घर

? परशु प्रधान

यौटा अत्यन्त कठिन, पीडादायी र त्रासदपूर्ण निर्णय लिनुपर्नेछ। रातरभरि मनमा अनेकौँ लहरहरू आए, गए। ज्यान गए निद्रा परेको होइन। जीवनमा यस्तो स्थिति पनि व्यहोर्नुपर्ला भन्ने सपनामा पनि थिएन। केटाकेटी पल्लो कोठामा छन्, श्रीमती मसितै एउटै बिछ्यौनामा घुरिरहेकी छे। म भने आफूलाई कहिले भुटानी शरणार्थीसँग तुलना गर्छु, कहिले प्यालेस्टिनीसित। उसलाई उठाऊँ र यो हाम्रो जीवनको महत्त्वपूर्ण निर्णयमा सहभागी गराऊँ भन्छु तर सक्तिनँ। मलाई थाहा छ – राति एक पटक ब्यूँझेपछि फेरि कुनै हालतमा उसलाई निद्रा पर्दैन। म भने कालो आकाशको कुनै एक टुक्रा बादल भएको छु, विकट पहाडको टाढाको कुनै एक थुम्को भएको छु।

हाम्रो बिहे हुनासाथ सविताले भनेकी थिई- 'म त बघिनी हुँ, सहरमा जहाँ भए पनि मलाई आफ्नै ओडार चाहिन्छ।' मैले आत्मविश्वासका साथ उसलाई वचन दिएको थिएँ- 'तिम्रो सपना मेरो पनि सपना हो। अब तिम्रो आकाङ्क्षा मेरो पनि आकाङ्क्षा हो सविता ! म पनि जीवनभर शरणार्थी भएर कहाँ बस्छु र !'

त्यही पहिलो रातको पहिलो वचन छिट्टै पूरा गर्न मैले केही थप विद्यालयहरू खोजेँ, थप ट्युसन सेन्टरहरू खोजेँ। बिहान पाँच बजेदेथि राति एघार बजेसम्म सहरको टोलटोल, कुनाकुना नाप्तै हिँडे। सविताले प्राथमिक विद्यालय मात्र भ्याइन, करेसाबारी पनि समाली घरबेटीकै भए पनि। काउली र मूलाका बोटहरूमा उसले आफ्नो सपनाको फूल फुलाई। मैले गाइड, नोटबुक, की, सहयोगी, पूरक, निश्चित सफलता आदि धेरै तयार गरेँ। कुन बिहान हो र कुन बेलुकी ! कुन आरामको समय हो र कुन निद्राको ! मैले थाहा पाइनँ। त्यस सानो सहरको एउटा नजिकको खोलाछेउमा घरघडेरीका निमित्त जग्गा वा माटोको कुरा आयो।

शनिबारको कुनै बिहान हामी दुवै जना त्यहाँ पुग्यौँ। नाम मात्रको, फोहोर खोलाको छेउमा प्लटिङ गरेको चार आनाको टुक्रा हेर्‍यौँ- दाम पनि चार लाख मात्र। केही टाढा भए पनि त्यस टुक्रालाई हामीले मन परायौँ। तुरुन्तै एक लाख बैना पनि गर्‍यौँ। सगरमाथा चढेको भन्दा ठूलो खुसीको अनुभूति भयो। साथीभाइले बधाईमात्र दिएनन् ससानो ककटेल नै भ्याए। मेडमका साथीहरूले यस उपलक्ष्यमा खाजा खाए।

जग्गाको बाँकी तीन लाख र पासखर्च समेत लगभग साढे तीन लाखको भुङ्ग्रोमा हामी पिल्सिन लाग्यौँ। सविताको माइतीबाट आएका गरगहना बेचिए। साथीभाइसँग थोरबहुत सापटी लिइयो। फाइनान्स कम्पनीको ऋण पनि महङ्गो ब्याजमा बाँकी राखिएन। अनि घरको नक्साको चक्कर पनि लाग्यो। पहाडमा उकालो चढेको, रूखको टुप्पामा पुगेको, पोखरीमा पौडी खेलेका सपनाहरू पनि देखिए। मरिमेटेर बल्लतल्ल पास गर्न मालपोत जाँदा नापीका खुङ्खारहरूले भनिदिए- 'यो जग्गा त खोलाभित्र पर्छ। कहाँबाट घडेरी हुनु र तपाईँले घर बनाउनु माड्साप !'

