|
कल्पनाको क्यानभास ? शर्मिला खड्का (दाहाल) प्रिय बहिनी अनामिका ! तिम्रो 'समयको क्नानभासमा' पढेँ। तिमी उही प्रिया (साहित्य) को अर्को रूप रहिछ्यौ। वास्तवमा तिमीले परिचयको ढोका नखेलेर अपरिचयतामा नै परिचयको हजारौँ ढोका खोल्न बाध्य बनायौ मलाई। तिमीले मलाई छोडेर गएपछि म निकैबेर तिमीलाई पर्खिरहेँ।तर तिमी आइनौ। मैले यसबीचमामा तिमीभित्र अनुमानका धेरै बिस्कुन फिँजाएँ। तिमी तल्लो स्तरकी नारी हौ, जो स्वार्थपूर्तिको कुनै आधार नहुँदा बिनाधार जोसुकैलाई जहाँ पनि छोड्न सक्छ्यौ अथवा तिमी सीमाछेउका सामाहरू ओसारपसार गर्ने क्यारिअर हौ, जसलाई मेरो उपस्थितिले बाधा पुर्ाइरहेको हुन्छ, अथवा तिमी कुनै सभ्य नारी हौ जसलाई परपुरुषसँग हिँडेको कसैले देख्छ कि भन्ने त्राश हुन्छ। तिमी धेरैबेर नआउँदा मैले यस्तै अडकलको डोरीमा तिमीलाई अड्काइराखेँ। त्यसपछि म त्यहाँबाट डोरिएँ। व्यक्तिले आफूलाई नकारात्मक सोचमा मात्र हिँडायो भने ऊ गलत बाटो हिँड्न सक्छ। त्यसैले मैले तिमीप्रति सकारात्मक सोच राख्न थालेँ।तिमीले मलाई त्यस बेलासम्म साथ दिएकी थियौ।तिम्रो सहयोग कम मह्त्त्वपूर्ण थिएन। तिमीभित्र मैले अलिकति प्रेम र अलिकति विश्वास रोपेको थिएँ। नत्र भने अहिले स्वार्थीपनले निलेको समयमा तिमीजस्तो सहयोगी भेटाउन मुस्किल पर्न सक्थ्यो। तिमीले मेरो शिरमा विश्वासको एउटा श्रीपेच पहिराएकी थियौ। जसलाई मैले सजिलै फ्याँक्न हुँदैनथ्यो। तिम्रा आँखाहरूमा मैले समस्या र बाध्यता पढेको थिएँ। त्यसैले राहतका केही आहत लिन तिमी जोगवनी गएकी हुन सक्थ्यौ। तिम्रा ओठहरू बोल्न नसकेका धेरै शब्दहरूले सुकेका देखिन्थे। मैले तिमीलाई आफूभित्र प्रवेश गराएको थिएँ। तिमी मेरो कथाकी एउटा पात्र हुन सक्थ्यौ। त्यसैले तिमीसँग बिताएका प्रत्येक पललाई सजाव बनाउँदै लगेको थिएँ। तिमी मेरो कथाको प्रतिबिम्ब थियौ। तिम्रा आँखामा मेरा कथाका घटनाहरू सलबलाइरहेका पाएँ। तिम्रा ओठमा मेरो कथाका शैली र प्रस्तुति मुस्कुराइरहेका थिए। तिम्रा शरीरका प्रत्येक अङ्गले बिम्ब र प्रतीक झल्काइरहेका थिए। तिम्रा हिँडाई र चालमा मैले मेरा कथाका शब्द र अलङ्कार सलबलाइरहेको पाएँ। तिमीसँग बिताएको प्रत्येक समय मेरा कथाका विषयवस्तु थिए। कतै तिमीले मलाई चिनेकी छैनौ ? भन्ने आशङ्का मनमा पलाएको थियो। तिमीले अव्यक्त रूपमा नै यी कुराहरू व्यक्त गरिरहेकी थियौ। म पनि तिमीले देखाएको अज्ञानतामा रमाइरहेको थिएँ।जसरी एउटा बाल अनभिज्ञतामा नै क्षणिक शुसीका लागि रमाइरहेको हुन्छ।त्यसैले तिमीभित्र मैले अलिकति माया रोपेको थिएँ। तर तिमीलाई पनि कुनै समस्या परेको हुनसक्थ्यो जुन मेरो उपस्थितिमा गर्न वा भन्न अप्ठ्यारो भएको हुन सक्थ्यो त मैले यति चाँडै तिम्रो आस्थाको दियो निभाउन हुँदैनथ्यो। त्यसैले तिमीप्रति सकारात्मक सोच राख्तै तिमीभित्र रोपेको मायालाई हुर्काउँदै लगेँ।