मैकू

? मुन्सी प्रेमचन्द

 

कादिर र मैकू ताडीखानाको अगाडि पुग्दा त्यहाँ काङ्ग्रेसका भल्युन्टियरहरू झन्डासहित देखा परे। दैलाको यताउति गर्दा हजारौँ दर्शकहरू उभिएका देखिन्थे। बेलुकाको समय थियो। त्यसबेला यस गल्लीमा पियक्कडहरूबाहेक कोही हिँड्दैनथे। भलाद्मीहरू त्यस बाटामा हिँड्न हिचकिचाउँथे। पियक्कडहरूका स-साना टोलीहरू आउँदैजाँदै गरिरहन्थे। दुई-चार वेश्याहरू पनि दोकान अगाडि उभिएका देखिन्थे। आजको यस्तो भीडभाड देखेर मैकूले भन्यो- "ओए, निकै भीड छ त हौ, दुई-तीन सय मान्छे त होलान्।"

कादिरले हाँस्दै भन्यो- "भीडै देखेर डराइस कि क्या हो ? यी सबै हुर्र हुन्छन्, एउटै पनि टिक्दैनन्। यहाँ त मान्छे तमासा हेर्न पो आएका त लट्ठी खान त हैन नि।"

मैकूले सन्देहास्पद स्वरमा भन्यो- "पुलिसका जवानहरू पनि बसेका छन्। ठेकादारले त भनेका थिए, पुलिसले केही गर्दैन।"

"अँ हौ, पुलिसले केही गर्दैनन्। तेरो सातो चाहिँ किन गएको नि। पुलिसले त्यहीँ मात्रै केही गर्छ जहाँबाट उसलाई चार पैसाको आम्दानी होस् या कुनै आइमाईको मामिला होस्। यस्ता बेकामे कुरामा पुलिस फँस्दैन। पुलिसले त अझ पक्ष लिन्छ। ठेकेदारबाट त यिनले वर्षमा सैकडौँ रूपैँया लिन्छन्। पुलिसले यसबेला उसको मद्दत नगरे कसले गर्छ त ?"

"ठीकै छ, आज आफ्ना भागमा पनि दस त आयो। सित्तैमा पिउन पनि पाइन्छ, तर काङ्ग्रेसका ठूलठूला मान्छेहरू आउँछन् रे,  तिनीहरूले कतै हाम्रो दोष निकाले भने त राम्रो भएन नि।"

"अबे, कसैले दोष-सोस निकाल्दैनन्, तँ चाहिँ किन मर्न आँटेको ? कसैले उनीहरूलाई मार्नै खोजे पनि काङ्ग्रेसवालाहरू कसैमाथि हात उठाउँदैनन्। नत्रभने त्यसदिन दस-बाह्र चौकीदारहरूको त्यत्रो साहस कहाँ पुग्थ्यो र दस हजार मान्छेलाई कुट्ने। चारजना त त्यहीँ लडेका थिए तर पनि कसैले हात फर्काएनन्। यिनका महात्मा छन् नि, निकै ठूला फकीर(साधू) हुन्। उनैको हुकुम छ रे चुपचाप पिटाइ खाने, र झगडा नगर्ने।"

यस्तै कुरा गर्दागर्दै दुवैजना ताडीखानाको ढोकामा पुगे। एकजना काङ्ग्रेस स्वयम्‌सेवकले हात जोडेर भन्यो 'हजुर, तपाईँको धर्ममा त ताडी हराम हो नि, हैन ?'

मैकूले यस कुराको जबाफ थप्पडले दियो। यस्तो थप्पड कि स्वयम्‌सेवकका आँखाबाट आँसु झरे, र झन्डै लड्यो पनि। अर्को स्वयम्‌सेवकले आएर नसमाएको भए ऊ पक्कै लड्थ्यो। उसका गालामा पाँचवटा औँलाहरूको रक्तिम छाप देखिन्थ्यो। तर थप्पड खाएर पनि ऊ आफ्नो स्थानबाट हटेन।

मैकूले रिसकै झोँकमा भन्यो- "अब हट्छस् कि अझै चाहियो ?"

