

माटो नेपालका यी धवल हिमचुली, कुण्ड, खोला-नदीले

गाई, डाँफे, हिमाली पवन, तरू-लता, वृक्ष नानाथरीले

छोडी देश् उड्नलाग्दा खुसखुस यिनले क्यै भनेनन् कि के हो

पक्कै क्यै भन्नुपर्ने अनसुन गरदै बुझ् पचायौ कसो हो ?

 

बूढा आमा-बुबाको मुख अब कहिल्यै देख्‍न मिल्ला-नमिल्ला

नाता-गोता कुटुम्बी जनसित कहिल्यै भेट होला नहोला

पर्दा जन्ती मलामी मरण-समयका ती सबै भुल्न लाग्यौ

क्यै चिन्ता छैन मनमा अलिकति पनि लौ कुन महान् स्वप्न देख्यौ।

 

खान्थ्यौ ऐँसेलु, चुत्रो, बडहर, अमला, अम्बके औ गुँहेली

ढुङ्गे धारा नुहाई कदममुनि बसी गीत गाई सुसेली

बाल्दैथ्यौ धूपबाती घरपरि पहरे देवता स्थान जाई

पार्थ्यौ साह्रै उज्यालो रमरउस गरी गीत गाई सुसेली।

 

केही ख्यालै नराखी कुन लहड उठी ती सबै बिर्सिएर

लाग्यौ पर्देश कान्छा ! रहरहरू पुगी पर्सि लाग्नेछ लाज

हामीलाई त्यहाँका जनहरू कहल्यै आफुझैँ सम्झदैनन्

भोका-नाङ्गा अभागी उदरभर यहाँ खान आए नि भन्छन्।

 

च्यायौ झ्यालबाट पक्कै हिमशिखर उँचा देख्‍न नेपालकै झैँ

फेवा, रारा र सुर्मासरि जलनिधिका चारू कौमार्य खोज्दै

हेर्‍यौ यात्रीहरूमा हिमगिरितिरका चेहरा छन् कि भन्दै

नेपाली शब्द सुन्ने रहर अधिक थ्यो कोही बोलेन बन्दै।

 

आकाश चुम्ने हवेली धवल रङ सबैबाट वाक्कै हुनेछौ

मान्छेका भीडभित्रै उठबस गरदै मनमनै एक्लिनेछौ

पैसा खाइन्न कान्छा सुन र डलरले धीत मर्दैन मनको

खौजौला देख्‍न झाडी, रुख, वन, पशु नेपालकै साथ मिल्दो।

 

बाली दीया उज्यालै जनमदिवसको गर्दथ्यौ पूजनादी

बल्दा बत्ती निभाई तम सृजन गरी माग है आशिषादी

पिज्जा, स्यान्डविच र बर्गरहरू अमन हुँदा सेलरोटी, फुरौला

सम्झी सिन्की र गुन्द्रुक रुचि र सितन ती राल मुखबाट झर्ला।

 

स्वप्ना नेपालका नै हररजनी त्यहाँ देखिनेछन् नि भाइ

नेपालीमै तिमीले सुन र डलरको मूल्य आँक्नु छ भाइ
खोज्थ्यौ पर्मा परेली मजदूर अब ता मजदुरी नै छ काम

बायाँ भै दैव काहीँ विपद परि गए जप्नु नेपाल आमा।

 

ллл

पञ्चकन्या-४, माघे, इलाम।