तिम्रो बिदाइलाई मैले हाँसीहाँसी स्वीकारेँ।म तिम्रै विषयमा नानाथरीका कल्पना, परिकल्पनामा डुब्दैउत्रँदै हिँडेँ।कल्पनाको क्यानभासमा अनेकौँ चित्र कोरिँदै गए, मेटिँदै गए। तर म थाकिनँ, कोर्दै गएँ, कोर्दै गएँ। अन्तिममा गएर छायालाई कल्पनाको यस्तो बिन्दुमा पुर्याएँ जुन बिन्दुलाई व्यक्तिले जुन रूपमा हेर्छ प्रेमको त्यही रूपमा पाउँछ। त्यहाँ उसले प्रेमको जुन आकार कोर्न खोज्छ त्यही आकार पाउँछ। त्यो कलाकारिताको एउटा उत्कृष्ट नमूना थियो।प्रेमको उत्कृष्ट कलाकारिता, जसले जुन प्रतिमूर्ति स्थापना गर्न चाहन्छ त्यही राख्न सक्छ। मैले आफ्नो साहित्यसाधनामा तिम्रो सान्निध्यमा यो अमूर्त कला रच्न सकेँ। यसका लागि तिमीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। यो कथा तिमीजस्तै हजारौँ मेरा प्रिय आत्मालाई समर्पित गर्न चाहन्छु। सायद यसको शीर्षक मैले 'तिम्रो सम्झनामा' राख्न रूचाएँ। तिम्रो सम्झनामा, तिमीसँग जब बिहान ब्यूझन्छ, एउटा अन्धकार निलेर तब उषाको लालीले धर्तीमा सजीवता छरेझैँ छरिन्छन्, तिम्रा सजीव पाइलाहरू। तिमीसँग बग्छन् वर्तमानहरू अनि समयको लहरसँगै खुसीहरू तरङ्गित हुन्छन्।जब तिम्रो हाँसो फुल्छ लालीगुराँसझैँ अनि असीमित आनन्दहरू आफैँ फैलन्छ, हावामा सुगन्ध फैलिएझैँ।तिमी जहाँजहाँ फैलन्छौ, सम्पूर्ण आयतन ओगट्न सफल हुन्छ्यौ, तिमी जीवन्त भएर तिम्रो अज्ञानताले भरिएको क्रीडाले समयलाई रोकिदिन्छ। जसरी सहरको घन्टीसँगै नागरिकहरू समयको पछि दौडिरहेका हुन्छन्, हो त्यसरी नै तिम्रा प्रत्येक क्रीडामका पछि समय दौडिरहेको हुन्छ। तिम्रा मधुर पदचाप मन्दिरको कर्णप्रिय घन्टी झैँ झङ्कृत भइरहन्छ। तिमीले अज्ञानतावस गरेका गल्तीहरू पनि सहज भइदिन्छ। तिमीसँग एउटा कालजयी समय छ जोसँग तिमी बाँचिरहेकी छ्यौ। तर कुनै बेला तिमीलाई गाह्रो भइदिन्छ, आफ्नो समयसँग बाँच्न। तिमीलाई हिँड्न कठिन भइदिन्छ,तिमीलाई भोग्न कठिन भइदिन्छ, अनि प्रत्येक पाइलामा झारिदिन्छ्यौ मोतीरूपी आँसुहरू, म पनि बग्छु- तिम्रो बैँसालु खहरेसँगै। केही समयपछि बैँस सकिएको खहरे जब सुक्छ, तिमी पनि सुकिदन्छौ केही नभएजस्तो गरी। तिम्रा प्रत्येक क्रियाकलाहरू सहज भइदिन्छन्। सायद तिमीले सहजताका दुबेमाला पहिरेकी छ्यौ। जुन जुनसुकै परिस्थितिमा पनि हरियो नै भइरहन्छ। म सोच्छु, तिमी यो संसार हौ, तिमी नै सृष्टि हौ, तिमी नै सागर हौ।तिमीभित्र म आफ्ना धेरै पीडाहरू लुकाउन चाहन्छु। एउटा समुद्र अथाह पीडा बोकेर पनि शान्त र सुरम्य हुनुपर्ने बाध्यताले थिचिएझैँ, म आफ्ना पीडाहरू तिमीभित्र गर्भित गर्न चाहन्छु। तिमी समुद्र हौ, तिमीभित्र अथाह सुन्दर वस्तुहरू छन्। जसलाई प्राप्त गर्न म लालायित भइरहेको हुन्छु, म आफ्ना फुलाउन नसकेका आलाकाँचा चाहनाहरू तिमीसँग साट्न चाहन्छु। तिमी चौतारी हौ। जहाँ म सुस्ताउन चाहन्छु। तिमी मेरो