पञ्च परमेश्वर

 

? मुन्सी प्रेमचन्द

 

जुम्मन शेख र अलगू चौधरीमा गाढा मित्रता थियो। खेती साझा हुने गर्थ्यो। केही लेन-देनका कुराहरू पनि साझा नै हुने गर्थे। एक-अर्कामा अटल विश्वास थियो। जुम्मन हज गर्न गएका बेला घर अलगूलाई सुम्पेर जान्थे भने अलगू पनि बाहिर जानुपर्दा जुम्मनलाई गर जिम्मा लगाउँथे। उनीहरूमा न खानपानको नाता थियो, न धर्मको, मात्र विचारहरू मिल्थे। मित्रता को मूलमन्त्र पनि त यही हो आखिर।

यस मित्रताको जन्म उनीहरू बालक छँदैदेखि भएको थियो। त्यसबेला जुम्मन का पूज्य पिताजी जुमरातीले उनीहरूलाई शिक्षा प्रदान गर्नुहुन्थ्यो। अलगूले गुरुजीको सेवा निकै राम्ररी गरेका थिए। रिकापीहरू माझेका थिए, कपहरू पखालेका थिए। गुरुजीको हुक्का एकैछिन पनि खाली हुनुहुँदैनथ्यो। त्यसले गर्दा अलगू आधा घण्टा किताबहरूबाट टाडा बस्नु पर्दथ्यो। अलगूका पिताजी पुरानो विचारका हुनुहुन्थ्यो। उहाँलाई शिक्षा भन्दा गुरुको सेवा-सुश्रुषामा बढी विश्वास थियो। उहाँ भन्नुहुन्थ्यो- 'विद्या पढेर आउँदैन, जे आउँछ त्यो त गुरुको आशीर्वादले मात्र आउँछ। गुरुको कृपादृष्टि भए पुग्यो। त्यसैले यदि अलगूमाथि जुमराती शेख को आशीर्वाद या सत्संग को केही फल नभए पनि उसले विद्योपार्जनबाट मैले केही लिन सकिनँ, विद्या मेरो भाग्य मै थिएन भनेर चित्त बुझाउँछ।'

तर जुमराती शेखलाई आशीर्वादमा विश्वास थिएन। उनलाई त आफ्नो लट्ठीमा बढी विश्वास थियो र त्यही लट्ठीको प्रतापले छेउछाउका गाउँहरूमा जुम्मनको धाक थियो। मानिसहरू उनको पूजा गर्थे। उनले लेखेका तमसुकहरूमा या सम्झौता पत्रहरूमा कचहरीको कारिन्दाको कलमले पनि केही गर्न सक्तैनथ्यो। हुलाकको हुलाकी, पुलिसको जवान र तहसीलको चौकीदारले पनि उनको कृपाको आस राख्थे। त्यसैले अलगूको मान र इज्जत उनको धनको कारणले थियो भने, जुम्मन शेख आफ्ना पिता र आफ्नो अनमोल विद्याले नै सबैको आदरपात्र बनेका थिए।

 

 

जुम्मन शेखकी एकजना बूढी सानीमा थिइन्। उनीसँग केही सम्पत्ति थियो तर उनका निकट सम्बन्धिहरू कोही थिएनन्। जुम्मनले नाना थरीका वाचा गरेर त्यो सम्पत्ति आफ्नो नाममा लेखाएका थिए। सम्पत्ति आफ्नो नाममा पास नहुन्जेल सानीमाको राम्रो आदर-सत्कार गरेका पनि थिए। उनलाई मीठो खाना खुवाउँथे। हलुवा र पुलाउको वर्षाझैँ हुन्थ्यो। तर रजिस्ट्रीको छाप ले यी सबै सुविधाहरूमा पनि मानौ छाप नै लगाइदिए। जुम्मनकी पत्‍नी करीमनले रोटीसँग केही तीता र तीखा वचनबाणहरू पनि दिन थालिन्। जुम्मन शेख पनि निष्ठुर भए। अब ती सानीमाले सधैँ यस्ता कुराहरू झेल्नु र सुन्नु पर्थ्यो।

'बूढी अझै कतिन्जेल बाँच्छे होला ! दुई-तीन बीघा बाँझो के दिएकी थिई, सबै मूल्य चुकाएजस्तो। बघारी दाल बेगर रोटी नै निलिँदैन रे। कति रूपैँया यसका पेटमा होमी सक्यौँ, त्यतिमा त गाउँ नै किनिसकिन्थ्यो।'

केही दिन त सानीमाले सुनिन् र सहिन्। तर असह्य भएपछि जुम्मनलाई भनिन्। जुम्मनले स्थानीय कर्मचारी अर्थात् गृहस्वामीनीको व्यवस्थापनमा हस्तक्षेप गर्न उचित सम्झेनन्। केही दिन फेरी रोएरै बित्यो। अन्त्यमा एकदिन सानीमाले जुम्मनसँग भनिन्- "हेर नानी ! तिमीसँग मेरो अब निर्वाह नहुने भो। तिमी मलाई पैसा दिने गर म आफैँ पकाएर खान्छु।"

जुम्मनले धृष्टताका साथ थेत्तरो उत्तर दिए- "पैसा यहाँ फल्छन् र ?"

