दाजुभाइ

? प्रेमचन्द

बिहानीको सुनौलो घाममा कलावती दुवै छोराहरूलाई काखमा राखेर दूध-रोटी खुवाउँथिन्। केदार जेठो थियो र माधव कान्छो। दुवैजना मुखभरि गाँस हालेर कुद्दै उफ्रिँदै फेरि काखमा आएर बस्थे र आफ्ना तोते बोलीमा एकजना पुराना कविले जाडाले सताएको बालकको उद्‌गार पोखेको कवितांश रटिरहन्थे- दैव-दैव घाम करो तुम्हारे बालक को लगता जाड़।” ( दैव, दैव घाम लगाइ देऊ तिम्रा बालकलाई जाडो लाग्यो।)

आमा उनीहरूलाई चुकचुकाउँदै बोलाउँथिन् र ठूलठूला गाँस खुवाउँथिन्। उनका हृदयमा प्रेमको उमङ्ग हुन्थ्यो र आँखाहरूमा गर्व। दुवै दाजुभाइ बढे, ठूला भए। सँगसँगै अँगालो हाल्दै खेल्थे उफ्रिन्थे। केदारको बुद्धि तिख्खर थियो भने माधवको शरीर बलियो। दाजुभाइमा यति धेरै स्नेह थियो कि दुवैजना सँगै स्कुल जान्थे, सँगै खान्थे र बस्दा पनि सँगै बस्थे। समय सर्दै गयो, दुवै जनाको बिहे भयो। केदार की जहान चम्पा बोलक्कड र चञ्चला थिइन्। माधव की श्यामा चाहिँ गहूँ-गोरी, रूपवती थिइन्। उनी मृदुभाषिणी, सुशीला र शान्त स्वभावकी थिइन्।

केदार चम्मामा मोहित थिए भने माधव श्यामा भनेपछि हुरुक्कै हुन्थे। तर कलावती को मन कसैसँग मिलेन। उनी दुवैसँग प्रसन्न पनि थिइन्, अप्रसन्न पनि। उनको शीक्षा-दीक्षाको ठूलो भाग एउटा व्यर्थको प्रयत्‍नमा जान्थ्यो। उनी चाहन्थिन् चम्पाले आफ्नो अलिकति कार्यकुशलता श्यामाको शान्त स्वभावसँग साटून्।

दुवै दाजुभाइका सन्तानहरू भए। हरियो वृक्ष मज्जाले फैलियो र फलहरूले लादियो। कुत्सित वृक्षमा मात्रै एउटा फल ओइलाएको जस्तो, पहेँलो जस्तो दृष्टिगोचर भयो। तर यसमा पनि दुवै अप्रसन्न थिए। माधवलाई धन सम्पत्तिको लोभ थियो भने केदारलाई सन्तानको अभिलाषा।

भाग्यको यस कुटनीतिले विस्तारै द्वेषको रूप धारण गर्‍यो, जुन स्वाभाविक पनि थियो। श्यामा आफ्ना सन्तानहरूलाई सजाउन र बढाउन व्यस्त रहन्थिन्। उनलाई टाउको ठाडो पार्ने फुर्सत पनि थिएन। बिचरी चम्पालाई चाहिँ भान्सामा पिल्सिनु र जाँतामा पिँधिनु पर्थ्यो। यस्तो दुर्नीति कहिले काहीँ कटु शब्द भएर बाहिर निस्कन्थ्यो। श्यामा सुन्थिन्, भित्रभित्रै पिल्सिन्थिन् र सहन्थिन्। तर उनको सहनशीलताले चम्पाको क्रोधलाई शान्त पार्नुको साटो झन् बढाउँथ्यो। रिसको भाँडो लगभग पूरै भरिएको थियो। मृगले भाग्ने बाटो नपाएर उल्टै शिकारी भएतिर आक्रमण गर्‍यो। चम्मा र श्यामा समकोण बनाउने रेखाझैँ अलग्ग भए। त्यस दिन घरमा दुई भान्सा भयो, दाजुभाइले अन्नको दानासम्म पनि देखेनन् र कलावती दिनभरि रोइरहिन्।

««

यसरी नै कैयौँ वर्ष बिते। दाजुभाइ, जो कुनै समयमा एउटा काखमा बस्थे, एउटै थालमा खान्थे र एउटै छातीको दूध पिउँथे, अब एउटै घरमा अझ भनौँ एउटै गाउँमा बस्नै नसक्ने भए। तर कुल-मर्यादामा केही आँच नआओस् भनेर ईर्ष्या र द्वेषको बल्दो ज्वालालाई खरानीभित्र लुकाउने व्यर्थको चेष्टा गर्थे। तिनमा अब भ्रातृ-स्नेह थिएन। थियो त केवल दाजुभाइको औपचारिक मर्यादा। आमा जीवित थिइन्, दुई छोराहरूको वैमनस्य देखेर आँसु बगाइरहन्थिन्। हृदयमा प्रेम थियो, तर आँखाहरूमा अभिमान थिएन। फूल त्यही थियो, तर सुन्दरता थिएन।

