|
हनि ? धीरकुमार श्रेष्ठ
'भु-भु-भु' अनायासै पछाडिबाट मसिनो आवाज आयो । फर्केर हेरेँ सानो काँटको सेतो बेलायती कुकुरको बच्चा मेरो खुट्टानिर भुक्दै थियो । कुर्कुच्चालाई निशाना बनाएर भुकिरहेको, त्यसले न त टोक्न सक्थ्यो न चिथोर्न । त्यसले मुखको सम्पूर्ण भाग खोल्दा पनि मेरो कुर्कुच्चाको सानो चोइटो मासु टोक्न सक्तैनथ्यो । मेरो गोरो-चिल्लो कुर्कुच्चासँग लोभिएरभन्दा पनि मैले कुनै हानी पुर्याउँछु कि भनी भुकिरहेको थियो । मसिनो फलामे साङ्लाले बाँधिएका कारण चाहेर पनि त्यो मेरो कुर्कुच्चासम्म पुग्न सकिरहेको थिएन । हेर्दै लोभलाग्दो र मसिनो स्वरमा असमर्थ भुकिरहेको त्यसको टाउको सुम्सुम्याउन खोजेँ । पछाडि सरेर झन्झन् ठूलो स्वरले भुक्न थाल्यो । मैले माया गर्न खोजेको-लाई त्यसले खतराका रूपमा लियो । कहिले दाँयाबायाँ कहिले पछाडि सरेर सकेजति ठूलो स्वरमा भुक्न थाल्यो, 'भु-भु-भु ।' भुकाइले डर जन्माउनुको सट्टा रमाइलो अनुभूति दियो । जानीजानी जिस्क्याउन थालेँ । ताकि झन् भुकोस् । मसिनो स्वरमा मच्चीमच्ची भुकेको सुन्दा रमाइलो लाग्यो । त्यसले भुकेको सुनी कोठाभित्रबाट घरबेटी हाँस्तै बाहिर निस्के । टाउको सुम्सुम्याएर भन्न थाले, 'आफ्नै मान्छे पनि चिनिनस् तैँले हनि ।' उनले टाउको सुम्सुम्याएपछि भुक्नुको साटो पुच्छर हल्लाएर 'कुइँ-कुइँ' गर्दै खुट्टामुनि लुटपुटिन थाल्यो । तर बेलाबेला मतिर फर्केर भुक्न बिर्सदैनथ्यो । त्यो एकातिर आज्ञाकारिता दर्शाइरहेको थियो भने अर्कातिर सानैदेखि कर्तव्यनिर्वाह गरिरहेको थियो आत्मरक्षाका लागि भए पनि । 'कस्तो राम्रो छाउरा ! कहाँबाट ल्याउनुभयो -' 'दाजुको घरबाट ल्या'को । यस्की आमाले तीनोटा बच्चा जन्मा'का थिए । तीमध्ये दुई'टा अरूले लगे । एउटा मैले ल्याएँ । भर्खर एक मैनाको भो ।' घरबेटीको जवाफ थियो । लामो समय डेरा गरेर बसेका कारण उनले मेरो परिचय 'आफ्नो मान्छे' का रूपमा गराए । तर जतिसुकै प्रयास गर्दा पनि त्यस दिन हनिसँग मेरो मित्रवत् सम्बन्ध स्थापित हुन सकेन । सुरुआत खराब भए पनि हनिसँगको मित्रता क्रमशः गाढा हुँदै गयो । पहिलो दिनको शत्रुतापूर्ण व्यवहारमा क्रमशः परिवर्तन देखा पर्दै गयो । भेटेपिच्छे टाउकामा सुम्सुम्याइदिने भएकाले मसँग लुटपटिन थाल्यो । उचाइले केवल मेरो गोलीगाँठासम्म भ्याउने भएकाले त्यो प्रायशः मेरो कुर्कुच्चासँग खेल्थ्यो । कहिलेकाहीँ खुट्टा यताउति सारिदिँदा उत्सुकतापूर्वक रमाउँदै यताउति सर्थ्यो । पलेँटी कसेर लुकाइदिएँ भने काखैमा चढेर कुर्कुच्चा खोज्थ्यो । पलेँटी खोलेर खुट्टा फैलाइदिएँ भने रमाउँदै बुरुक्क उफ्रेर टाढा पुग्थ्यो र सम्पूर्ण जीउ मर्काउँदै कुर्कुच्चामा आक्रमण गर्थ्यो । हनि दिनदिनै मसँग नजिक हुँदै गयो । 'हनिले तपाईँलाई अति माया गर्छ ।' हाम्रो क्रीडा देख्नेहरू प्रायशः मुख खोल्थे । 