हामी दुवै छाँगाबाट खसेजस्ता भयौँ। हाम्रो जीवनमा यहाँभन्दा भुइँचालो जाने अरू के सङ्कष्ट हुन्थ्यो र त्यही अड्डामा एउटा भगवान निस्क्यो- 'यसो धूपधुँवार गर्नुपर्छ, खोलाको जग्गा माथि निकाल्न सकिन्छ।'

'कतिसम्ममा होला.....।' ममा आशाको किरण देखा पर्‍यो।

'बलिया दस हात्ती नभई पानीभित्रको जग्गा माथि आउला र !' पान खाएको घीनलाग्दो कालो दाँत देखायो। मालाई साक्षात् राक्षसजस्तो लाग्यो।

'पाँचसम्म गरौँ न। अझ चार दिशामा चार हात्ती भए पुग्नु पर्ने हो !' मैले सङ्केतमा बोलेँ। कविहरू यसैलाई प्रतीक भन्छन् क्यार !

 त्यही बेला पानीमा डुबेको चार आनाको टुक्रो डुबेको डुब्यै भएको भए थप सङ्कल्पहरू आउने थिएनन् की ! फुलिसकेका सपनाका फूलहरू यसरी धुजाधुजा भएर च्यातिने थिएनन् कि ! कसले टार्न सक्ने र कालगतिलाई, सङ्कष्टलाई।

फेरि शनिबारको कुनै बिहान हामी दुवै त्यस माटोमा पुग्यौँ। त्यहाँको एक मुठी माटो लिएर कुनै ज्यतिषीकहाँ पुग्नु थियो। हामीलाई देखेर केही भद्रभलाद्मीहरू आइपुगे। एक किसिमले हामी डरायौँ पनि।

'तपाईँले यो टुक्रा लिनुभएको ?' कसैले सोध्यो। मैले स्वीकृतिको टाउको हल्लाएँ।

'केकति हाल्नुभयो ?' अर्काले प्रश्न गर्‍यो।

'आनाको एक लाख।'

'बढी हाल्नुभयो। यहाँ आनाको पचास हजारभन्दा बढी कहाँ चलेको छ र !' अर्काले जानकारी दियो। मसँग यसको केही जबाफ थिएन।

'कोसँग लिनुभयो ? त्यही राजावादी जङ्गवीरसित ? सामन्ती संस्कारको मान्छे, ठाडै ठगेछ फटाहाले !'

मसित यसको पनि केही जबाफ थिएन। अब सविताले भनी- 'अब लिइहालियो, जेजति परे पनि। सस्तोमहँगो जे भने पनि हाम्रो के लाग्छ र !'

'त्यसो भनेर कहाँ हुन्छ र मैडम ! हाम्रो एरियामा आउँदा हामीलाई पनि त जानकारी हुनुपर्छ।' एउटा युवा जोसियो। मैले कुरा बुझेँ।

'यस्तो कुरा हामीलाई थाहा थिएन। अब जग्गा लिइहालियो.... घर पनि छिट्टै बनाऔँ भनेको....! ' मैले समस्याको समाधान गर्न खोजेँ- 'यहाँ बस्ने भएपछि अब यहाँ छरछिमेकीले भन्नुभएका कुराहरू हामीले मान्नैपर्छ नि। अब के गर्नुपर्‍यो भन्नुहोस् न ?'