दाजुभाइ साना छँदा, एउटा रोएको देख्‍ने बित्तिकै अर्को पनि रून थालिहाल्थ्यो। त्यसबेला उनीहरू सोझा थिए, नासमझ थिए। आज एउटा रोएको देख्दा अर्को हाँस्थ्यो र ताली पड्काउँथ्यो। अब तिनीहरू बुद्धिमान र समझदार भएका थिए।

जब उनीहरूलाई आफ्नो-बिरानोको ज्ञान थिएन, त्यसबेला कसैले जिस्क्याउँदै एउटालाई लिएर जाने धमकी दिन्थ्यो, अर्को जमिनमा पसारिन्थ्यो र त्यस मानिसको कुर्ता तानेको तानै गर्थ्यो। अहिले एकजनालाई मृत्युले धम्क्याउँदा पनि अर्काका आँखामा आँसु आउँदैनन्। अब उनीहरूले आफ्नो-बिरानो चिन्न थालेका छन्।

बिचरा माधवको अवस्था साँच्चै सोचनीय भएको थियो। खर्च धेरै थियो तर आमदानी थोरै। त्यसमाथि कुल-मर्यादाको मान राख्‍नु पर्ने। हृदय रोए पनि ओठमा हाँसो चाहिने। हृदय मैलै भए पनि लुगा सफा हुनुपर्ने। चार छोराहरू र चार छोरीहरू त्यसमाथि आवश्यक सामग्रीहरू मोती सरह महँगा। केही पाईको जमिन्दारी कहाँसम्म र कसरी सम्हाल्नु। छोराहरूको बिहे त जसोतसो टर्थ्यो तर छोरीहरूको ? दुई पाई जमिन त जेठी छोरीको बिहेमै सकियो। त्यसमाथि जन्ती भातै नखाइ उठेर हिँडे। बाँकी रहेको माइलीको बिहेमा सकियो। एक वर्षपछि साहिँलीको बिहे हुँदा पात-पतिङ्गर पनि रहेन। रूखका हाँगा फेरि हरिया भएका थिए तर दरिद्रता र सम्पत्तिको नाता त कुकुर र मासुको जस्तै न हुन्छ।

««

साहिँलीको गौना पनि नभैकन माधवलाई दुई वर्ष देखिको लगानको ताकेता आयो। छोरीको गहना बन्धकी राखेर जसोतसो मुक्ति मिल्यो। मानौँ चम्पालाई यसै समयको प्रतिक्षा थियो। तुरुन्तै नयाँ नातेदारहरू, उधारो दिने साहूहरू र अन्यलाई सूचना पुर्‍याउन थालिन्- ‘तिमीहरू ढुक्क बस, यहाँ गहना जति मासिइसके।’ अर्को दिन एकजना हजाम र एकजना ब्राह्मण माधवका आँगनमा आएर बसे। बिचराका घाँटीमा फाँसी लाग्यो। पैसा कहाँबाट ल्याउने, न जमिन छ न अरू सम्पत्ति, न बगैँचा छ न बारी। एउटा विश्वास थियो त्यो पनि उहिल्यै उठिसकेको। अब बचेका थिए तिनै दुई कोठा थिए जसमा माधवले आफ्नो अहिले सम्मको पूरा आयु बिताएको थियो र जसका कुनै ग्राहक थिएनन्। ढिलो हुँदा नाक जाने डर। विवश भई आँखाभरि आँसू पारेर केदारकहाँ गएर भने- दाजु साह्रै अभरमा परेँ, मेरो सहायता गर्नुपर्‍यो।

केदारले भने- मद्‌धू ! अचेल मेरो पनि हात साँघुरो छ। तिमीलाई किन ढाँट्थेँ र।

चम्पाले साधिकार भनिन्- अरे, उहाँका लागि पनि हात साँघुरो छ भन्ने हो ? अलग भान्सा गर्दैमा इज्जत पनि अलग हुन्छ र !

केदारले स्त्रीलाई छड्के आँखाले हेरेर भने-होइन मैले त्यसो कहाँ भनेको हो र ? हात साँघुरै भए पनि केही न केही बन्दोबस्त भैहाल्छ नि।

चम्पाले माधवलाई सोधिन्-गहना पाँच-बीस भन्दा बढी मै राखेको हैन?