सानीमाले नम्रता नछोडी भनिन् - "मलाई पनि त रूखो-सुखो केही त चाहियो नि, हैन र ?"

जुम्मनले गम्भीर भएर भने- "त्यसो भए, हामीले तिमीलाई मृत्युसँग कुश्ती खेलेर आएकी सम्झिएका थियौँ कि, के हो ?"

सानीमा रिसाइन्। पञ्चायत बोलाउने धमकी दिइन्। जुम्मन यसरी हाँसे मानौँ कुनै शिकारी मृग जालमा पर्न लागेको देखेर मनमनै हाँस्छ। भने - "ल, ल, बोलाऊ न पञ्चायत। फैसला भैहाल्छ। मलाई पनि यो रातदिनको खटपट मन पर्दैन।"

पञ्चायतमा कसको जीत हुन्छ भन्ने बारेमा जुम्मनलाई कुनै शङ्कै थिएन। छेउछाउका गाउँमा उनको अनुग्रहको ऋणी या उनलाई शत्रु बनाउन चाहने मान्छे को थियो र ? कसमा त्यत्रो आँट थियो जसले उनको सामना गर्न सकोस् ? कसको साहस थियो ? आकाशबाट दूतहरू त पक्कै पञ्चायत गर्न आउँदैनन्।

 

 

त्यसदिन पछि धेरै दिनसम्म बूढी सानीमा हातमा लट्ठी लिएर छेउछाउका धेरै गाउँहरू चाहारिरहिन्। कम्मर निहुरिएर धनुष भैसकेको थियो। एक पाइला हिँड्न पनि गाह्रो हुन्थ्यो तर के गर्ने कुरै त्यस्तै थियो, निर्णय गर्नुपर्ने थियो।

कुनै यस्तो व्यक्ति थिएन होला जसका सामुन्ने बूढियाले आँसु नबगाएको होस्। कसैले त मुखले हाँ-हूँ गरेर टारीदिए भने कसैले उनलाई परेको अन्याय माथि संसारभरीकै गाली बर्साए। भन्थे - 'चिहानमा खुट्टा झुन्डिइसके, आज मरेभने भोलि दुई दिन हुन्छ तर अझै हवस् चाहिए गएको छैन। तिमीलाई के पो चाहिन्छ र ? रोटी खाऊ र अल्लाह को नाम लेऊ। तिमीलाई खेती-सेती को के काम ?' कतिपय यस्ता सज्जनहरू पनि थिए जसलाई हास्य-रसको रस-स्वादनको राम्रो मौका फेला परेको थियो। झुकेको कम्मर, थोते मुख, सनपाटजस्तो कपाल जस्ता सामग्रीहरू एकैँ ठाउँ भए कसलाई हाँसो नउठोस्। त्यस्ता न्यायप्रिय, दयालु, दीन-वत्सल पुरुषहरू कमै थिए जसले ती अबलाका कुराहरू ध्यानले सुनेका हुन् वा सान्त्वना दिएका हुन्। चारैतिरबाट घुमेर बिचरी अलगू चौधरीकहाँ आइन्। लट्ठी फ्याँकेर सास तान्दै भनिन्- "नानी, तिमी एकछिनलाई भए पनि मेरो पञ्चायतमा आऊनू।"

"मलाई बोलाएर के गर्नुहुन्छ ? गाउँका कैयन् मान्छे आइहाल्छन्।"

"आफ्नो आपद त सबैलाई भनेर आएँ। अब आउने नआउने जिम्मा उनीहरूको।"

"आउन चाहिँ आउँछु तर केही बोल्दिनँ।"

"किन नानी ?"

"अब के भनूँ ? मेरै खुसीको कुरा हो। जुम्मन मेरो पुरानो साथी हो। ऊसित नराम्रो गर्न सक्तिनँ।"

"नानी, के यही नराम्राको डरले इमानको कुरा पनि गर्दैनौ ?"

हाम्रो सुशुप्त अवस्थामा रहेको धर्म-ज्ञानको सम्पत्ति लुटिएको त हामी चाल पाउँदैनौँ तर अलिकति कसैले हप्कायो भने हाम्रो धर्म-ज्ञान सचेत हुन्छ र जाग्छ। त्यसपछि त धर्म-ज्ञानलाई कसले जित्‍न सक्छ र ? अलगूले यस प्रश्नको जबाफ दिन सकेनन् तर उनका हृदयमा यी शब्दहरू गुन्जिरहे - के यही नराम्राको डरले इमानको कुरा पनि गर्दैनौ ?

