ईर्ष्याको खेती

? रवीन्द्र समीर

'राजु एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण भयो रे।' यो हल्लाको उत्तर भेटियो Ц'आ ! गरिबको छोराले प्रथम-श्रेणी ल्याएर के भो त ? भारी बोक्छ, हलो जोत्छ....।'

पुस्तै-पिच्छे टुक्रिँदै गएको पुर्ख्यौली खेत बेचेर आफन्तहरूको असहयोग, अवहेलना तथा अङ्कुशे व्यवहार सहँदै राजु तुफानझैँ अगाडि लम्किरह्यो।' ....राजु आइ.एस्सी.मा क्याम्पस प्रथम भयो, विदेशमा पढ्न जाने छात्रवृत्ति पाउने सम्भावना छ रे।' उसको टोलछिमेकका मान्छेहरू सशङ्कित भए- कतै गरिबको छोरो ठूलो मान्छे हुने त होइन ?

पढाइ तथा पेसाको लागि आफ्नो घरबाहिर बसेकाहरूमध्ये धेरैजसो दशैँमा घर फर्किए, तर राजु फर्किएन। गाउँलेहरूले शहरको हालखबर, नेताजी, फूलमाया, साहुकान्छा आदिको सञ्चो-बिसञ्चो सोधे तर सम्भावित बिस्फोटक उत्तरको त्रासदीले राजुको बारेमा सोध्ने हिम्मत गरेनन्।

'राजु पाइलट कोर्स पढ्न अमेरिका गयो रे।' यो हल्ला भूसको आगो झैँ भित्रभित्रै सल्कियो अर्थात् सबैले थाहा पाए तर एकआपसमा सुन्न-सुनाउन सकेनन्।

'....पढ्न गएको राजुले एकवर्ष नपुग्दै दस लाख पठाओ रे।' समाचार नबनाइएको यो समाचारले गर्दा अम्मलीहरूको पनि अम्मल बढ्यो, स्वस्थहरूको पेट पोल्न थाल्यो, धेरैजनाको निद्रा नाश भयो।

'...राजु काठमाडौँ फर्केर ठूलो घर बनायो रे, आकाशमा हवाइजहाज उडाउन थाल्यो रे।' यो हल्लाले त्यसटोलमा अघोषित कर्फ्यु लाग्यो, टोलवासीहरूको वजन मात्र घटेन-मानसिक रोग अवसादले समेत ग्रसित भए।

'...राजुको अर्कै जातकी केटी अर्थात् स्त्रीरोग विशेषज्ञसँग भव्य विवाह भयो रे।' यस पटक मानिसहरू चोक, धारा, विद्यालय तथा चियापसल वरिपरि एकत्रित भएर वर्षौँदेखि बिर्सेको उन्मुक्त हाँसो हाँस्दै हवाइजहाज उडाइरहेको राजुलाई उडाए- 'तल्लो जातकी केटी उडाएछ ? हा ! हा !! हा !!! हा !!!! क्या बिग्रेछ मोरो....?'

ллл

मधुपर्क, २०५६ लघुकथा अङ्कबाट साभार।