|
त्यस दिन
त्यस दिन, आफ्नो हातमा तिम्रो हात राखेर मैले आफ्ना मनका कुरा भनेको थिएँ र तिमीले खुट्टाको बूढी औँलाले भुइँको माटो कोट्याएर आफ्नो लजालु मुस्कान लुकाएकी थियौ आज मैले त्यस कोमल हरियो भुइँमा एउटा सम्बन्धको वृक्ष हुर्किएको देखिरहेछु।
निष्ठुरी
तिमी निष्ठुरी भयौ तर आश्चर्य केही छैन मलाई त्यतिबेलै शङ्का थियो जतिबेला तिमीले आफ्नो हत्केलामा मेरो नाम लेखेकी थियौ।
भोक
आधारातमा अचानक 'पाङ्ग्रे' भुक्यो म छक्क परेँ, बाले भन्नुभो, 'सुत् छोरा ! दुई दिन देखि भोकै थियो सपनामा सायद रोटी देख्यो होला।
षड्यन्त्र
दियोहरूको षडयन्त्र थियो एउटा किताब डडेर खरानी भयो हरफ-हरफ जलेर मरे तिनै हरफहरूको सनाखतबाट मैले थाहा पाएँ ज्वालाहरूको अथाह शक्ति।
हिन्दीबाट अनुवादः कुमुद अधिकारी |
![]() |
युवा कवि श्री मनीष वंदेमातरम् को जन्म उत्तरप्रदेश राज्यको गाजीपुर जनपद अन्तर्गत सानो गाउँ नसीरपुरमा भएको हो। सानैदेखि साहित्यमा रूचि राख्ने मनीषले दुईवटा उपन्यास सहित पाँच पुस्तकहरू लेखिसक्नुभएको छ। ती दुईवटा उपन्यासहरू उहाँले आफ्ना एकजना मित्रलाई उपहार पनि दिइसक्नु भएको छ। विविध विधामा कलम चलाउने श्री वंदेमातरम्-ले संस्मरण पनि लेख्नु भएको छ, जुन निकै लोकप्रिय पनि भएको छ। हाल लेखक इलाहावादमा बसेर प्रशासनिक सेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ। |