एक दृष्टिपात मेरो घरमाथि

                                ? सविना सिन्धु

 

आमाको दूध चुस्न बिर्सिएर

बालक चाउरी परेको छ।

यो मेरो परिपक्वताको प्रतीक हो।

यो मेरो सभ्यताको सङ्केत हो।

खबरदार !

मेरो गालामा थप्पड नमार

ऊ बोल्न थालेको छ मेरो विरुद्धमा

ल्याक्टोजेनका बट्टाहरू अङ्कमाल गरेर

कुकर्मले हद नाघेको छ।

मैले प्रष्ट्याएँ तिमीले चोरेका छौ

तर तिमी चोर होइनौ

आफ्नै पतन रुचाएछौ

 

मेरो उचाई केवल धूलो भएर अग्लिदिन्छ

र धूवाँ भएर फैलिन्छ।

यसमा फूलको सुगन्ध छैन

वा भनौँ सामन्तीको चुसाईले

फुङ्ग उडेको छ

हावा छैन र त स्वासहरू रुमल्लिन्छन्

पीरो धूवाँहरूमा चिम्नीको अभावमा।

परी कथाका वाहियात गफमा भुल्ने गर्छन्

मूर्ति भनेर ढुङ्गालाई पुज्ने गर्छन्।

ऐँसेलुका काँडाहरू फुल्छन् मुटुभरि

संस्कृतिको छेउमा विकृतिलाई जन्माएर

सेलरोटीझैँ घुम्छन् तिहार र दसैँहरू।

बूढी बजैको थैली रित्याएर।

मेरो घरमा,

प्रत्येक रात अँध्यारो गल्लीभित्र तर्सिन्छ।

प्रत्येक दिन साँघुरो घेराभित्र तड्‌पिन्छ।

 

मेरो घर सानो छ

चिटिक्क परेको तर थोत्रो

ढोका त जीर्ण छ

त्यसैले यहाँ प्रत्येकले झ्यालबाट छिर्ने अभ्यास गर्नुपर्दछ।

 

³³³


कपिलाबोट- ९, सिन्धुलीमा जन्मिनुभएकी सुश्री सबिना सिन्धु विशेषतः कविता र बालकथा लेख्‍नुहुन्छ। उहाँका परिवर्तन (कविता सङ्ग्रह) र सूर्योदयको क्यानभास (संयुक्त कविता सङ्ग्रह) गरी दुई कृतिहरू प्रकाशित छन्। लिटरेचर नेपाल, नवक्षितिज साहित्यिक समाज आदिजस्ता संस्थामा आबद्ध उहाँलाई प्रज्ञा कथा पुरस्कार(2061) आदि पुरस्कारहरूबाट सम्मानित गरिएको छ।