ढुङ्गो

 

? दीपा अविरल

 

न दुख्‍नु, न रुनुको चोट

न हाँस्नु, न खुसीको बोध

सायद यथार्थ अनि ढुङ्गो हुनुको परिवेश

बगिरहने कोमल पानीको समीप रहे पनि

कहिल्यै पग्लन जान्दैन

कहिल्यै बग्न सक्दैन ढुङ्गो।

 

बीच नदीमा,

पानीले अँगालीरहेको भानसँगै बाँचिरहन्छ

तर, पानी

निरन्तर तरङ्गित भएर

ऊ समीप आउँछ र

स्मृतिस्वरूप सेता फिँजहरू छोडेर गइसकेको हुन्छ

पानीसँगै अनन्तमा बगिरहन सक्तैन ढुङ्गो।

 

बरू, ऊ पहाड भएर आँधी-हुरी खप्न सक्छ

बगरमा टन्टलापुर घाम सहन सक्छ

तर, पगालेर आफूभित्रको मन

अरूलाई दिन सक्दैन

अरूको मन सुटुक्क चोरेर लिन सक्तैन।

किनकि, ऊ ढुङ्गो हो

कठोरताबाहेक

कुनै भाव समेट्न सक्तैन/उमार्न सक्तैन।

 

बटुवाका निरन्तर पदचापहरूले

आँधी-हुरीका झम्ट्याइहरूले

टन्टलापुर घामका सन्नाटाहरूले

खिइरहन्छ, टुक्रिरहन्छ, फुटिरहन्छ.....

तर,

ऊ ढुङ्गोबाहेक अरू केही हुन सक्दैन।

 

ллл 


२०४४ पुस १६ मा दिक्तेल, खोटाङमा जन्मिनुभएकी दीपा अविरल काव्यलेखनमा विशेष रूची राख्‍नुहुन्छ। धनवाणी नवप्रतिभा पुरस्कार, र स्व विमल गुरुङ स्मृति युवा पुरस्कार प्राप्त गर्नु हुने अविरल हाल विराटनगरमा बसोबास गर्नुहुन्छ।

सम्पर्कः abiral_id@yahoo.com