स्वयम्‌सेवकले नम्र भएर भन्यो "यदि हजुरको त्यस्तै इच्छा भए, मेरो अनुहार हाजिर छ। जति चाहनु हुन्छ, त्यति कुट्नुहोस्। तर भित्र नजानुहोस्।" यति भनेर ऊ मैकूको अगाडि बस्यो।

मैकूले स्वयम्‌सेवकका अनुहारमा दृष्टि फ्याँक्यो। उसका पाँचवटा औँलाहरूको छाप स्पष्ट देखिइरहेको थियो। मैकूले यसभन्दा पहिले आफ्नो लट्ठीले फूटेका टाउकाहरू कति हो कति देखेको थियो तर आजजस्तो ग्लानि उसलाई कहिल्यै भएको थिएन। ती पाँच औँलाहरूको छापले, उसका हृदयमा पञ्चशूलले झैँ घोचिरहेको थियो।

कादिर चौकीदारको छेउमा उभिएर चूरोट पिउन थालेको थियो। त्यहीँ उभिएर भन्यो- "अब के हेरेको तैँले, फेरि कस्सिएर दे एकपल्ट।"

मैकूले स्वयम्‌सेवकसँग भन्यो- "तँ उठ र मलाई भित्र जान दे।"

"तपाईँ मेरो छातीमा टेकेर भित्र जान सक्नुहुन्छ।"

"म भन्दै छु, उठ् यहाँबाट। म भित्र गएर ताडी पिउँदिनँ, अर्कै काम छ।"

मैकूको दृढता देखेर स्वयम्‌सेवक उठेर उसलाई बाटो छाडिदियो। मैकूले मुस्कुराउँदै उसलाई हेर्दा स्वयम्‌सेवक फेरि हात जोडिरहेको थियो- "आफ्नो वाचा नभूल्नूहोला नि।"

एउटा चौकीदार भन्दै थियो- "लातको अगाडि भूत पनि भाग्छ। एक थप्पडमै ठीक भै हाल्यो।"

त्यसमाथि कादिरले थप्यो- "यो थप्पड यसले जीवनभर याद राख्‍नेछ। मैकूका थप्पडहरू सहनु कुनै सानोतिनो काम हैन।

"आज यिनीहरू सबलाई यसरी नै ठोक्नुपर्छ, जसले यिनीहरूले यताउति गर्ने नामै नलिऊन्।"

"खुदा को मर्जी भो भने, यता आउँदा पनि आउँदैनन्। तर सबै हिम्मतवालाहरू छन् है। ज्यान हत्केलामा लिएर हिँड्छन्।"

³³

मैकू भित्र जाने बित्तिकै ठेकेदारले स्वागत गर्‍यो- "आऊ मैकू मियाँ, एकै झापट मात्र किन लगाएको ? एक झापटले यिनमा के असर होला र ? सबै नशाको लतले मातेका छन्। जति पिटे पनि असर नै छैन। ल आज सबैको हातखुट्टा भाँचिदेऊ, फेरि यता हेर्ने हिम्मत नगरून्।"

"अरू कोही आउँदैनन् त ?"

"आए भने तिनीहरूको पनि ...।"

"अनि यी तमासा हेर्नेहरूले ममाथि लट्ठी बर्साए भने ?"

"त्यसो हुँदा पुलिसले उनीहरूलाई भगाउँछ। एक झडपमा मैदान खाली हुन्छ। ल, अब एक दुई बोलत पिऔ। आज सित्तैमा दिँदैछु।"

"यी सबै ग्राहकलाई पनि सित्तैमा ?"

"के गर्नु ? कोही आउँदैआउँदैनथे। सित्तैमा पाइन्छ भनेपछि, सबै ओइरिए।"

"म त आज पिउँदिनँ।"

"किन ? तिमीलाई भनेरै त आज ताजा ताडी मगाएको छ।"

"त्यसै ! आज पिउन मन लागेन। ल्याऊ कुनै लट्ठी ल्याऊ, हातले त हिर्काउनै सकिन्न।"

ठेकेदारले तुरुन्तै मोटो लट्ठी मैकूका हातमा दियो र कुटाइको तमासा हेर्न ढोकामा उभियो।

मैकूले एउटा हातले लट्ठीलाई तौल्यो र उफ्रिएर ठेकेदारलाई यसरी लट्ठी बर्सायो कि ठेकेदार त्यहीँ ढल्यो। त्यसपछि उसले पियक्कडहरूतिर दृष्टि फ्याँकेर लट्ठी बर्साउन थाल्यो। लट्ठी बर्साउने काम पनि यस्तो थियो कि न अगाडि हेर्थ्यो न पछाडि। जता फर्कियो त्यतै लट्ठी बर्सायो।