सृष्टि हौ। तिमीलाई मैले सिर्जना गरेँ। तिमीले एउटा सिङ्गो संसार बोकेकी छ्यौ। तिमीमा म संसार देख्छु। गीतामा अर्जुनले कृष्णमा अलौकिक शक्ति समाहित भएको देखेझैँ म पनि तिमीमा त्यो सार्वभौम संसार देख्छु। तिमीमा भूत, वर्तमान र भविष्य देख्छु। म प्रत्येक पल यसैमा बाँचेको हुन्छु। तिमीलाई कुनै कालले, दोष, आक्षेप, कष्ट नदिउन्, म यसैमा हराइरहेको हुन्छु तिमीले बाँच्नुपर्छ काललाई हराएर मृत्युलाई जितेर। तिमीले हराइदिनुपर्छ ती सम्भावनाहरूलाई जसले मृत्युलाई विजयी बनाउँछ। जसरी कालो रातलाई निलेर दिनले निर्जीव बनाउँछ, हो त्यसरी नै तिमीले निलिदनुपर्छ मृत्युलाई। तिमी समय हौ, त्यसैले समय आफैँदेखि भागेर टाढा जान सक्तैन। पलपल बाँचिरहेकी छ्यौ। तिमी मेरो मुटुमा, मेरो मानसपटलमा कहीँ कतै। कुनै बेला तिम्रा अबोध चाहनाहरूसँग म रोकिन्छु, ठोकिन्छु, अनि टुक्रिन्छु। तर म असीमित आनन्दसँग तिम्रा चाहनाहरू साटिरहेको हुन्छु। कहिलेकाहीँ म तिमीभित्र सुन्दर कलाकृति देख्छु। एउटा उत्कृष्ट कालिगढको कला हौ तिमी जसमा धेरै कुराहरू झल्किरहेको हुन्छ। तिमी शुक्लपक्षको चन्द्र हो जो दिनपरदिन आफ्नो उज्ज्वलता बढाइरहेको हुन्छ। जसको मधुर प्रकाशले अद्भूत आनन्द दिइरहेको हुन्छ। तिम्रा अबोध आँखाले धेरै कुरा बोध गराइरहेको हुन्छ। जहाँ इच्छा छ, चाहना छ, जिज्ञासा छ, उत्सुकता छ। तिमी कहिलेकाहीँ असीमित चाहनाहरू व्यक्त गर्दछ्यौ। जुन चाहना मेरा लागि महाभारत बनेर अगाडि तेर्सिदिन्छ। तिमी कहिले जिज्ञासाको ब्रम्हास्त्र प्रहार गर्छ्यौ। म मर्माहत हुन पुग्दछु, तिम्रो अस्त्रदेखि। कहिलेकाहीँ तिमी उत्सुकताको बिस्कुन छरिदिन्छ्यौ, आकाशमा हजारौँ तारा छरिएझैँ। म आफू असमर्थ हुन्छु ती उत्सुकता बटुल्न। तिम्रो हरेक क्रियाप्रतिक्रियाबाट म एउटा समीकरण तयार गर्छु जसलाई समाधान गर्न मलाई केही समय लाग्न पनि सक्छ, अथवा वर्षौँ लाग्न सक्छ। तिमीले देखाएका साधारण क्रियाकलाप पनि कहिलेकाहीँ मेरा लागि अद्भूत हुन पुग्दछ। तिम्रा अलौकिक क्रियाकलाहरू आफूमा एउटा सुन्दर उदाहरण हुन्, तिमी उत्कृष्ट हुनुका। तिम्रा पछाडि हजारौँ ईर्ष्यालु सर्पहरू पछ्याइरहेका पनि हुन सक्छन् तर तिमी निर्दोष छ्यौ। तिम्रो निर्दोषपन नै मेरो कमजोरी भइदिन्छ। मेरो कमजोरीले तिमीलाई बिगार्न पनि सक्छ, त्यसैले म सतर्क भइदिन्छु बेलाबखत। आफूलाई नियन्त्रित पार्न जतिसुकै कठिन भए पनि म प्रयासरत रहन्छु नत्र बने मेरो कमजोरीपनाले तिमीमा विकृति देखा पर्न पनि सक्छ। जसले तिमीलाई जीवनपर्यन्त असफल बनाइदिन सक्छ किनभने तिमी मेरो सुन्दर भविष्य हौ। तिमीभित्र मेरा धेरै सपनाहरू छन्। यी सपनाहरू जीवन्त पार्न सक्नुपर्छ तिमी भोलिको सुन्दर आशा हौ जसले धेरै निराशाहरूलाई आकृतिविहीन बनाउन सक्नुपर्छ। लाग्छ, यो समय रोकियोस्। सधैँ स्थिर भइरहोस्, कहिल्यै नबगोस्, तर प्रकृति आफ्नो