 

 

बेलुका एउटा रूखको छहारीमा पञ्चायत बस्यो। जुम्मनले पहिले नै बस्ने ठाउँको व्यवस्था गरेका थिए। त्यसका साथै पान, अलैँची, हुक्का-तमाखू आदिको व्यवस्था पनि गरेका थिए। तर उनी आफैँ चाहिँ अलगूसित केही पर गएर बसेका थिए। कोही पञ्यायतमा सामेल हुन आएमा सानो स्वरमा स्वागत गर्थे। सूर्यास्त भएपछि, चराहरूको सङ्गीतयुक्त पञ्चायत रूखमा बस्नासाथ रूखमुनि पनि मानिसहरूको पञ्चायत सुरु भयो। भुइँको प्रायः सबै भाग दर्शकले भरिएको थियो। आमन्त्रित महाशयहरूमा प्रायः उनीहरूको मात्र बहुलता थियो, जो जुम्मनको शेखी झरेको हेर्न चाहन्थे। एउटा कुनामा आगो बलिरहेको थियो। नाई धमाधम चिलिम भरिरहेको थियो। बलिरहेको आगाको धुवाँ धेरै थियो या चिलिमबाट निस्केको निर्क्यौल गर्न गाह्रो थियो। केटाकेटीहरू यताउति कुदिरहेका देखिन्थे। कोहीकोही त गालीगलौज गर्दै रोइरहेका पनि थिए। चारैतिर कोलाहल थियो। गाउँका कुकुरहरू पनि यस जमघटलाई भोजभतेर ठानेर होला, समूह का समूह भेला भएका थिए।

पञ्चहरू बसिसकेपछि बूढी सानीमाले बिन्ती बिसाइन् – "पञ्चहरू, तीन वर्ष भयो, मैले मेरो सारा श्रीसम्पत्ति दिदीको छोरा जुम्मनको नाममा नामसारी गरिदिएकी थिएँ। उनलाई तपाईँहरू चिन्नु नै हुन्छ। जुम्मनले म बाँचुन्जेल सम्म रोटी-कपडा दिने वाचा गरेका थिए। एक वर्ष त मैले जसोतसो यिनीकहाँ गुजारा गरेँ। तर रातदिन रोएर त बिताउन सकिँदैन। मलाई न पेटभरि रोटी दिएका छन् न आङभरि कपडा। विवश बिधवा छु। अड्डा अदालत धाउन सक्तिनँ। तपाईंहरूबाहेक अरू कसलाई आफ्नो दुःख सुनाऊँ ? तपाईँहरूले जे उपाय निकाल्नुहुन्छ, त्यसैमा म राजी हुनेछु। मेरो कुनै दोष देख्‍नुहुन्छ भने थप्पड हान्नु होला। जुम्मनको दोष देख्‍नुहुन्छ भने, उसलाई सम्झाउनुहोस्, किन एउटी विवश विधवालाई सताउँछौँ भनेर। म पञ्चहरूको आज्ञा शिरोपर गर्छु।

रामधन मिश्र जसका कैयौँ आसामीहरूलाई जुम्मनले आफ्नो गाउँमा बसाएका थिए, भन्न थाले- "जुम्मन मियाँ, भन कसलाई प्रधानपञ्च नियुक्त गर्छौ ? अहिले नै निधो गरिहाल। अनि जेजसो पञ्चले भन्नेछन् त्यो मान्नुपर्छ।"

जुम्मनले त्यहाँ उपस्थित व्यक्तिहरूमा तिनै मात्र देखिरहेका थिए जसको कुनै न कुनै कारण उनीसँग वैमनस्य थियो। भन्न लागे- 'पञ्चहरूको आदेश अल्लाहको आदेश हो। सानीमाले जसलाई नियुक्त गर्नुहुन्छ गर्नुहोस्। मलाई त्यसमा केही आपत्ति छैन।"

सानीमा चिच्याइन्- "अरे अल्लाहको सन्तान ! प्रधानपञ्चको नाम बताइदे न। मलाई पनि केही थाहा होस्।"

जुम्मन पनि क्रोधित भए- "अब यतिखेर मलाई मुख खोल्न बाध्य नगराऊ। जसलाई मन लाग्छ प्रधानपञ्च बनाऊ।"

