जिम्मेवार को ?

? नेत्रकला दवाडी

 

देशभक्त झोलाभरि खामबन्दी पत्रहरू लिएर सबै घर घरमा पुगे । महत्त्वपूर्ण कार्यको सूचना प्रवाह गर्दै गम्भीर अनुहार लिएर पहिले पनि दुई तीन पटक उनी यसरी नै घुमेका छन् । फेरि के कुरो परेछ त्यस्तो ? खुल्दुली मेटाउन मैले खोलेर हेरेँ । अरुलाई दिएको पत्रमा के लेखिएको थिय़ो त्य़ो थाहा भएन तर मलाई लेखिएको पत्रको व्यहोरा यसप्रकार थियो

श्रीमान् फलानो ज्यू,

फलाना, फलाना नाम गरेका अन्तर्राष्ट्रिय संस्थाले हाम्रो देशमा अभियानका रूपमा नौला कार्यक्रम लिएर आएका छन् । सहभागी हुन चाहनेले आफूलाई सोधिएको प्रस्नको सही जवाफ पठाउनु पर्ने छ । उत्कृष्ट उत्तर पठाउने व्यक्तिलाई विशेष पुरस्कारबाट सम्मानीत गरिने छ र जीवन निर्वाहको ग्यारेन्टीका साथ अत्याधुनिक तालिमको अवसर दिइनेछ ।

तपाईँलाई सोधिएको प्रश्न यसप्रकार छ

शिक्षाको गुणस्तर दिनप्रतिदिन घट्दै जानुमा बढी जिम्मेवार को हो ?

      प्रश्न देखेर म धेरै खुसी भएँ । सायद सबैभन्दा सजिलो प्रश्न मलाई नै परेको हुनुपर्छ । यो प्रश्न कयौँ वर्षदेखि चर्चामा आएर सामान्य बनिसकेको छ । चारैतिरबाट सुन्दासुन्दा मलाई उत्तर कण्ठस्थ भै सकेको छ, तैपनि दुईचार वटा पुस्तक पढिकन उत्तर लेख्‍ने जमर्को गरेँ। ठूलो पानामा आकर्षक ढङ्गबाट बुँदागत रूपमा मैले उत्तर लेखेर पठाएँ।

मलाई पन्ध्र दिन बिताउन पन्ध्र वर्ष कुरे जस्तो भो। अन्तिम रात निदाउनै सकिनँ। मनमा नाना थरिका कुराहरू खेल्न थाले। अवश्य पनि उत्कृष्ट उत्तर मेरै हुनेछ। कल्पना गरेँ - विभूषण, तक्मा, नगद, दोसल्ला, प्रमाणपत्र, अबीर, माला जयजयकार.......। अर्थात् भोलिदेखि मेरो इज्जत अर्कै रहनेछ। म बसी बसी खान पाउने छु।

सबेरै गएँ। यताउति घुमेँ। कुरा बुझेँ तर कसैको कुरो चित्त बुझ्दो लागेन। मन झन आतुर भयो त्यो क्षण भोग्न। एकपटक मैले आफैँलाई तलदेखि माथिसम्म हेरेँ अनि सर्टको कलर मिलाउँदै अग्रपङ्क्तिको रिक्त सिटमा गएर बसेँ किनकी पुरस्कार थाप्न सबैभन्दा नजीक र सजिलो ठाउँ त्यही थियो।

देश-विदेशबाट आउने सबै भेला भइसकेका थिए। कार्यक्रमले औपचारिकता प्राप्त गर्‍यो र क्रमशः अगाडि बढ्न थाल्यो।

संयुक्त राष्ट्र संघबाट प्रतिनिधित्व गर्नुहुने प्रमुख अतिथि ज्यूले मन्तव्यमा भन्नुभयो - ".....नेलाल जन्मदै कमजोर होइन तर ऊ कर्मले ठगिएको छ। तपाईँहरू यही देशका नागरिक हुनुहुन्छ, यो देश बनाउने जिम्मा पनि तपाईँहरूकै हातमा छ त्यसैले आब आ-आफूले देश विकासका बाधाहरू कहाँ छन् खोज्ने बेला आएको छ। त्यही अभियानमा आज यो पहिलो चरणको कार्यक्रम यही थलोबाट सुरु गरिएको छ। मानिस चेतना कै कारण अन्य प्राणीहरूभन्दा फरक भएको र त्यही चेतनाले आज विश्व यो अवस्थामा आइपुगेको कुरा त यहाँहरू सबैलाई थाहा भएको हो। चेतनाको विस्तार शिक्षाले गर्ने हुँदा हाम्रो पहिलो अभियान शिक्षा क्षेत्रमा नै केन्द्रित रहेको छ। हामी विश्वस्त छौँ, तपाईँहरू सबैले इमान्दारीपूर्वक पठाउनु भएका सही उत्तर हाम्रा हामता आइसकेका छन्। ..... धन्यवाद।"