'हाम्रो सानो क्लब वा एनजिओ नै छ यहाँ। यस टोलमा सबै कुराको विकास गर्नु परेन अब ! यहाँ पक्की बाटो चाहियो, पानीको धारा ल्याउनुपर्‍यो अनि यहाँसम्म बिजुली तान्नुपर्‍यो। सबैको सहयोग नभई कसरी गाउँको विकास हुन्छ ? गाउँहरूको विकास भएमा नै राष्ट्रको विकास हुन्छ। आजको प्रजातान्त्रिक युग..... तपाईँलाई थाहै छ।' त्यो युवा कस्सियो।

'म जान्दछु महाशय ! यहाँको कुरा मैले बुझेँ। भन्नोस् हामीले के सहयोग गर्नुपर्‍यो ?' मैले केही कडा र केही नरम स्वरमा आफ्नो कुरा राखेँ।

'यहाँ आउने प्रत्येक परिवारबाट विकासबापत हामीले पाँच हजार सहयोग लिने गरेका छौँ। यो प्रवेश वा इन्ट्री फिस मात्र हो। फेरि पछि थप दिनुपर्छ। मसँग रसिद छ, अहिले काट्नुहुन्छ कि ?' त्यस युवाको कुरा मैले बुझेँ।

'अहिले ल्याएका छैनौँ। अर्को शनिबार यही समय भेटौँ। हामी पनि विकास विरोधी होइनौँ। तपाईँहरूको प्रत्येक काममा हाम्रो यथाशक्य सहयोग रहन्छ।' मैले कुरा छोट्याएँ। सविताको नामबाट जगा पास गरेको हुनाले मैले उनकै नाम टिपाएँ।

डेरामा फर्किनासाथ सवितालाई भनेँ- 'हामीले त्यहाँ जग्गा किनेर ठूलो भूल गर्‍यौँ सविता ! देख्यौ, बाह्रसत्ताइस लफडा। खोज अर्को पाँच हात्ती। त्यति चन्दा नदिए हामीले त्यहाँ टेक्न पनि पाउँदैनौँ।'

'जे होस् लिइहालियो, अब पीर नगरौँ। जेजस्तो हुन्छ वा जेजस्तो पर्छ, बेहोर्दै जानुपर्छ। काम गर्दै जाँजा धेरथोर समस्या त जहाँ पनि भइहाल्छ नि ! तपाईँ त अहिल्यै थाक्नुभयो, के-कसरी बन्ला र हाम्रो सपनाको घर ?' सविताले मेरो चित्त बुझाउन खोजी।

दुई-चार दिन मेरो मुड अफ नै भयो। कति दुःखकष्ट गरेर कमाएको रकम, स्वाहा भयो। त्यहाँ घर बनाएर बस्न वा टिक्न सकिएला जस्तो लागेन। मन त्यसै दुःखी र उदास भयो। अर्को हप्ता गएर इन्ट्री वा प्रवेश शुल्क तिरियो। त्यसपछि विकासका लागि अत्यन्त प्रतिबद्ध त्यस युवाको छाया कतै देखिएन।

जेनतेन दुःखसुख सानो जग्गा जोडियो। जग्गासँगसँगै उत्तराधिकारी छोरो पनि आयो। तीनचार कोठाको घरको नक्सा पनि बनाउन लगाइयो। अब ऋणका निमित्त बैङ्क र फाइनान्सतिर धाउन थालियो। ऋण लिनेदिने, ब्जाजको भुक्तानी, धितो प्रक्रिया बुझ्नमा नै लाग्यो दुईचार महिना। जहाँ पनि आश्वासन, मिठासपूर्ण बोली र व्यापारिक मुस्कानहरूले आस्था र विश्वास जगायो। हाम्रा सपनाका चराहरूले पखेटा हाल्न थाले। सहरमा, कुनै खोलाको किनारमा स्थायी गुँड बनाउन पाइने भयो, बसोबास हुने भयो, जिन्दगीको एउटा मोडमा राम्रैसँग आइपुगेको आभास भयो।