सानीमाले जुम्मनको आक्षेप बुझिन् र भनिन् – "नानी, खुदासँग डराऊ। पञ्च न कसैका मित्र हुन्छन् न कसैका शत्रु। कस्तो कुरा गर्छौ ? तिम्रो कसैमाथि विश्वास छैन भने, ठीकै छ, अलगू चौधरीलाई त मान्छौ होला नि ? म उनैलाई प्रधानपञ्च नियुक्त गर्छु।"

जुम्मन शेख खुसीले फुलेल भए तर भावहरूलाई लुकाउँदै भने- "ठीकै छ, अलगू नै सही। मेरा लागि को रामधन, को अलगू।"

तर अलगू यस मामलामा फस्न चाहँदैनथे। उनले टार्न खोजे- "सानीमा, तपाईँलाई थाहै छ मेरो र जुम्मनको कति गाढा मित्रता छ।"

सानीमाले गम्भीर स्वरमा भनिन्- "नानी, मित्रताका लागि कसैले आफ्नो इमान बेच्तैन। पञ्चहरूको हृदयमा खुदा बसेका हुन्छन्। पञ्चका मुखबाट जे निस्कन्छ त्यो खुदाको वाणी हुन्छ।"

अलगू चौधरी प्रधानपञ्च नियुक्त भए। रामधन मिश्र र जुम्मनका विरोधीहरूले बूढियालाई सराप्नु सरापे।

अलगू भन्न लागे- "शेख जुम्मन ! तिमी-हामी पुराना मित्र हौँ। मेरो आवश्यकतामा तिमीले मद्दत गर्‍यौ र तिमीलाई खाँचो पर्दा मैले पनि जसरी सकेँ सघाएँ। तर यति बेला तिमी र तिम्री बूढी सानीमा मेरा लागि बराबर हौ। तिमीलाई पञ्चहरूसमक्ष जे बिन्ती बिसाउनु छ बिसाऊ।"

जुम्मनलाई बाजी जित्छु भन्ने पूरा विश्वास थियो। अलगूले यी सब कुरा देखाउनका लागि मात्र गरेका हुन् भन्ने उनलाई लागेको थियो। त्यसैले उनी शान्तचित्त भएर भन्न लागे- "माननिय पञ्चहरू, सानीमाले तीन वर्ष पहिले मेरो नाममा आफ्नो जायजेथा लेखाएको कुरा सत्य हो र मैले उनी बाँचुन्जेल खान-लाउन दिने कुरा पनि कबुल गरेको हुँ। खुदा साक्षी छन्, आजसम्म मैले सानीमालाई कुनै दुःख दिएको छैन। म उनलाई आमासमान मान्छु, उनको सेवा गर्नु मेरो कर्तव्य हो। तर आइमाईहरूको खटपटमा मेरो के दोष र, सानीमा मसित मासिक खर्च अलग्गै माग्नुहुन्छ। सम्पत्ति जे छ त्यो त पञ्चहरूबाट लुकेको छैन। मासिक खर्च दिनसक्ने गरी मेरो आम्दानी र मुनाफा नै हुँदैन। यसदेखि बाहेक सम्झौतापत्रमा कुनै मासिक खर्चको उल्लेख गरिएको छैन। म त बिर्सेर पनि यस झमेलामा पर्न चाहन्नथेँ। मेरो भनाई यति नै हो। बाँकी पञ्चहरूको अधिकार हो, जे फैसला गर्नुहुन्छ।"

अलगू चौधरीलाई अदालतमा काम परिरहन्थ्यो, त्यसैले उनी पक्का कानुनी मान्छे थिए। उनले जुम्मनसँग बहस सुरु गरे। हरेक प्रश्नले जुम्मनका हृदयमा मार्तोलले हिर्काएझैँ गरेझैँ चोट गर्थे। अर्कातिर रामधन मिश्र यी प्रश्नहरूबाट अत्यन्त हर्षित भइरहेका थिए। जुम्मन तीन छक्क थिए, यो के भएको अलगूलाई ? एकछिन अगाडि त मसँग बसेर कस्ता कुरा गरेका थिए। यति छिटै यो कस्तो कायापलट भयो, मेरो त जरै उखेल्न तमतयार छन्। कहिलेको बदला लिएका हुन्। यत्रो दिनको मित्रता केही काम लाग्दैन त ?

