नदीकिनारमा

                                                                    ? बालकृष्ण पोखरेल

'धत् ! तिमीसँग बिहे गर्दिनँ।'

'के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।'

'राम्रो भएर के गर्ने ! तन्नेरी भएर के गर्ने ! ऐलेसम्म चारौटी फेर्‍यौ। नाईँ, म तिम्लाई रोज्दिनँ।'

'रोज्नैपर्छ।'

'अहँ, मलाई पनि ती चारौटीलाई झैँ गर्छौ तिमी।'

'त्यसो गर्दिनँ। त्यो भ्यान्टे बूढोझैँ फटाहा पनि पछि सप्रियो रे। भ्यान्टे सप्रियो भने म किन सप्रिन्नँ ?'

धौलीको किशोर गिदीले पत्यायो, उहिले फटाहा भ्यान्टे सप्रिएझैँ अहिले फटाहा बिजुलीकान्ते पनि सप्रिन्छ। छोटकरीमा कान्ते। हो ऊ सप्रिन्छ। त्यसै दिन वनमै सिन्दुर थापी सिउँदामा। अनि मायाका कोसेलीहरू थापी पोल्टामा।

केही दिन ससुराल बसी कान्ते ससुरालीले दिएको लुगाफाटाहरूको भारी बोकी धौलीलाई लिएर घरतिर लाग्यो। मख्ख थिई धौली कान्ते अब भ्यान्टेझैँ देउता भयो भनी।

आधा कोस हिँडेपछि लिखू खोलो आयो। स्यानो भए पनि दह्रो खोलो। तर फिक्री थिएन धौलीलाई। कान्तेको निम्ति यो खोलो केही पनि थिएन। भनी उसले कान्तेतिर हेर्दै, 'पैले भारी तार अनि मलाई तार।'

हुकुम मान्यो कान्तेले। पहिले भारी तार्‍यो। तर खै के मान्यो भन्ने। धौलीलाई लिन यता आएन बरु भारीलाई नदीको किनारमै छोडेर बेपत्ता भयो। आजसम्म आएको छैन।

अर्को लोग्नेबाट दुई छोराछोरी भैसक्ता पनि कान्तेको मुख देख्‍न पाएकी छैन धौलीले। यसो टाढैबाट हेरिटोपल्ने रहरचाहिँ छ उसको मुटुमाझ।

 

ллл

 

मधुपर्क लघुकथा अङ्क Ц २०५६ बाट साभार।