'मान्छेले माया मारेको थाहा पाएजस्तो छ यल्ले । धन्न यो मान्छे भइदिएन !' मेरो उत्तरले प्रशंसकलाई अचम्भित तुल्याउँथ्यो । अप्रत्याशित उत्तरले एक छिन 'के भनूँ के नभनूँ' जस्तो गरी अन्त्यमा धूलो झार्थे, 'आजकलका पढेलेखेका मान्छेका कुरा बुझी नसक्नु छ बा ! के-के भन्छन् के-के !' जेहोस्, प्रशंसकसँगको मेरो सम्बन्ध त्यस्ता जबाफका कारण कहिल्यै बिग्रेन । कारण थियो, जबाफलाई तिनीहरू विद्वता ठान्थे । तर मलाई त्यस्तो लाग्दैनथ्यो । हामी बसेको घर गहिरोमा पर्थ्यो । चारैतिर अग्लो पर्खाल थियो । कम्पाउन्डबाहिर निस्किन एउटा मात्र गेट थियो । गेटको दायाँबायाँ अथवा तलबाट छिर्न सक्ने सानो छिद्र पनि थिएन । कम्पाउन्डको भित्रबाहिर गर्न त्यही एक मात्र ढोका निर्विकल्प थियो । पर्खाल नाघेर बाहिर जाने कुरो सम्भव थिएन । भन्नुको अर्थ, हनिको सम्पूर्ण संसार बार आना जग्गामा वरिपरि बनेका पर्खालका कम्पाउन्डभित्र सीमित थियो । घरका मानिस ओहोरदोहोर गरेका बेला त्यो निस्कन खोज्थ्यो । तर सबैजना बाहिर निस्केर हराउला भन्नेमा शतप्रतिशत सचेतता अपनाउँथे । हेर्नमा राम्रो भएकाले जसले पनि अपहरण गर्न सक्ने सम्भावना पनि थियो । अरू कुकुरसँग लागेर हेर्नै नहुने फोहोर होला भन्नेमा पनि सबै सचेत थिए । सुन्दरता नै त्यसका लागि बाधक थियो । त्यति हुँदा पनि कम्पाउन्डबाहिर निस्किनेको पछि लागेर ढोकासम्म पछयाउन छाड्दैनथ्यो । पछयाउनुमा 'कसैले बाहिर लगिहाल्छ कि' भन्ने आशा हुँदो हो । तर कसैले लग्दैनथे । मसँग बाहिर जानचाहिँ त्यो विशेष जोड गर्थ्यो । अफिस जाने समय भएपछि ढोकैमा गएर कुरी बस्थ्यो । ढोकाबाहिर निस्कन आँट्दा खुट्टामा लुट्पुटिएर निस्कन बल गर्थ्यो । एक छिन घम्साघम्सी पर्थ्यो । त्यो बाहिर निस्कन खोज्ने, म भित्र धकेल्ने । 'लाँदैन' भन्ने कुरामा विश्वस्त भएपछि रिसले एकचोटि भुक्थ्यो र खुरुरु दौडेर गएर बार्दलीमा उक्ली टुलुटुलु हेर्थ्यो । त्यसको हेराइले मलाई लाग्थ्यो, 'तिमीजस्तै मान्छे पा'को भए सम्भवतः जिन्दगी छियाछिया हुन्थेन कि ।' बेलुका अफिसबाट फर्किने समयमा बार्दलीमा बसेर मूल ढोकातिर आँखै नझिम्काई हेरिरहेको हुन्थ्यो । टाढाबाट आउँदै गरेको देख्नासाथ खुरुरु दौडेर ढोकाको कापमा बसिरहेको हुन्थ्यो । त्यसैले मेनगेट खोल्दा सधैँ ढोकाले लाग्ला भनेर सचेतता अपनाउनुपर्थ्यो । ढोका खोल्नासाथ खुट्टामा लुट्पुटिएर स्वागत गर्थ्यो । जुरुक्क उचालेर अँगालोमा बोक्यो भने पुच्छर हल्लाउँदै ज्रि्रोबाहिर निकाली मुख चाट्न खोज्थ्यो । टाउको सुम्सुम्याइदिएर भुइँमा राखिदिएपछि अगाडिका दुई खुट्टाले गोलीगाँठानेर टेक्दै ठाडो पर्थ्यो । फेरि पनि बोक्न भनेको होला । तर नबोकी अगाडि बढ्दा रमाउँदै अघिपछि कुद्दै-उफ्रिँदै अगाडिअगाडि स्कर्टिङ गर्थ्यो । हनिको संसार कम्पाउन्डभित्र सीमित थियो । सजातीयसँगको सर्म्पर्क शून्य थियो । त्यति हुँदाहुँदै पनि धेरैको प्यारो थियो । हनि जब लक्का जवान भयो अनि बाहिर जान जिद्धी गर्न थाल्यो । जान नदिनेलाई आँखा तरेर हेर्थ्यो । 'ङुर्र्' गरेर रिसाएको जनाउनसमेत दिन्थ्यो । चिनेकै केटाकेटीलाई समेत झम्टेर भुक्थ्यो र तर्साउँथ्यो । केटाकेटीहरू त्यसको छेउ पर्न छाडे । बाहिर जाने प्रयत्न सफल नभएपछि त्यो एकान्तमा गुटुमुटु परेर बस्थ्यो । त्यस्ता बेला कसैले बोलाए पुच्छर हल्लाएर लुट्पुटिनुको सटटा 'ङुर्र्....' गरेर रिस देखाउँथ्यो । कसैले छुन खोजे टोक्न झम्टिन्थ्यो । तर टोकिहाल्दैनथ्यो । सानो छँदा ज्ञानी देखिएको हनि जवान भएपछि उग्र भयो । मान्छेसँग भन्दा बढी जीउमा बस्न आउने झिँगासँग रिस पोख्थ्यो । क्वाप्पै टोकूँलाजस्तो गरी झम्टन्थ्यो । झिँगा उडेर अन्त गई बसे त्यतै थुतुनो बटारेर टोक्न खोज्थ्यो । झिँगा |