जुम्मन शेख यस्तै विचार-कुविचारका बीच हराएका बेला अलगू चौधरीले फैसला सुनाए- "जुम्मन शेख, पञ्चले यस बारेमा विचार गरेपछि यही कुरा नीतिसङ्गत ठानेको छ कि सानीमालाई मासिक खर्च दिनु नै उचित हुन्छ। हाम्रो विचारमा सानीमाको जायजेथाबाट उनलाई मासिक खर्च दिन पुग्ने गरी मुनाफा त अवश्य नै हुन्छ। बस यही नै हो हाम्रो फैसला। यदि जुम्मनलाई यो फैसला मन्जुर छैन भने या उनी खर्च दिन चाहँदैनन् भने, सम्झौतपत्र रद्द भएको मानिनेछ र सानीमाको जायजेथा उनकै नाममा सार्नुपर्नेछ।"

फैसला सुनेर जुम्मन छाँगाबाट खसेझैँ भए। आफ्नो मित्रले नै शत्रुको व्यवहार गरेर घाँटीमा छुरा चलाएपछि, यसलाई हेरफेर नभनेर के भन्नु ? जसमाथि पूरा भरोसा थियो उसैले धोका दियो। यस्तै बेला हो मित्रताको परीक्षा हुने। सच्चा मित्र र शत्रु पत्ता लाग्ने। यही हो कलियुगको मित्रता। यदि मान्छे यस्ता कपटी र धोखेबाज नहुँदा हुन् त देशभरि बिपत्तीको प्रकोप किन हुन्थ्यो होला र ? यी हैजा र प्लेगका बिमारीहरू पनि यस्तै दुष्कर्मका फल त हुन् नि।

तर रामधन मिश्र र अन्य पञ्चहरूले यो नीति-परायणता को प्रशंसा मन खोलेर गरिरहेका थिए। भन्दै थिए – "यसैको नाम पञ्चायत हो। दूधको दूध, पानीको पानी गरिदिए। मित्रता, मित्रताकै लागि ठीक तर धर्मको पालन मुख्य हो। यस्तै सत्यवादीहरूको बलमा पृथ्वी अडिएको छ, नत्र उहिलै रसातलमा भासिइसक्थ्यो।"

यस फैसलाले अलगू र जुम्मनको मित्रताको जरा हल्लाएको थियो। अब उनीहरू सँगै बसेर कुराकानी गरिरहेका भेटिँदैनथे। यति पुरानो मित्रताको वृक्षले सत्यको एउटा सानो झोँका पनि सहन सकेन। साँच्चै त्यो बालुवा मै गाडिएको भान हुन्थ्यो।

उनीहरूमा धेरै व्यवहार अब शिष्टाचारमा सीमित भयो। एकले अर्काको स्वागत र मान सकेसम्म धेरै गर्थे। उनीहरू एक अर्कालाई भेट्थे तर तरबार र ढाल जस्तै थियो उनीहरूको भेटघाट।

जुम्मनका हृदयमा मित्रको कुटिलता सधैँ बिझाइरहन्थ्यो। उनलाई हरेक क्षण कसरी बदला लिने भन्ने मात्र ध्याउन्न हुन्थ्यो।

 

 

राम्रो काम फत्ते गर्न निकै समय लाग्छ तर नराम्रा कामहरू छिटै हुन्छन्। जुम्मनलाई पनि बदला लिने अवसर छिटै प्राप्त भयो। गएको वर्ष बटेसरबाट अलगू चौधरीले एक जोडी गोरू मोल गरेर ल्याएका थिए। ती गोरू पछाहीँ जातिका राम्रा र लामा सिङ भएका गोरू थिए। महिनौँसम्म छेउछाउका गाउँबाट मानिसहरू ती गोरूहरूलाई हेर्न आइरहन्थे। दैवसंयोग जुम्मनको पञ्चायतको एक महिना पछाडि जोडी मध्येको एउटा गोरू मर्‍यो।

जुम्मन साथीहरूसँग भन्दै हिँड्न थाले- "यो धोकाबाजीको सजाय हो। मान्छेले सहे पनि खुदाले भलो-कुभलो सबै हेर्छन्।'' अलगूलाई शङ्का लाग्यो कतै जुम्मनले त गोरूलाई विष खुवाइदिएन ? चौधराइनले पनि जुम्मनलाई नै यस घटनाको दोष दिइन्। भनिन्- "पक्कै जुम्मनले केही गरेको हुनुपर्छ।" चौधराइन र करीमनको यसै विषयमा एक दिन झैझगडा पनि भयो। दुवै देवीहरूले शब्दहरूको नदी नै बगाए। व्यङ्ग्य, वक्रोक्ति, अन्योक्ति र उपमा आदि अलङ्कारयुक्त भाषामा कुरा भए। जुम्मनले कुनै तरिकाले शान्ति स्थापित गरे। उनले आफ्नी जहानलाई हप्काएर सम्झाए र रणभूमिबाट फिर्ता पनि बोलाए। उता अलगू चौधरीले चाहिँ सम्झाउने काम तर्कको चाबुकले गरे।