तलबको केही अंश कटाएर प्रत्येक महिना बुझाउने सर्तमा ऋण पाइयो। दुःखको यात्राले विश्राम लिनेमा विश्वस्त भयौँ। भगवान् ! नगरपालिकाले नक्सा पास गरिदियो, यहाँभन्दा खुसीको कुरा के हुन सक्छ ! अब घर निर्माणको टेन्सन वा चिन्ताको गोरेटो सुरु भयो- कहाँ पाइन्छन् इँटा, सस्तोमा कुन मिलले देला झ्यालढोका, डकर्मी कसलाई राख्‍ने आदिआदि। सवितालाई घरव्यवहार, छोरा र जागिरको पहाडले यस्तरी किच्यो कि उसले टाउको समेत उठाउन पाइन। बजारमा भाउ गर्दागर्दै भाउ बढ्यो। बसमा हिँड्दाहिँड्दै भाडा बढ्यो। अनायास लाग्यो- यस घरको सपनाले हामीलाई लास बनाउने भयो।

यसैबीच क्रान्ति र युद्धहरूका बीच ससाना क्रान्तिहरू भए, समूहहरू बने। बाटो हिँड्दाहिँड्दै बाटो बन्द भयो। यात्रा गर्दागर्दै बस बन्द भयो। सबैलाई आफ्नो मात्र चिन्ता भयो। थुप्रै पर्खालहरू बने , अनि भत्किए। त्रासदीय नाटकहरूबारेमा धेरै पढिएको थियो- आफ्नै स्थिति त्रासदीय बन्यो। एउटा सानो घर बनाएर मीठो निद्रा आउला भन्ने थियो, आफ्नै जग्गाको तरकारी कति मीठोसँग खाउँला भन्ने थियो, सबै स्थितिहरूमा भुइँचालो गयो।

घरको जग खनिएपछि इँटाहरू आउन लागे। केही सस्तो र राम्रो होला भनेर सगरमाथा नामको कम्पनीबाट इँटाहरू लिएको थिएँ। इँटाहरू ठाउँमा राख्‍न नपाउँदै केही व्यक्तिहरू लाठी लिएर आइपुगे – 'तपाईँलाई कसले यस कम्पनीको इँटा यहाँ ल्याउन भन्यो ? यस एरियामा सगरमाथा इँटा बहिष्कार गरेका छौँ।'

'मलाई के थाहा ! कुनकुन कम्पनीका इँटाहरू यहाँहरूले बहिष्कार गर्नुभएको छ भन्ने कुरा ? अलि सस्तो र राम्रो यस कम्पनीको भन्ने लाग्यो !' मैले यति के भनेको थिएँ, एक जनाले लाठी बजार्‍यो- 'यस एरियामा आउनेले थाहा पाउनुपर्छ नत्र हामीलाई सोध्नुपर्छ। भोलिसम्ममा यहाँबाट यी इँटाहरू उठ्नुपर्छ नत्र हामी जिम्मेवार हुने छैनौँ।'

'किन यसो भन्नुहुन्छ ? म बाहिरको मान्छे। यहाँहरूको कुरा, विषय मलाई के थाहा ! बरु केही सहयोग आवश्यक भए..... म तयार छु।' मैले विरोधको जरो बुझेको थिएँ।

'यसै भन्नुहुन्छ भने एक पटकलाई क्षमा दिन्छौँ, तीन हजार चन्दा बुझाउनुहोस्....!' त्यस स्वरमा अब याचना थियो। मसँग साथमा रकम थिएन। भोलिपल्ट खोजखाज गरी त्यो रकम बुझाएँ। उनीहरू रसिद दिन खोज्दै थिए, 'मलाई चाहिन्न' भनेँ। ती असल मित्रहरू त्यसपछि कहिल्यै देखा परेनन्।

त्यो रात पनि मेरो दिमाग घुमिरह्यो। मलाई नराम्ररी चक्कर लागिरह्यो। सविताले माया गरेर सोधी- 'तपाईँलाई के भयो ? अलि सन्चो जस्तो देख्तिनँ नि !'

'मलाई केही भएको छैन, तिम्रो ओडारले मेरो प्राण लिने भयो। घर बनाउनुअघि नै चन्दा दिँदादिँदै पैसा सिद्धिने भयो।' मैले भावुक भएर भनेँ- 'सविता यो घर नबनाऊँ। यो पूरा हुने सपना होइन रहेछ....हामी घरमा बस्नका लागि जन्मेकै होइन रहेछौँ....!'

