|
महोत्सव ? मुकुल दाहाल
उसँग विश्वासको रङ छ। मनले छाएको छानोको घर छ। मसिना खुसीहरूको रुमाल छ। मनले उडाएका सानासाना चङ्गाहरू छन्। आफ्नो सुरले बज्ने मुरली छ। शब्दहरू खेल्ने आँगन छ। साधारण मान्छेका सयौँ तालहरू बज्झन् ऊसँग साधारण मान्छेका सयौँ स्वरहरू बोल्छन् ऊसँग। सादापनको स्वर्गमा बस्ने गर्छ। ऊ एउटा साधारण मान्छे।
घरमाथिको खेत उसको कार्यालय। हरेक दिन ऊ पोख्छ आफ्नो मन यहाँ। उमार्छ आफूलाई। गोड्छ र फलाउँछ। ऊ आफ्नै पाइलाको सङ्गीत सुन्छ आफ्नै पाखुराको गीत रच्छ, ऊसँग झुटलाई चम्क्याउऩे चकमक छैन। कपटलाई रङ्गाउने रङ छैन। उसको सानो संसारमा दूर देशबाट उड्दै आउने बतास उसको पाहुना। घाम उसको महान अतिथि। ऊ एकान्तको घनिष्ट मित्र प्रेमको अमर प्रेमी। हरेक दिन ऊ आकाशजस्तो खुल्छ। ऊ बादलजस्तो हलुका उड्छ।
ओठमा खेल्ने मुस्कानबाट उसले जति सिक्यो आँखाको उज्यालोबाट त्यतिनै सिकेको छ। उसले बगैँचामा फुल्ने फूलहरूसँग पढेको छ। तिनीहरूको बास्नाका पानाहरूमा लेखेको छ। उसको महाविद्यालय यत्रो विशाल पृथ्वी। आकाशबाट झर्ने पानी उसको आफन्त। घरनजिकैको झरनामा टेकेर उभिने इन्द्रेणी उसको प्रेमी। उसँग ऊ हुनुको सुखको गुलियो स्वाद छ। आफूलाई सम्मान गर्दा बज्ने सोरठी छ। उसलाई मात्र थाहा छ साधारण हुनुको आनन्द। ऊ मात्र देख्छ सादापनमा देखिने सौन्दर्य। पानीजस्तो बगिरहने ऊ खोलाजस्तो डुलिरहने डाँडा पाखा बतासजस्तो सुसाइरहने ऊ मकैबारीको बतासले देखाइदिएको बाटो हिँड्छ, झरिले सिकाएको गीत गुनगुनाउँछ। वर्षातले धोएर सुताएका शब्दहरूलाई उसका ओठहरूले उठाउँछन् र बोलाउँछन्। ऊ सुन्छ तिनीहरूको स्वर।
उसलाई भाग्नु छैन कतै ब्यापारका जङ्गलहरूमा उसलाई जित्नु छैन कहिल्यै नजितिने जीत। उसलाई हिँड्नु चैन अनकन्टारमा गएर हराउने सडक।
ऊ रङ मिसाउँछ आफ्ना पाइलाहरूमा रस घोल्छ जीवनको गतिमा ऊभन्दा धेरै टाढा पुगेका विशेष मान्छेहरूजस्तो उसले छोडेको छैन आफूलाई। ऊ अझै आफैँ नजिक। आफ्नै आँसुहरूबाट झर्ने मोतीले धुन्छ सबै फिका भावहरू मनका। भागलिन्छ आफ्नै जीवनको महान महोत्सवमा। ऊ एउटा साधारण मान्छे। ³³³ |
![]() |
कवि श्री मुकुल दाहाल, पेन हिमालय (www.penhimalaya.netfirms.com) का सम्पादक र साहित्यसरिता (www.sahityasarita.org) का सहयोगी सम्पादक हुनुहुन्छ। कवितामा नयाँ विम्बहरू सृजना गर्न रुचाउने श्री दाहालको सीमातित सीमान्त नामक कृति प्रकाशित छ। हाल उहाँ बेलायतको स्वानसि विश्वविद्यालयमा सिर्जनात्मक लेखनमा स्नातकोत्तर गर्दैहुनुहुन्छ। सम्पर्कः mukul.dahal@gmail.com |