सुन्दरता

                                ? विधान आचार्य

 

१.

फूलका पातमा अडिएको

एक बूँद पानीजस्तै

फूलभन्दा कोमल

बिहानीको घामको पहिलो किरण

त्यही बूँदबाट उठेर

मनभित्र पसेजस्तै।

२.

मलाई आजसम्म थाहा थिएन

तिमी यति सुन्दर छ्यौ

सधैँ तिमी हुँदा

तिम्रो सुन्दरताको आभास भएन

आज छैनौ साथमा

र तिम्रो सुन्दरताको उपमा छैन।

३.

यो कस्तो सुन्दरता हो ?

साथै हुँदा

आँखाले हेर्नखोज्दा पनि नदेखिने

साथमा नभएपछि

आँखा चिम्लनासाथ देखिने ?

४.

एकपटक

आफै बताऊ आफ्नो सुन्दरता

तिमी कति सुन्दर छ्यौ ?

किनकि मलाई

तिम्रो व्याख्यान पनि सुन्दर लाग्छ।

лллл

 

पहाड उक्लेर, पहाड ओर्लेरबाट साभार।