माधवले उत्तर दिए – हो, ब्याजसहित सवा सय जति हुन्छ होला।

माधव केदारकहाँ पुग्दा उनी रामायण पढ्दै थिए। यति कुरा भए पछि उनी फेरि रामायण पढ्न थाले। चम्पाले गुदी कुरो गर्न थालिन्- पैसा निकै रहेछ। हामीसँग भए त केही थिएन। हामीले पनि अर्कैबाट मिलाइदिने हो। महाजनले लेखा-पढी बेगर त पैसा दिँदै दिँदैनन्।

माधवले सोचे- ‘मसँग केही लेखा-पढी गर्ने भएदेखि महाजन त अरू पनि थिए नी। तिमीहरूको दैलामा किन आउँथेँ’ तर भने- लेखापढि गर्नका लागि मसँग के छ र? जे छ यही घर त छ।

केदार र चम्पाले एकअर्कालाई मर्मभेदी आँखाहरूले हेरे र मनमनै भने- 'के हाम्रा जीवनका प्यारा अभिलाषाहरू पूरा हुने हुन् त ?' तर यही उमङ्गले अनुहारमा आउँदाआउँदै गम्भीरताको रूप धारण गर्‍यो। चम्पाले गम्भीरता ओडेर भनिन्- "घर हेरेर त कुनै साहूले के पैसा देला र ? सहर भए केही भाडा आउँथ्यो होला, गाउँमा त सित्तैमा पनि कोही बस्तैन। त्यसमाथि साझा सम्पत्ति।"

चम्पाको कठोरताले खेल बिग्रेला भन्ने डरले केदारले भने- "एक जना साहूलाई म राम्ररी चिन्छु। सायद उसले भनेको मान्छ होला।"

चम्पाले गर्दन हल्लाएर जुक्तिको समर्थन गर्दै भनिन्- "तर चार-बीस पाउन त धेरै कठिन छ।"

केदारले आँट गरेरै भने- "निकै जोड गर्दा चार-बीस सम्म होला।"

यसपल्ट भने चम्पाले केदारलाई आँखा तरेर भनिन् –"साहूहरू त्यति अन्धा हुँदैनन्।"

माधव आफ्ना दाइ-भाउजूको यो गुप्त रहस्य केही मात्रामा बुझ्थे। उनलाई यस कुराले निकै अचम्म भएको थियो कि यिनीहरूसँग यत्तिको बुद्धि कहाँबाट आयो। भने – त्यसो भने अरू पैसा कहाँबाट आउँछ त ?

चम्पाले झर्किँदै भनिन्- अरू पैसाका लागि आफैँ सुर्ता गर। सवा सय त यी कोठरीका लागि कसैले दिँदैनन्। चार-बीस भए एकजना साहूसँग भनेर दिलाइदिन्छु। लेखा-पढी गर।

दाजु-भाउजूका रहस्यमय कुराले माधव सशङ्कित भए। उनलाई यिनीहरूले साँच्चै कुनै गहिरो चालबाजी गरेझैँ लाग्यो। दृड भएर अक्कड देखाउँदै भने – अरू केकेको चिन्ता गरूँ ? गहना भए भन्दिन्थेँ राख। आफूसित काँचो धागो समेत छैन। बदनाम भए पछि के दस के पचास, एउटै कुरा हो। घर बेचेर मेरो इज्जत रहन्छ भने त ठीकै छ तर घर पनि बेचूँ अनि प्रतिष्ठा पनि धलो भयो भने ? अहँ, म यस्तो काम गर्दिनँ। इज्जतका लागि मात्रै हो, हुँदैन भनिदिएँ एकपल्ट भने कसले मेरो के बिगार्न सक्छ ? साँच्चै भन्छौ भने मलाई इज्जतको पनि त्यति फिक्री छैन। मलाई कसले चिन्छ र ? हाँस्न त दाजुलाई हेरेर हाँस्छन्।

केदारको मुख सुक्यो। चम्पा पनि छक्क परिन्। तर उनी चतुर र वाक्य निपुण रमणी थिइन्। माधव जस्तो पाखेबाट उनले यस्तो आस गरेकी थिइनन्। अनुहारमा आदरभाव ल्याएर माधवतिर हेर्दै भनिन् – लालू, कहिलेकाहीँ तिमी पनि केटाकेटी जस्तै कुरा गर्छौ। भन त, कसले यस झुप्राका लागि सय रुपैयाँ दिन्छ ? तिमी सयको साटो सवा सय लेऊ, म आजै आफ्नो भाग बेच्छु। मेरो पनि त्यति नै त हो। घरबाट तिमीलाई चार-बीस मात्रै प्राप्त हुन्छ। बाँकी पैसा हामी आफैँ बन्दोबस्त गरिदिउँला। तिम्रो-हाम्रो इज्जत एउटै हो आखिर, जुन जाँदैन पनि। त्यो फाल्ट पैसा अलग्गै खातामा चढाउँला।