अब एक्लो गोरू के कामको ? जोडी धेरै खोजियो तर कतै पाइएन। अन्त्यमा समस्याको निदान एक्लो गोरू बेच्नुमा नै देखियो। गाउँमा एकजना समझू साहू रहने गर्थे। उनी एक्का गाडी हाँक्थे। गाउँबाट शख्खर-घिउ आदि ल्याएर मन्डीमा बेच्थे र मन्डीबाट तेल-नून गाउँमा लगेर बेच्थे। त्यस गोरूमा उनको नजर पर्‍यो। उनले सोचे- 'यो गोरू हात लाग्यो भने दिनभरिमा तीन खेप त सजिलै खेप्न सकिन्छ। अचेल त एकै खेप पनि भ्याइँदैन।' गोरू हेरे, गाडीमा राखे, कुदाए, दाँत बङ्गारा हेरे, भाऊ गरे र आँगनमा ल्याएर बाँधे। एक महिनाभित्रमा दाम चुक्ता गर्ने वाचा थियो। चौधरीलाई पनि आवश्यकता थियो, त्यसैले घाटाको वास्ता गरेनन्।

समझू साहूले गोरू लिए र थाले एक्कामा जोत्‍न। उनी एकै दिनमा तीन-तीन, चार-चार खेप गर्न थाले। न घाँस-दानाको फिक्री न पानीको, फिक्री थियो त केवल खेपको। मन्डी लान्थे र सुकेको भुस अगाडि फ्याँक्थे। बिचरा एक्लो गोरू एकछिन पनि बिसाउन पनि नपाई फेरि जोतिइहाल्थ्यो। अलगूका घरमा त गोरूहरू सुखको बाँसुरी बजाउँथे। बारीमा जोतिनु भनेको कहिलेकाहीँ या पाँच-छ महिनामा एकपल्ट मात्र हुन्थ्यो। दिनभरि निकै खेल्ने-कुद्‌ने गर्दथे। त्यहाँ दाना थियो, सफा पानी, दलेको रहरको दाल, र भुससित पीना पनि पाइन्थ्यो। कहिलेकाहीँ त घिउको स्वाद पनि चाख्‍न पाइन्थ्यो। बिहान-बेलुका एउटा मान्छेले जीउ कोरीदिन्थ्यो, पुछिदिन्थ्यो र मालिस गरिदिन्थ्यो। कहाँ त्यो सुखचैन कहाँ यो आठै प्रहरको खटाई। एक महिनाभरिमा नै ऊ पिल्सिइसकेको थियो। एक्काको जुवा देख्‍ने बित्तिकै उसको रगत सुक्थ्यो। एक पाइला चाल्न पनि उसलाई कठिन थियो। हड्डी निस्किएका थिए, तर पनि उसमा दम थियो, पिटाइ खासै सहनु परेको थिएन।

एक दिन चौथो खेपमा साहूले दोब्बर भारी लादे। दिनभरिको कामले गलेको जनावर, खुट्टै उठ्तैनथे। तर साहूजीले कोर्रा बर्साउन थाले। बस, गोरू कलेजो फुट्नेगरि कुद्यो। केही पर गएर रोकिऊँ कि भन्ने चाह्यो तर साहूलाई छिटो पुग्ने हतारो थियो। उनले निर्दयताका साथ निकै कोर्रा बर्साए। उसले फेरि एकपल्ट जोड लगायो तर यसपल्ट उसको शक्तिले भ्याएन। ऊ भुइँमा ढल्यो र यसरी ढल्यो कि फेरि उठ्न सकेन। साहूले निकै पिटे, खुट्टा पक्रेर ताने, नाकका पोरामा लठ्ठी घुसाए तर कहीँ केही भएन। कतै मृतक पनि उठ्न सक्छ र ? तब साहुजीलाई केही शङ्का लाग्यो। आफ्नो गोरूलाई राम्ररी हेरे, खोलेर अलग पारे र कसरी एक्का घर पुर्‍याउने भनेर सोच्न लागे। निकै हल्ला गरे, कराए पनि। तर गाउँको बाटो ससाना नानीहरूको आँखासरह साँझ पर्ने बित्तिकै बन्द भैहाल्थ्यो। कोही देखिएन। छेउछाउमा कुनै गाउँ पनि थिएन। रिसले चूर भएर मरेको गोरूलाई अरू कोर्रा हान्दै सराप्न थाले- 'हे अभागी ! तलाईँ मर्नु नै थियो भने घर पुगेर मर्थिस् होला नि ! साले बीचैमा मरिस। अब यो एक्का कसले तान्छ ?' यस्तै भन्दै साहूजी निकै भुन्भुनिँदै रहे। कैयौँ बोरा शख्खर र कैयन् पिपा घिउ उनले बेचेका थिए। अढाई सयजति रूपियाँ कम्मरमा बाँधेका थिए। त्यसबाहेक गाडीमा कैयौँ बोरा नून थियो, त्यसैले छोडेर जान पनि सक्तैनथे। लाचार भएर बिचरा त्यही एक्कामा पसारिए। त्यहीँ जाग्राम बस्ने निधो गरे। चिलिम पिए, गाए। त्यसपछि फेरि हुक्का पिए। यसरी साहूजीले आधारात बिताए। आफ्नो हिसाबमा त उनी जाग्राम नै थिए तर बिहान झिसमिसेमा आँखा खुल्दा कमरमा हात राखे, थैली त गायब। हडबडाएर यताउति हेर्न थाले, तेलका कैयन् टिनहरू पनि थिएनन्। पछुतो गर्दै टाउको ठोके र एका बिहानै रूँदै चिच्याउँदै घर पुगे। साहूनीले नराम्रो घटना सुनिन्, पहिले त रोइन् तर फेरि एकछिनमा अलगू चौधरीलाई सराप्न थालिन्- 'बेकामेले यस्तो कुलच्छिन गोरू दिएछ, हरे.. जन्म भरिको कमाई लुटियो..।'

