|
बाबाजी को भोग ? मुन्सी प्रेमचन्द
रामधन ग्वालाको द्वारमा एकजना साधु आएर भन्न लागे- "नानी तिम्रो कल्याण होस्, साधुलाई केही श्रद्धा गर।" रामधन भित्र गएर पत्नीलाई भन्न लागे – "द्वारमा साधु आउनुभाको छ, केही त देऊ।" पत्नी भाँडा माझ्दै थिइन्, आज खानेकुरो के पकाउने भन्ने कुराको चिन्ताले उनलाई सताइरहेको थियो। घरमा अन्नको एउटै दाना पनि थिएन। चैतको महिना थियो। तर यहाँ त दिउँसै अध्यारो भएको थियो। उब्जाएको अन्न सबै खलाबाटै सकिएको थियो। आधा साहूले लिएका थिए, आधा जमिन्दारका भरौटेहरूले वसूल गरेका थिए। भूस बेचेर गोरू व्यापारीसँगको छुटकारा पाएको थियो र आफ्नो भागमा केही अँगालो मात्र रहेको थियो। त्यसैलाई झाडेर करिब एक मन अन्न निक्लिएको थियो। जसोतसो चैतको महिना बितेको थियो। अब अगाडि के हुने हो, गोरूलाई चारो के हो, घरका प्राणीले के खाने हुन्, ईश्वरले नै जानून्। तर द्वारमा साधु आएको छ, कसरी उनलाई निराश फर्काउनु, मनमा के ठान्लान् ? पत्नी ले भनिन् – "के दिऊँ ? केही त छैन।" "गएर माटाको हाँडीमा हेर् न, अलिकति पिठो-सिठो त होला नि? जे भेटिन्छ त्यै ले।" "हाँडी टक्टक्याएर हिजो चूलो बालेको हैन ? के बचेको छ र त्यसमा ?" "मैले कसरी घरमा केही छैन भन्नू ? कहीँबाट मागेर भए पनि ल्या।" "जसजसबाट मागियो तिनीहरूलाई कहिल्दै पैँचो तिर्ने दिन आएन फेरि कसरी माग्नु ?" "भगवानका लागि भनेर केही अँजुली राखेको छ नि, त्यै ले, दिएर आउँछु।" "फेरि पूजा कसरी गर्ने ?" "भगवान माग्न त आउँदैनन् नि, सामर्थ्यले भ्याए दिने, नभ्याए नदिने।" "अरे, अँजुली पनि कहीँ एक दुई पल्ला हुन्छ र? हदै भए आधा सेर होला। त्यसपछि कोही साधु आउँदैनन् र ? फेरि पनि त जबाफ दिनै पर्यो।" "यो खड्गो काट्न पाऊँ पहिले, त्यसपछि हेरौँला।" पत्नी झर्किँदै उठिन् र एउटा सानो हाँडी लिएर आइन् जसमा मुस्किल ले आधा सेर आधा सेर पिठो थियो होला। त्यो गहुँको पिठो भगवानको प्रसादका लागि ठूलो यत्नका साथ राखिएको थियो। रामधनले केही बेर सोचे र अलिकति पिठो एउटा कचौरामा राखेर बाहिर ल्याई साधुका झोलामा हालिदिए। महात्माले पिठो लिँदै भने- "ल नानी अब त साधु आज यतै जम्छन्। अलिकति दाल पनि देऊ भने साधुको भोग लाग्छ आज।" रामधनले फेरि आएर पत्नीलाई भने। संयोगले अलिकति दाल घरमा थियो। रामधनले दाल, नून, र आगोको व्यवस्था गरिदिए। इनारबाट पानी पनि तानेर ल्याइदिए। साधुले विधिपूर्वक पिठोका डल्ला बनाए, दाल पकाए र झोलाबाट आलू निकालेर भुर्ता बनाए। सबै तयार भएपछि रामधनलाई भने- "नानी भगवानको भोगका लागि अलिकति(एक कौडीजति) घिउ चाहियो। भान्सा पवित्र नभई कसरी भोग लगाउने ?" रामधनले भने – "बाबाजी, घिउ त छैन घरमा।" "नानी, भगवानले दिएको थुप्रै कुरा छन् तिमीसँग। त्यसो नभन।" "महाराज, मेरामा गाई, भैँसी केही छैनन्, घिउ कसरी हुन्छ र ?" "नानी, भगवानको भँडारमा सबैथोक पाइन्छ, घर मालिक्नीसँग गएर सोध त।" रामधनले गएर पत्नीसँग भने- "घिउ माग्दै हुनहुन्छ, खानचाहिँ मागेर, घिउबिना चाहिँ गाँसै नछिर्ने।" "त्यसो भए यही दाल अलिकति लगेर बनियाँकहाँ बाट ल्याइदेऊ। यति गरिसके पछि त्यति जाबो घिउका लागि किन उनलाई रिसाउन दिने।" घिउ आयो। साधुले भगवानको प्रतिमा निकाले, घण्टी बजाए र भोग लगाउन बसे। तन्किएर खाए, त्यसपछि भुँडा छाम्दै द्वारका छेऊमा आराम गर्न पल्टिए। थाल, बटुका र डाडु रामधनले उठाएर माझ्ने ठाउँमा गले। त्यस बेलुका रामधनका घरमा चुलामा आगो बलेन। दाल पिएरै सन्तोष गर्नु पर्यो। रामधन पल्टिए र सोच्न थाले- म भन्दा त यिनी नै सुखी।
हिन्दीबाट अनुवादः कुमुद अधिकारी। |
|
|
मुन्सी प्रेमचन्द जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६ उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्। |