होलीको उपहार

? प्रेमचन्द

 

मैकूलाल अमरकान्तका घरमा बुद्धिचाल खेल्न आउँदा उनलाई कहीँ बाहिर जाने तयारी गरिररेको देखे। सोधे- 'कतै बाहिर जान लागेको हो कि क्या हो ? फुर्सत भए खेलौँ दुई-चार बाजी।'

अमरकान्तले सन्दूकको ऐनामा हेरेर कपाल कोर्दै भने- 'हुँदैन भाइ, आज त बिलकुलै फुर्सत छैन। भोलि ससुराली जाँदैछु। त्यसैले सामान ठीक पार्न लागेको।'

'आजैदेखि के तयारी गर्न थालेको त ? चार पाइलामा पुगिन्छ। पहिलोपल्ट हो कि क्या हो ?'

'हो यार, एकपल्ट पनि गएको छैन। मलाई त अहिले पनि जान मन लागेको थिएन, तर ससुराले साह्रै आग्रह गर्नुभएर जान लागेको।'

'त्यसो भए भोलि बेलुका उठ्नु अनि जानू नि, आधा घन्टामा त पुगिहाल्छौ।'

'मेरे हृदयको धड्कन त अहिलेदेखि नै बढ्न थालिसक्यो। अहिलेसम्म त कल्पनामा मात्रै पत्‍नी-मिलनको आनन्द लिन्थेँ, तर अब त कल्पना साकार हुँदैछ। प्रत्यक्ष भेट कल्पनाजस्तो सुन्दर होला कि नहोला, कसले भन्न सक्छ र ?'

'केही कोसेली लिएका छौ कि छैनौ ? खाली हात त जानु हुँदैन नि। अनुहार ठाडो पार्न सकिन्न फेरि।'

अमरकान्तले कुनै कोसेली किनेका थिएनन्। यस कलामा उनी अभ्यस्त भएकै थिएनन्।

मैकूले भने- 'लिन त लेऊ है, भद्र मानिस ! पहिलो पल्ट जाँदैछौ, उहाँको हृदयमा के पर्ला ?'

'के लैजाऊँ भनन त ? मलाई त यस्तो कुनै विचार नै आएन। कुनै यस्तो चीज बताऊ जुन सस्तो पनि होस् र राम्रो पनि होस् किनकि घरमा पनि पैसा पठाउनु छ। हजुरबाले मगाउनु भएको छ।'

मैकू आमाबाबुसँग बस्तैनथे। त्यसैले ब्यङ्ग्य गर्दै भने – 'हजुरबाले पैसा मगाएको छ भने उहाँलाई टार्नु त भएन नि। उहाँले पैसा माग्नु साधारण कुरा त हैन, कसो ?'

अमरकान्तले ब्यङ्ग्य बुझेर भने – 'हो त्यसैले त मैले होलीका लागि पनि लुगा सिलाएको छैन। तर यदि कुनै कोसेली लानै पर्छ भने, केही त लिनै पर्ला। कम दामको कुनै चीज बताऊ न।'

दुई मित्रहरूमा विचार-विमर्ष हुन थाल्यो। विषय साँच्चै महत्त्वको थियो। त्यसैका आधारमा भावी दाम्पत्य जीवन सुखमय या प्रतिकूल हुन सक्थ्यो। पहिलो दिनको प्रभावले यदि जीवनमा स्थायी असर पार्छ भन्ने यो पहिलो उपहार या कोसेली कम महत्त्वको त पक्कै होइन। निकै बेरसम्म बहस भइरह्यो तर पनि कुनै निष्कर्ष निस्किएन।  

त्यसै बेला एकजना पारसी महिला नयाँ फेसनको साडी लगाएर गाडीमा कतै गइन्। मैकूलालले भने – 'यस्तै साडी लग्यौ भने उहाँ खुसी हुनुहुन्छ। कति सादा रङ र कति भव्य छ। मेरो त आँखामै बस्यो। हिँड हाशिमको दोकानबाट किन। पच्चीस रूपैयाँमा त आइहाल्छ।'

अमरकान्त पनि त्यही साडीमा मुग्ध भइरहेका थिए। उनी साडी देख्दा कति खुसी होलिन् र उनको गोरो वर्णमा त्यो साडी कति सुहाउला। यही कल्पनामा उनी मग्न थिए। भने – 'हो यार, मन त मलाई पनि पर्‍यो तर हाशिमको दोकानमा त पिकेटिङ भइरहेको छ।'

'भइरहोस् न त। किन्नेले किनिरहेका छन्। आफ्नो इच्छा हो, जे चाहूँ किनौँ, कसैको बाबुको बिर्ता हो र ?'

