|
एक दृष्टिपात मेरो घरमाथि ? सविना सिन्धु
आमाको दूध चुस्न बिर्सिएर बालक चाउरी परेको छ। यो मेरो परिपक्वताको प्रतीक हो। यो मेरो सभ्यताको सङ्केत हो। खबरदार ! मेरो गालामा थप्पड नमार ऊ बोल्न थालेको छ मेरो विरुद्धमा ल्याक्टोजेनका बट्टाहरू अङ्कमाल गरेर कुकर्मले हद नाघेको छ। मैले प्रष्ट्याएँ तिमीले चोरेका छौ तर तिमी चोर होइनौ आफ्नै पतन रुचाएछौ
मेरो उचाई केवल धूलो भएर अग्लिदिन्छ र धूवाँ भएर फैलिन्छ। यसमा फूलको सुगन्ध छैन वा भनौँ सामन्तीको चुसाईले फुङ्ग उडेको छ हावा छैन र त स्वासहरू रुमल्लिन्छन् पीरो धूवाँहरूमा चिम्नीको अभावमा। परी कथाका वाहियात गफमा भुल्ने गर्छन् मूर्ति भनेर ढुङ्गालाई पुज्ने गर्छन्। ऐँसेलुका काँडाहरू फुल्छन् मुटुभरि संस्कृतिको छेउमा विकृतिलाई जन्माएर सेलरोटीझैँ घुम्छन् तिहार र दसैँहरू। बूढी बजैको थैली रित्याएर। मेरो घरमा, प्रत्येक रात अँध्यारो गल्लीभित्र तर्सिन्छ। प्रत्येक दिन साँघुरो घेराभित्र तड्पिन्छ।
मेरो घर सानो छ चिटिक्क परेको तर थोत्रो ढोका त जीर्ण छ त्यसैले यहाँ प्रत्येकले झ्यालबाट छिर्ने अभ्यास गर्नुपर्दछ।
³³³ |
|
|
कपिलाबोट- ९, सिन्धुलीमा जन्मिनुभएकी सुश्री सबिना सिन्धु विशेषतः कविता र बालकथा लेख्नुहुन्छ। उहाँका परिवर्तन (कविता सङ्ग्रह) र सूर्योदयको क्यानभास (संयुक्त कविता सङ्ग्रह) गरी दुई कृतिहरू प्रकाशित छन्। लिटरेचर नेपाल, नवक्षितिज साहित्यिक समाज आदिजस्ता संस्थामा आबद्ध उहाँलाई प्रज्ञा कथा पुरस्कार(2061) आदि पुरस्कारहरूबाट सम्मानित गरिएको छ। |