यी शब्दहरूले सवितालाई धेरै घोचेछन्। उसले पनि आँसु निकाली। मलाई आफूले ठूलो अपराध गरेको बोध भयो। तर यी आँसु र भावुकताले हाम्रो जिन्दगी चल्न सक्ने थिएन। घरलाई चाहिने सबै सामानहरू आइसकेका थिए। ड्यामप्रुफ अथवा कुर्सी उठाउने क्रममा थियौँ र यो महान दुर्घटनाको सङ्केत थियो।

हामी कति लाचार, निरीह र कमजोर छौँ। हामी कति असहाय र विवश छौँ। एउटा सानो घर, सानो फूलबारी, साना नानीहरूको सपना हामी पूरा गर्न सक्तैनौँ। घर बनिरहेको ठाउँमा केही लाठीधारीहरू देखा परे। हुनसक्छ तीसँग लुकाइएका हतियार पनि छन् ! ती सीधै आए र मलाई एक जनाले मुक्का हान्दै गाली गर्‍यो – 'तँलाई यहाँ घर बनाउने अधिकार कसले दियो ?'

'नगरपालिकाले स्वीकृति दिएको छ।' मैले नक्सा निकालेर देखाएँ।

'तेरो नगरपालिकाले स्वीकृति दिएर हुन्छ ? हाम्रो स्वीकृति लिनुपर्छ...। राम्रो सुन् ! यो देश तेरो होइन, यो माटो तेरो होइन। यो हाम्रो हो... राम्ररी बुझ्।' अर्को युवाले फेरि कड्केर मलाई अर्को मुक्का दियो। मैले सोचेको थिइनँ- समय यति क्रूर छ। म आज कसरी घर आइपुगेँ- स्वयम् मलाई थाहा छैन। दिउँसोको घटना कुनै सपना पो थियो कि, या भ्रम हो ! मैले छुट्याउन सकिनँ। सवितालाई यी सब प्रसङ्ग सुनाएर अरू पीडा दिन मैले चाहिनँ। उसले धेरै पल्ट सोद्धा पनि मैले खालि 'सन्चो छैन' भनेर टारिदिएँ।

साँझपख फेरि फोन आयो- 'ए कपलि शर्मा ! राम्ररी सुन्। एक लाख बुझाउँछस् भने हाम्रो समूहले स्वीकृति दिन्छ घर बनाउन। केही समस्या आइपरेमा हामी जिम्मेवार हुनेछौँ। होइन भने घर मात्र होइन, तेरो ज्यान पनि जान सक्छ।' अब मसँग बोल्न केही शब्द थिएनन्। साँच्ची नै म माटाको मूर्तिमा साटिएको थिएँ। रातभरि निद्रा-अनिद्रामा सोधिरहेछु – खासमा यो देश कसको हो ? यो राष्ट्र कसको हो ? यो माटोमा कसको हक छ ? अनि बिहानपखको सानो तन्द्रामा कराएछु – 'म घर बनाउँदिनँ, तिमीलाई ओडारसमेत दिन सक्तिनँ मेरी प्यारी सविता ! सविता !!

«««

गरिमा, पूर्णाङ्क २९९ बाट साभार

 

 

श्री परशु प्रधान

जन्मः वि.सं. २०००

जन्मस्थानः भोजपुर कोशी अञ्चल,

प्रकाशनः १.दुई कविता सङ्ग्रह २. तीन उपन्यास ३. एक कथोपन्यास ४. एघार कथा-सङ्ग्रह ५. आठ बाल कथासङ्ग्रह ६. दुई भेटवार्ताहरू ७. चार साहित्यइतर कृतिहरू

पुरस्कारः नेपाल साहित्य संस्थान पुरस्कार, नेपाल प्रज्ञा-प्रतिष्ठान पदक, रत्‍नश्री पदक लगायत देश-विदेशका अरू एघारवटा पुरस्कार र सम्मान।

आबद्धताः विभिन्न संघसस्थामा विभिन्न पदमा आबद्ध, वर्तमान वाणी प्रकाशन विराटनगर का सल्लाहकार।

ठेगानाः बुद्धविहार मार्ग, विराटगनर – १५

फोनः 00977-25-530026