रन्जना भाटियाका केही लघुकविताहरू

माया

 

यदि कोही बेला

मेरो मनको ढोकाबाट छिर्‍यौ भने

नढक्ढक्याई मनभित्र पस है

किनकि तिम्रै प्रतीक्षामा मैले

एउटा युग बिताएको छु।

 

शीतका थोपाहरू

एक दिन बिहान

त्यत्तिकै छरिएका शीतका थोपाहरूमा

कुनै चित्र देखापर्‍यो

मनमा कैयन् चाहनाहरू जागे

र तिम्रो असाध्यै माया लाग्यो।

 

साथ

जब म ऊसँग हुन्न

ऊ हरेक छायामा मलाई खोजिरहेको हुन्छ

प्रहरभरि सोचिरहन्छ मेरा बारेमा

र भेट्ने आस गर्छ

तर जब म ऊसँग हुन्छु

ऊ केही उदास हुन्छ

र किन हो थाहा छैन

कतै हराएझैँ लाग्छ.....।

 

ध्यान

मात्र तिमीमा हराएका

तिम्रा यादका छायाहरू

आँखाभरि तिम्रा सपना....

ध्यानको एउटा सुन्दर रूप

यो पनि त हो !!

 


कवयित्री रन्जना भाटिया १४ अप्रिल १९६६ मा भारतको हरियाणा राज्यको रोहतक जिल्लाको कलनौर भन्ने गाउँमा जन्मिनुभएको हो। सानैदेखि लेख्‍ने रूचि भएकाले उहाँले सैयौँ कविताहरू लेख्‍नुभएको छ र कतिपय कविताहरू दैनिक जागरण, अमर उजाला आदि पत्रिकाहरूमा प्रकाशित भएका छन्। उहाँ कथा पनि लेख्‍नुहुन्छ र ब्लग निर्माण तथा लेखनमा सक्रिय हुनुहुन्छ।
उहाँ हिन्द-युग्म(
http://www.hindyugm.com) सँग सम्बन्धित हुनुहुन्छ र उहाँको आफ्नै ब्लग चाहिँ कुछ मेरी कलम से(http://ranjanabhatia.blogspot.com) हो। उहाँ वर्ल्ड पोएट सोसाइटीको पनि सदस्य हुनुहुन्छ। http://world- poets.blogspot.com/2006/08/members-of-wps-106-poets-from-26.html