निर्णायकहले पत्र हातमा लिएर भने "म निर्णय सुनाउनुभन्दा अघि गलत उत्तर पठाउनु हुनेहरूको नाम बताउँदै जानेछु।"

क्रमशः धेरै जनाको नाम सुनियो। मेरो अझैसम्म नआउँदा म सफल हुने सम्भावना बढिरहेको थियो। नभन्दै निर्णायकका हातमा दुईवटा पत्र मात्र बाँकी थिए। एउटा ठूलो पाना जुन मेरो थियो, बुँदागत रूपमा उत्तर लेखिएको। अर्को सानो च्यातिन लागेको पाना। संयोगवश त्यो मेरै विद्यार्थीले पठाएको रहेछ। उसले त मलाई जित्न सक्ने सम्भावनै थिएन।

मेरो पत्र चारैतिर देखिने गरि घुमाएर निर्णायकले भूमिका सुरु गरे। 'यो पत्र जसले पठाउनु भएको हो वहाँ धेरै चलाख र बुद्धिमान हुनुहुँदो रहेछ। यस पत्रमा धेरै मेहनत गरिएको छ। धेरैतिरबाट उत्तर समेट्न प्रयास पनि भएको छ। यी बुँदाहरूमा माथिल्लो निकायदेखि तल्लो नियासम्मले गर्ने गरेको भूल, त्रुटि तथा गलत कार्यहरूलाई क्रमैसँग औँल्याइएको छ तर विचार गर्नुहोस् वहाँले आफैँलाई चाहिँ राख्‍नु भएको छैन। त्यसै कारणले हाम्रो निर्णायक टोलीले वहाँलाई पनि उत्कृष्ट व्यक्तिको रूपमा स्वीकार्न सकेन।'

म छाँगाबाट खसेँ। जालसाजी गरिएकोमा मलाई जङ्ग चलेर आयो। त्यो समारोहमा सबैभन्दा अपमानित म आफैँ भएजस्तो लाग्यो। मैले मेरो अतीतमा कहिल्यै ठूलो हार सहनु परेको थिएन। कस्तो अचम्म। उतिमाथि  पठाउनेको नाममा ठूला राता अक्षरले शिरमै आफ्नो नाम लेखेकै थिएँ तर पनि आफूलाई राखिन रे। त्यसपछि के  भनियो। मेरो ध्यान नै गएन।

एकै चोटी गडगडाहट ताली बज्यो। बधाइको ओइरो लाग्यो। आँखा तानेर यसो हेरेको त त्यही फुच्चे अवीरले छोपिएको रहेछ। मलाई चित्त बुझेन। 'अवश्य पनि त्यस बुद्धुले कसैबाट उत्तर लेखाएर ल्याएको हुनुपर्छ।' मलाई औडाहा भयो।

"ए फलाना, तँ यहाँ आइज त।"

सधैँ ऊ मसँग जसरी डराउँथ्यो आज पनि त्यसैगरि डरायो।

"तलाईँ कुट्न बोलाएको हो त ? ल नढाँटी भन् उत्तर कसले लेखिदियो ?

"म आफैँले लेखेको हो, सर।"

"त्यसो भए उत्तरमा के लेखेको थिइस् त ?"

"मैले उत्तरमा 'म आफैँ' मात्र लेखेको थिएँ, सर।"

"छि ! यस्तो पनि उत्तर हुन्छ।"

"किन हुँदैन सर ? तबसम्म उसको केही हराएको हुँदैन, जबसम्म मान्छेले 'म' बिर्सँदैन। त्यसैले एकपटक आफैँ सम्झनुहोस् त सर, जिम्मेवार को होला ?"

³³³

 

 

  पेसाले शिक्षक नेत्रकला दवाडी, साहित्यसञ्चार प्रतिष्ठानकी सदस्य हुनुहुन्छ एवम् कविता, कथा र लघुकथा लेख्‍न रुचाउनुहुन्छ।