नियममा चलिरहन्छ जसलाई कसैले नियन्त्रणमा लिन सक्तैन। त्यसैले बगिदिन्छु तिमीसँग, प्रकृतिसँग थाहा छैन मलाई कहाँ पुर्याउँछ, कहाँ डोर्याउँछ। हृदयमा एउटा मीठो अतीत भएर तिमी बाँचिदिन्छ्यौ। हाम्रो मिलन, त्यो एउटा समय थियो, त्यो एउटा संयोग थियो, त्यो आवश्यक थियो। मैले तिमीभित्र आत्मविश्वासको एउटा दरिलो मन्दिर तयार गरिदिएँ जहाँ प्रेम, आस्था र विश्वासका त्रिमूर्तिहरू सजिए। तिमी पूजा गर्न थाल्यौ। त्यस बेला त तिमी प्रत्येक पाइलामा सफलताको खुड्किलो चढ्दै गयौ। तिमीभित्र सत्य थियो। जुन सत्य यथार्थमा परिणत भएको थियो। प्रेमको परिभाषा आआफ्नै हुन्छ। प्रेम नै ईश्वर हो। प्रेम नै पूजा हो। प्रेम नै संसार हो। तिमीप्रतिका मेरा प्रेमका परिभाषा धेरै छन्। जसरी आकाशमा सप्तरङ्गी इद्रेणीले रङको हजारौँ किरण फैलाउँछ। हो, त्यसरी नै तिमीप्रतिको मेरो प्रेमको परिभाषा खुल्न आउँछ। जीवन अमूल्य छ। यहीँ अमूल्यता जन्माउँछ, प्रेमको परिभाषालाई,तर तिमी कसरी स्वीकार गर्छौ नै मेरो प्रेमलाई। मैले तिम्रो सम्झनामा यी शब्दहरू कोरिदिएको थिएँ। समयले यति चाँडै हामीसँग ईर्ष्या गर्छ होला भनेर मैले सोचेको थिइनँ। त्यो वर्तमान त्यति चाँडै अतीत बन्ला भन्ने पनि सोचेको थिइनँ। तर भयो, व्यक्तिले आफूले सोचेकै कुरा मात्र हुनसक्छ भन्न सकिन्न रहेछ। तिम्रो कथा पढेपछि थाहा पाएँ वास्तवमा तिमी त्यस समय पेन्टी र ब्रा किन्न गएकी रहिछ्यौ। त्यसपछि तिमीप्रतिको मेरो भ्रमलाई तिम्रो सम्झनाले धोइपखाली गरिदिए। वास्तवमा नै तिमीसँगको मेरो भेट एउटा संयोग, एउटा आवश्यक र एउटा समय थियो। जसको क्यानभासमा मैले आफ्नै अमूर्त रचना कोर्न सकेँ। तिम्रो र मेरो बिछोड पनि एउटा समय थियो। दिनपछि रात अपरिहार्य भएझैँ यो पनि अकाट्य थियो। जसको क्यानभासमा तिमीले आफ्नो प्रेमको परिभाषा देखाउन सक्यौ। त्यस समयलाई यति जीवन्त र मार्मिक बनाउन सफल भयौ। वास्तवमा शाश्वत प्रेम भनेको यही हो। तिमीले बुझेको प्रेमको परिभाषा र मैले व्याख्या गरेको प्रेमको परिभाषा एउटै रहेछ। तिमी स्वयम् एउटा सफल कथाकार रहिछ्यौ। तिमी पनि यो कथा पढेर आफ्नो कथाकारितालाई वा मलाई नै प्रतिमूर्ति बनाएर 'तिम्रो सम्झनामा' स्थापित गर्न सक्छौ। जसरी मैले तिमीलाई स्थापित गरेँ। उही तिम्रो प्रिय कथाकार दिवाकर नेपाली। ³³³ |
|
|
साहित्यसञ्चार समूहकी संस्थापक सदस्य शर्मिला खड्का दाहाल बालसाहित्यमा विशेष रुचि राख्नुहुन्छ। उहाँका सानी, सानीको साहस र मित्रताको महत्त्व गरी तीन बालउपन्यासहरू प्रकाशित छन्। एउटा कथासङ्ग्रह प्रकाशोन्मुख छ। उहाँले सानी बाल उपन्यासमा साझा बाल पुरस्कार प्राप्त गर्नुभएको छ र हालसालै अनेसास अमेरिकाबाट पनि सोही पुस्तकमा पुरस्कार प्राप्त गर्नुभएको छ। हाल इटहरीमा बसोबास गर्ने शर्मिला कथासाहित्यको पनि सिर्जना गर्नुहुन्छ। सम्पर्कः sakhada4@yahoo.com |