अमरकान्तले क्षमायाचनाको भावमा भने- 'कुरा त सही हो, तर म स्वयम्‌सेवकहरूको बीचबाट दोकानमा छिर्न सक्तिनँ। फेरि तमासा हेर्नेहरूको भीड पनि त त्यत्तिकै हुन्छ।'

मैकूले मानौ अमरकान्तको कायरतामा दया गरेझैँ भने – 'त्यसो भए पछाडिको ढोकाबाट जाऊ। त्यहाँ त पिकेटिङ भएको छैन।'

'कुनै अरू देशी दोकानमा पाइँदैन ?'

'हाशिमको दोकानबाहेक कहीँ पाइँदैन।'

««

साँझ पर्‍यो। अमीनाबादमा सायंकालिन आकर्षणको उदय भयो। सूर्यको प्रतिभाले बिद्युत-प्रकाशको झिलिमिलिमा आफ्नो स्मृति छोडेर गयो।

अमरकान्त चाल मारेर हाशिमको दोकान अगाडि पुगे। स्वयम्‌सेवकहरूको धर्ना पनि थियो र रमितेहरूको भीड पनि। उनले तीनचार पल्ट भित्र जानलाई कलेजो दह्रो बनाए, तर फुटपाथमा पुग्दापुग्दै हिम्मतले साथ छोडीहाल्थ्यो।

तर साडी किन्नु थियो। साह्रै मन परेको थियो। त्यसकै लागि उनी पागलझैँ भइरहेका थिए।

अन्तमा उनले पछाडिको ढोकाबाट जाने निश्चय गरे। गएर हेरे, त्यहाँ कुनै भोल्युन्टियर आएको थिएन। एकैछिनमा भित्र पसेर बीस-पच्चीस मिनटभित्रमा त्यही नमूनाको साडी लिएर उनी ढोकामा आइपुगे। तर अब परिस्थिति बदलिएको थियो। त्यहाँ तीनजना स्वयम्‌सेवक आइपुगेका थिए। अमरकान्त एकमिनटसम्म द्विविधामै उभिइरहे। फेरि तीरजस्तै अन्धाधुन्ध कुदेको कुदै त्यहाँबाट निस्किए। तर दुर्भाग्य, एउटी वृद्धा लौरो टेक्दै आउँदैथिइन्। अमरकान्त उनैसँग ठोक्किन पुगे। ती वृद्ध-महिला लडिन् र गाली गर्न थालिन् – 'आँखामा बोसो छ कि क्या हो ? हेरेर हिँड्न सक्तैनौ ? यो जवानी त एकदिन ढलिहाल्छ।'

अमरकान्तले खुट्टा अगाडि बढाउन सकेनन्। वृद्धालाई उठाएर क्षमा माग्दै थिए त्यति नै बेला तीनजना स्वयम्‌सेवकहरू आएर उनलाई घेरे। एकजनाले साडीको प्याकेटमा हात राख्दै भने- 'बेलायती कपडा लिएर जाने अनुमति छैन। बोलाउँदा पनि किन सुन्दैनौ ?'

अर्काले थपे – 'तपाईँ त चोर भागेजस्तै पो भाग्नुभो ?'

तेस्राले भने – 'हजारौँ मानिसहरूलाई पक्रिएर जेलमा कोचेको कोचै छन्, देशमा आगो दन्किरहेको छ तर यिनको मन बेलायती सामानले अघाएकै छैन।'

अमरकान्तले प्याकेट दह्रो समातेर भने – 'तिमीहरू मलाई जान दिन्छौ कि दिँदैनौ ?'

पहिलो स्वयम्‌सेवकले प्याकेट समाउँदै भने – 'जान किन दिँदैनौँ ? तर बेलायती कपडा लिएर तिमी यहाँबाट कहिले पनि जान सक्तैनौ।'

अमरकान्तले एकै झट्कामा प्याकेट खोसेर भने – 'तिमीहरूले मलाई कदापि रोक्न सक्तैनौ।'

उनी अगाडि बढ्न लाग्दा दुईजना स्वयम्‌सेवक उनका अगाडि बाटामा तेर्सिए। अब अमरकान्तलाई गाह्रो भयो। जुन बिपत्तिबाट उनी बच्न चाहेका थिए, त्यसैमा जबरजस्ती फँस्नुपर्‍यो। एकै मिनेटमा बीसौँ मानिसहरू जम्मा भइसकेका थिए। चारैतिरबाट उनीमाथि टिप्पणी हुन थालेको थियो।

'कुनै जेन्टलम्यान होला, सायद।'

'यिनीहरू आफूलाई शिक्षक भन्छन्। छिः ! यसै दोकानबाट प्रत्येक दिन पाँच-दस मान्छेहरू पक्रा परिरहन्छन् तर कसलाई के खाँचो छ र ?'

