सुन्दरी र कविता

                          ? जयन्ता पोखरेल

 

म सुन्दरी

नागबेली हारभित्र

उनिएर फूल थुँगाझैँ

बन्द बस्छु कवितामा

 

क्यानभासमा

बोकेर निर्जीव मुस्कान

मोनालिसासँग

बस्छु म कवितामा

 

'गरेँ नव-प्रयोग'

एउटै कुरा

कहिरहन्छन् सुगाहरू

वादका विनियमहरूले

घोच्छन् मलाई कवितामा

 

भनिरहन्छु अग्लिएर

जात एकै हो

अव्यक्त वोधभित्र

कुन्ती बाँच्छु कवितामा

 

लाग्छ !

उडेर बिना खबर

बिम्बसँग भागौँ

प्रतीकसँग उठेर

लेखकसँग बाँचौँ

स्रष्टाका खुसीहरूमा

मस्किन्छु म कवितामा

 

म सुन्दरी

शब्द पिँजरामा

निभ्छु घरी-

बल्छु घरी-

जुनकिरीझैँ कवितामा।

 

³³³

 

 

२०२७ वैशाख १६ मा खोटाङमा जन्मिनु भएकी जयन्ता पोखरेलले २०४६ देखि लेखन आरम्भ गर्नुभएको हो। वाणी प्रकाशन विराटनगर, सहज समूह, प्रयास नेपाल आदि संस्थासँग सम्बद्ध जयन्ताको एउटा काव्यकृति मेरो अर्थमा प्रकाशित छ। हाल उहाँ विराटनगरमा बस्नुहुन्छ।