निकै महिना बितेपछि अलगू आफ्नो गोरूको दाम माग्न जाँदा साहू र साहूनी दुवै झर्किएको कुकुर झैँ जाइलागे र अन्टसन्ट बक्न थाले – "वाह ! आफ्नू जन्मभरिको कमाई लुटियो, सत्यानाश भयो, यहाँलाई चाहिँ दाम चाहियो। मुर्दा गोरू दिएर त्यसमाथि दाम। आँखामा छारो हालेर सत्यानाशी गोरू भिराएर हामीलाई मूर्ख ठानेको होला। हामी पनि ब्यापारीका छोरा हौँ, त्यस्ता मूर्ख अरू कतै होलान्। पहिले गएर कुनै खाल्डामा मुख धोएर आऊ, अनि दाम लिनू। अझ भएन भने हाम्रो गोरू लैजाऊ, महिनाको साटो दुई महिना जोत। अरू के लिन्छौ हामीबाट ?"

चौधरीका अशुभचिन्तकहरूको कमी थिएन। यस्तै बेला तिनीहरू पनि भेला हुन्थे र साहूजीको दोषारोपणको पुष्टि गर्थे। तर त्यत्तिकै डेढ सय रूपैयाँ खेर फाल्नु सजिलो थिएन। एकपल्ट उनी पनि तात्तिए। साहूजीलाई पनि झ्वाँक चल्यो, लौरो खोज्न हिँडे। अब मैदान साहूनीले हातमा लिइन्। प्रश्नोत्तर हुँदाहुँदै हात हालाहालमा कुरा पुग्यो। साहूनीले घरभित्र छिरेर झ्यालढोका बन्द गरिन्। हल्ला सुनेर गाउँका भद्रभलाद्मी जम्मा भए। दुवैलाई सम्झाए। साहुजीलाई पनि दिलासा दिएर बाहिर निकाले। उनीहरूले भने –'यसरी कसरी हुन्छ ? पञ्चायत बोलाऊ। जे हुन्छ पञ्यायतमा त्यही स्वीकार गर।' समझू साहू राजी भए र अलगूले पनि सहमति जनाए।

 

 

पञ्चायतको तयारी हुन थाल्यो। दुवै पक्षले आआफ्नो समूह बनाउन थाले। तीन दिन पछि त्यसै रूखमुनि पञ्चायत बस्यो। बेलुका कै समय थियो। खेतमा कागहरूको पञ्चायत थियो।  उनीहरूको विषय विवादास्पद थियो – मटरको फलमाथि उनीहरूको अधिकार छ कि छैन ? यो विवादको हल नभएसम्म उनीहरू चौकीदार कराउँदा आफ्नो अप्रशन्नता प्रकट गर्नु आफ्नो कर्तव्य सम्झिन्थे। र रूखमाथि बसेका सुगाहरूमा यो विवाद थियो कि मान्छेले उनीहरूलाई अविवेकी भन्ने अधिकार छ कि छैन जब कि मान्छेहरू आफ्नै मित्रलाई धोका दिन अलिकति पनि सङ्कोच हुँदैन।

पञ्चायत बसेपछि रामधन साहूले भने- 'अब ढिलो किन त? पञ्चहरूको नियुक्ति भैहालोस्। भन चौधरी कसलाई क-कसलाई पञ्च नियुक्त गर्छौ ?'

अलगूले दीन भावले भने- 'समझू साहू नै छानून्।'

समझू उठेर कड्किएर भने- 'मेरो तर्फबाट जुम्मन शेख।'

जुम्मनको नाम सुन्ने बित्तिकै अलगू चौधरीको कलेजो काम्यो, कसैले अचानक थप्पड हिर्काएझैँ भयो। रामधन अलगू चौधरीका मित्र थिए। उनले कुरा बुझे। भने – 'के हो चौधरी तिमीलाई केही आपत्ति त छैन नि ?'