'कपडा खोस, अनि भन- 'जाऊ पुलिसमा रिपोर्ट लेखाऊ।'

बिचरा अमरकान्तलाई गोडामा साङ्लाले बाँधेझै भइरहेको थियो। कसरी मुक्त हुने हो कुनै उपाय मस्तिष्कमा आइरहेको थिएन। मैकूलालसित रिस उठिरहेको थियो, उसैले त हो नि यो रोग भिराइदिएको। उनले त कुनै कोसेलीका बारेमा सोचेकै थिएनन्। कहाँबाट आएर कोसेली किन्न लगाए।

केहीबेरसम्म मानिसहरू टीका-टिप्पणी गर्दै रहे। त्यसपछि खोसाखोस सुरु भयो। कसैले शिरको टोपी उडाइदियो। त्यतातिर लम्किँदा एउटाले साडी खोस्यो। त्यसपछि त्यो साडी हातैहातबाट गायब भयो।

अमरकान्तले रिसाएर भने- 'अब म पुलिसमा रिपोर्ट गर्छु।'

एउटा मान्छे बोल्यो- 'ल, ल जाऊ र हामी सबैलाई फाँसी लगाइदेऊ।'

अचानक खद्दरको साडी लगाएकी एउटी युवती एउटा थैलो हातमा लिएर निस्किइन्। त्यहाँको हल्लाखल्ला देखेर भनिन्- 'कुरा के हो ? किन तिमीहरूले यी भलाद्मीलाई दुःख दिइरहेका ?'

अमरकान्तले मानौँ नयाँ जीवन पाए। उनको सास फर्कियो। उनका छेउमा गएर बिन्ति गर्न लागे –'यिनीहरूले मेरो कपडा खोसेर भागे र गायब गरिदिए। म त यस्तो कामलाई डकैती भन्छु। यो चोरी हो, यो न सत्याग्रह हो न देशप्रेम।'

युवतीले सान्त्वना दिइन्- 'तपाईँ सुर्ता नगर्नुहोस्। तपाईँको कपडा तपाईँले पाउनुहुन्छ। हुन त यिनीहरूसँगै होला। कस्तो कपडा थियो ?'

एउटा स्वयम्‌सेवकले भन्यो- 'बहिनजी, इनले हाशिमको दोकानबाट कपडा लिएका हुन्।'

युवती – 'जसको दोकानबाट लिए पनि तिमीहरूलाई उहाँको कपडा खोस्ने अधिकार छैन। ल्याइदेऊ उहाँको कपडा। कोसित छ?'

एकैछिनमा अमरकान्तको साडी जसरी हातैहातबाट गायब भएको थियो त्यसै गरी फर्कियो पनि। एकैछिनमा भीड पनि पातलियो। स्वयम्‌सेवकहरू पनि हिँडे। अमरकान्तले युवतीलाई धन्यवाद दिँदै भने- 'तपाईँ नआउनुभएको भए यिनीहरूले धोती त गायब गर्थे नै मेरो पनि मरम्मत गर्थे होलान्।'

युवतीले सरल तर भर्त्सनाको भावमा भनिन्- 'जन-चाहनाको सम्मान त सबैले गर्नै पर्छ, तर तपाईँले त्यो दोकानबाट कपडा किन लिनुभएको ? हामीमाथि त्यति अत्याचार भइरहँदा पनि तपाईँ मान्नुभएन। जसले बुझेर पनि बुझ पचाउँछन्, तिनलाई सम्झाउन साह्रै गाह्रो हुन्छ।'

अमरकान्त यतिबेला लज्जित भइरहेका थिए र साथीहरूसँग बसेर स्वेच्छाको राग अलापेको कुरा बिर्सिँदै भने- 'मैले आफ्ना लागि त किनेको होइन। एक महिलाको फर्माइस थियो, त्यसैले विवश थिएँ।'

'तपाईँले ती महिलालाई सम्झाउनु भएन ?'

'तपाईँले सम्झाउँदा सायद बुझ्थिन् होला तर मैले त सकिनँ।'

'कुनैबेला अवसर मिलेमा सम्झाउनु पर्ला। पुरुषहरूको लगाम स्त्रीहरूका हातमै हुन्छ। तपाईँ कुन टोलमा बस्नुहुन्छ ?'