माधवका इच्छाहरू पूरा भए। उनले जिते। सोच्न थाले- ‘मलाई त पैसा चाहिएको हो, चाहे एउटा खातामा चढाऊ या दस वटामा। बाँकी रह्यो घरको कुरा, त्यो त म बाँचुन्जेल छोड्नेवाला छैन।’ उनी प्रसन्न भएर हिँडे। उनी हिँडेपछि केदार र चम्पाले कपट भेस त्यागेर थुप्रै बेरसम्म यस कडा लेनदेनका लागि एक-अर्कालाई दोष लगाउने चेष्टा गरिरहे। अन्त्यमा यही सोचेर सन्तोष माने कि यो लेनदेनको भोजन तीतो नै नभए पनि नमीठो पनि त भएन। अँ घरको कुरा, हेरौँ न श्यामा रानीले कसरी यसमा राज गर्दिरहिछन्।

केदारका आँगनमा दुईवटा गोरू छन्। दुवैमा कति मित्रता, प्रेम र एकिकृत शक्ति छ। दुवै एउटै जुवामा नारिन्छन्। बस यिनीहरूसँग भएको नाता भनेको यति नै हो। तर केही दिन अगाडि एउटालाई चम्माको माइतमा लगिँदा अर्को चाहिँले तीन दिन सम्म डुँडमा मुख हालेन। तर दुःखको कुरा, एउटै काखमा खेले-बढेका, एउटै छातीको दूध पिएका दाजुभाइ यति टाढाका भए कि एउटा घरमा बस्नै चाहँदैनन्।

««

बिहानीको समय थियो। केदारका आँगनमा गाउँका मुखिया र नम्बरदार बिराजमान थिए। मुन्सी दातादयाल गर्वका साथ चारपाईमा बसेर तमसुकको मस्यौदा तयार गर्दै थिए। बारम्बार कलम बनाउँथे, टुप्पो तिखार्थे तर टुप्पो धारिलो भएको थिएन। केदारको अनुहार उज्ज्वल थियो भने चम्पा खुसीले फुरुक्क थिइन्। माधव चाहिँ ओइलाएका र म्लान देखिन्थे।

यतिकैमा मुखियाले भने- "भाइ यस्तो मित्र न दाइ त्यस्तो शत्रु। केदारले भाइको इज्जत राखे।"

नम्बरदारले समर्थन जनाए- "साँच्चै दाजु होस् त यस्तो।"

मुख्तारले भन्यो- "सपूतहरूको काम नै यही त हो।"

दातादयालने भने- "तमसुक लेख्‍नेको नाम ?"

दाजुले भने- "शिवदत्तका छोरा माधव।"

"लेखाउनेको नाम ?"

"शिवदत्तका छोरा केदार।"

माधवले चकित भएर दाजुका अनुहारमा हेरे। आँखा भरिएर आए। केदारले ऊतिर हेर्न सकेनन्। नम्बरदार, मुखिया, र मुख्तार पनि विस्मित भए। केदार आफैँ पैसा दिँदैछन् त ? कुरा त कुनै साहूको थियो। यदि घरमै पैसा छ भने तमसुकको के आवश्यकता र ? दाजुभाइमा यति सारो अविश्वास ? राम ! राम ! माधव के ८० रूपैयाँ महँगा मात्रै हुन्। पैसा पचाइ नै दिए पनि पानीमा त जाने थिएन।

सबैका आँखाहरू इसारामा कुरा गर्न थाले, लाग्थ्यो आश्चर्यको अथाह नदी बगिरहेको छ र त्यसमा नाउहरू डगमगाउन लागेका छन्।

श्यामा दैलामा उभिएकी थिइन्। उनी सधैँ जेठाजूको आदर गर्थिन् तर आज तिनी जेठाजूलाई केही भन्नबाट लोकलाजले मात्र संयमित भएकी थिइन्।

बूढी आमाले सुनिन्। सुकेको नदीमा भेल उर्लियो। एकपल्ट आकाशतिर हेरिन् र टाउको ठोकिन्। आज उनलाई त्यो दिन याद आयो जुन दिन यस्तै सुनौलो बिहानी थियो र दुईवटा साना प्यारा बच्चाहरूले कुद्दै उफ्रिँदै दूध-रोटी खाएका थिए। त्यस बेला आमाको आँखाहरूमा कति अभिमान थियो, हृदयमा कति उमङ्ग र उत्साह थियो भन्न गाह्रो छ तर आज, आह ! आँखामा लाज छ, हृदयमा शोक र सन्ताप। उनले भुइँतिर हेरेर भनिन् – "हे ईश्वर, यस्ता सन्तानले मेरै कोखबाट जन्म लिनु थियो ?"

 

«««

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।  

 

मुन्सी प्रेमचन्द
जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६
उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी
र अङ्ग्रेजी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्।