ताडीबाजहरूको नशा उत्रियो। अत्तालिएर भाग्न खोज्थे तर ढोकैमा ठेकेदारको लम्पसार जीउ थियो। त्यहाँबाट फेरि भित्रै पस्न खोज्थे। मैकूले तिनीहरूको स्वागत फेरि लट्ठीले गर्‍यो। आखिरमा सबै ठेकेदारको शरीरलाई कुल्चिँदै भने पनि भागे। कसैको हात भाँचियो, कसैको टाउको फुट्यो र कसैको कम्मर भाँच्चियो। यस्तो भागाभाग मच्चियो कि एक मिनटभित्रमा ताडीखानामा चराको प्वाँख पनि रहेन।

एकाएक घैँटाहरू फुटेको आवाज आयो। स्वयम्‌सेवकले भित्र हेर्दा मैकू ताडीका हाँडीहरू फुटाउन व्यस्त देखिन्थ्यो। स्वयम्‌सेवकले भन्यो "भाइ साहेब, अरे साहेब, यो के गजब गर्नु भएको ? यसभन्दा राम्रो त तपाईँले आफ्नो रिस हामीमाथि नै उतार्नुभएको भए हुन्थ्यो नि।"

मैकूले दुईचारपल्ट हात घुमाएर बाँकी रहेका हाँडी र बोतलहरू पनि फुटायो र हिँड्दाहिँड्दै ठेकेदारलाई एक लात हिर्काएर निस्क्यो।

कादिरले उसलाई रोक्दै भन्न थाल्यो "तँ बौलाइस कि क्या हो ? के गर्न आएको थिइस् र के गर्दैछस् ?"

मैकूले उसलाई आफ्ना राता-राता आँखा तर्दै भन्यो- "अल्लाहको कृपाले म जे गर्न आएको थिएँ त्यो नगरी अर्कैथोक गरेँ। तँ आँट गर्छस् भने, कुट भल्युन्टियरहरूलाई। मसँग त त्यति आँट छैन। मैले एक थप्पड हिर्काएको थिएँ, त्यसको पछुतो छ र पछिसम्म पनि रहिरहनेछ। थप्पडको छाप मेरो कलेजामा बनिएको छ। अर्कालाई कुकर्मबाट बचाउन जसले आफ्नो ज्यानको बाजी लगाएको छ, तिनीहरूमाति हात उठाउने मान्छे पाजी हो, नामर्द हो र नीच हो। मैकू लठैत हो, गुन्डा हो, तर नीच र नामर्द कदापि होइन। भन्दे पुलिसलाई, चाहन्छन् भने मलाई पक्रिउन्।"

कैयन् ताडीबाजहरू आफ्नो टाउको छाम्दै, ऊतिर भयभीत आँखाहरूले हेरिरहेका थिएँ। कसैले केही बोल्न सकिरहेको थिएन। मैकूले तिनीहरूतिर हेरेर भन्यो- "म फेरि आउँछु, यति तिमीहरूमध्ये कसैलाई यहाँ देखेँ भने, तिमीहरूको रगत पिउँछु। जेल र फाँसीबाट डराउँदिनँ। तिमीहरूको भलो अबदेखि यता नआउनैमा छ। यी काङ्ग्रेसवालाहरू तिमीहरूका दुस्मन होइनन्। तिमीहरू र तिमीहरूकै बाल-बच्चाको भलाईका लागि ताडी पिउनबाट रोकेको हो। यिनै पैसाले आफ्ना बालबच्चाको हेरचाह गर, दूध-घिउ खुवाऊ। घरमा छाक टर्दैन, स्वास्नी रोइरहेकी छ र तिमीहरू चाहिँ यहाँ बसेर पिइरहेका छौ ? धिक्कार छ यस्तो नशाबाजीलाई।"

मैकूले त्यहीँ लट्ठी फ्याँकी दियो र लामो फट्का मार्दै घरतिर हिँड्यो। यसबेला सम्म हजारौँ मान्छेहरू भेला भैसकेका थिए। सबैले श्रद्धा, प्रेम र गर्वले मैकूलाई हेरिरहेका थिए।

³³³

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।

 

मुन्सी प्रेमचन्द
जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६
उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्।