चौधरीले निराश भएर भने- 'छैन, मलाई केही आपत्ति छैन।'

«««

आफ्नो उत्तरदायित्वको बोध बहुधा हाम्रा सङ्कुचित व्यवहारहरूको सुधारक हुनसक्छ। जब हामीले बाटो बिराएका हुन्छौँ तब त्यही ज्ञान हाम्रो विश्वशनीय पथप्रदर्शक हुन्छ।

समाचार पत्रको सम्पादकले आफ्नो शान्ति कुटीमा बसेर कति धृष्टता र स्वतन्त्रताका साथ आफ्नो लेखनीले मन्त्रीमन्डललाई आक्रमण गर्छ तर उसलाई यस्ता अवसर पनि आउँछन् जब ऊ पनि मन्त्रीमन्डलमा सामेल हुन्छ। मन्त्रालयका भवनमा खुट्टा हाल्ने बित्तिकै उसको लेखाई मार्मिक, विचारशील र न्यायपूर्ण हुन्छ। यसको कारण पनि उत्तरदायित्त्वको बोध नै हो। नवयुवकहरू पनि युवावस्थामा उद्दन्ड हुन्छन्, आमा-बाबुलाई चिन्तित पार्छन्। तिनीहरूको उद्दन्डतालाई कुलको कलङ्क मानिन्छ तर उनीहरूले केही दिनमै परिवारको जिम्मेवारी लिएपछि ती अव्यवस्थित उन्मुक्त हृदयका युवकहरू पनि कति धैर्यवान्, शान्तचित्त हुन्छन् र आफ्नो उत्तरदायित्वको बहन गर्छन्।

जुम्मन शेखका मनमा पनि प्रधानपञ्चको गरिमामय पद ग्रहण गर्ने बित्तिकै गहन जिम्मेवारीको बोध भयो। उनलाई आफू त्यसबेला न्याय र धर्मको सर्वोच्च आसनमा बसेजस्तो लाग्यो। उनले यतिबेला आफ्नो मुखबाट निस्कने बोली देववाणी समान हुने कुराको बोध गरे। ती वाणीमा आफ्ना मनोविकारहरूको कुनै स्थान हुनु नहुने, सत्यबाट तिलजति पनि पर हट्नु नहुने कुरा उनले सम्झिए।

दुवै पक्षका तर्कहरू, सवाल-जबाफ प्रस्तुत भए। थुप्रै बेरसम्म दुवै पक्षले आआफ्ना तर्कहरूको पुष्टि गरिरहे। समझू साहूले मूल्य तिर्नुपर्नेमा सबै पञ्चहरू सहमत थिए। दुईजना महाशयहरूले गोरू मरेर समझूलाई हानी भएकाले केही छूट दिनुपर्छ भन्ने कुरा राखे। उचित साँवाको अतिरिक्त समझूलाई पशुप्रति निर्दयी भएकामा अझै अरू दन्ड पनि दिनुपर्छ भन्ने पनि कुरा उठ्यो। यिनै तर्कका बीचमा जुम्मनले फैसला सुनाए-

'अलगू चौधरी र समझू साहू ! पञ्चहरूले तिमीहरूको मुद्दामा राम्ररी विचार गरेका छन्। समझूले गोरूको पूरा मूल्य तिर्नुपर्छ। जतिबेला तिमीले गोरू किनेका थियौ, त्यसबेला गोरू बिमारी थिएन। त्यतिबेलै पैसा तिरेको भए यो कुरा उठ्ने नै थिएन। गोरूको मृत्युको एकमात्र कारण उसलाई अत्यधिक परिश्रम गराएर घाँस-चाराको राम्रो प्रबन्ध नगरेको देखिन्छ।'

रामधन मिश्रले भने- 'समझूले गोरू जानीजानी मारेकाले, उसले अरू सजाय पनि स्वीकार गर्नै पर्छ।'

जुम्मनले भने- 'यो अर्कै कुरा हो। हामीलाई यो कुरासँग कुनै सरोकार रहेन।'

झगडू साहूले पनि मुख खोले- 'समझूलाई केही छूट त होस्। उसको पनि नोक्सानी भएको छ।'

जुम्मनले भने- 'यो कुरा अलगू चौधरीले निर्णय गर्ने हो। उहाँले छूट दिए उहाँ नै भलाद्मी।'

अलगू चौधरी खुसीले फुरूक्क भए। उभिएर ठूलो स्वरमा भने- 'पञ्च परमेश्वरको जय।'

यसका साथै चारैतिर प्रतिध्वनि भयो- 'पञ्च परमेश्वरको जय।'<