'सआदतगंजमा।'

'शुभनाम ?'

'अमरकान्त।'

युवतीले तुरुन्तै अलिकति घुम्टो तानेर शिर झुकाउँदै सङ्कोच र स्नेह भरिएको स्वरमा भनिन्- 'तपाईँकी पत्‍नी त घरमा हुनुहुन्न फेरि कसरी उनले फर्माइस गरिन् ?'

अब अमरकान्त छक्क परे। सोधे –'तपाईँ कुन टोलमा बस्नुहुन्छ ?'

'घसियारी मन्डी।'

'तपाईँको नाम सुखदादेवी त हैन ?'

'हुन सक्छ, त्यस नामका स्त्रीहरू थुप्रै छन्।'

'अमरकान्त नामका पुरुष पनि त थुप्रै हुनसक्छन्।'

अमरकान्तले गोजीबाट मचिस निकालेर सुखदाकै सामु त्यो साडी जलाइदिए।

सुखदाले भनिन्- 'तपाईँ भोलि आउनुहुन्छ ?'

अमरकान्तको गला अवरूद्ध भयो, भने – 'अहँ सुखदा, जबसम्म म यसको प्रायश्चित गर्दिनँ तबसम्म आउँदिनँ।

सुखदा केही भन्न लाग्दैथिइन्, अमरकान्त छिटो छिटो कदम बढाउँदै अर्कातिर लागे।

««

आज होली हो। तर स्वतन्त्रता चाहनेहरूका लागि न होली, न वसन्त। हाशिमको दोकानमा आज पनि पिकेटिङ हुँदैछ। रमितेहरू आज पनि छन्। आजदेखि स्वयम्‌सेवकहरूसँग अमरकान्त पनि पिकेटिङ गरिरहेका छन्। उनले खद्दरको कुरता र धोती लगाएका छन्, उनका हातमा तीनवटा रङ र अशोक चक्र भएको झन्डा छ।

एकजना स्वयम्‌सेवकले भने – 'आदरणीय व्यक्तिहरूलाई यति छिटो कुराले छुन्छ। हिजो तिमी के थियौ ? आज के छौ ? हिजो त्यतिबेला सुखदादेवी नआउनुभएको भे निकै गाह्रो हुन्थ्यो।'

अमरकान्तले भने- 'म त्यसका लागि तिमीहरूलाई धन्यवाद दिन्छु। नत्र म आज यहाँ हुने थिइनँ।'

'आज त तिमी यहाँ आउनुहुने थिएन। सुखदा दिदीले त तिमीलाई आज आउन नदिने कुरा गर्नुहुन्थ्यो।'

'हिजोको अपमान पछि म उहाँलाई मुख देखाउन लायक छैन। जब उहाँ रमणी भएर त्यति गर्न सक्नुहुन्छ भने, हामी त हरेक प्रकारको कष्ट सहनका लागि नै बनेका हौँ, खासगरेर त्यसबेला जब छोराछोरीहरूको जिम्मेवारी हामीमाथि छैन।'

त्यसै बेला पुलिसको ट्रक आयो, एकजना सब-इन्स्पेक्टर उत्रियो र स्वयम्‌सेवकमाझ आएर भन्यो- 'म तिमीहरूलाई गिरफ्तार गर्छु।'

'वंदे-मातरम्' को ध्वनि भयो। रमितेहरूमा पनि केही हलचल भयो। मानिसहरू दुई-दुई पाइला अगाडि बढे। स्वयम्‌सेवकहरूले दर्शकहरूलाई प्रणाम गरे र ट्रकमा गएर बसे।

अमरकान्त सबैभन्दा अगाडि थिए। ट्रक हिँड्नै लागेका बेला सुखदा कतैबाट कुद्दै आइन्। उनका हातमा एउटा पुष्पमाला थियो। ट्रकको ढोका खुलै थियो, उनले त्यहाँ चढेर अमरकान्तका गलामा त्यो माला लगाइदिइन्। आँखाहरूबाट गर्व र स्नेहका दुई थोपा खसे। ट्रक हिँड्यो। यही होली थियो। यही नै होलीको आनन्द-मिलन थियो।

त्यसपछि सुखदा दोकानमा उभिएर भन्न लागिन्- 'बेलायती कपडा किन्नु र लगाउनु देश द्रोह हो।'

«««

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

मुन्सी प्रेमचन्द
जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६
उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी
र अङ्ग्रेजी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्।