बजार जाँदै छ्यौ....

? गौरव सोलन्की

 

बजार जाँदै छ्यौ

केही सामानहरू लिएर आऊ

सूची दिन्छु तिमीलाई

एकछिन त पर्ख,

आशाका ओढ्नेहरूलाई

यथार्थका मूसाहरूले खाए

तिमीले नयाँ आशाहरूको नयाँ थान लिएर आऊ,

सिलाउन दिनू है

फाटेका सपनाहरू

भन्छन् ठूलो चोकको दर्जीले

सानदार रफू गर्छ रे,

एउटा आनन्दको बोतल पनि लिएर आऊ

अनि केही निद्राका गोलीहरू

मुस्कानको मुरब्बा(चटनी)

र खुशीका थैलीहरू,

वर्सौँ देखि सकिएका छन्

सबै सामानहरू,

फूटेका छन्

उत्साहका रिकापीहरू,

किच्चिएका छन्

आशाका थालहरू

मायाको रासिन त

तिमी एक्लैले खाई सक्यौ

र मीठो अचारमा

गनगनको ढूसी लागि सक्यो,

जिउँदै रहने सबै कोसिसहरू

अब बुकिङ गरेर मात्र पाइन्छन्

तिमी ब्ल्याकमा

अलिकति जिन्दगी ल्याऊ

मेरा सबै घडीहरू

थामिएका छन्

मेरो समयमा पनि ब्याट्री हाल्न लगाऊ,

आँखा खोल्दा

हेर्न सक्तिनँ

ओठ खोल्दा

बोल्न सक्तिनँ,

हिजो राघवले भन्दै थियो

बजारमा क्लोन पनि पाइन्छ रे

मूल्य पत्ता लगाऊ

र सस्तो लागेमा

म जस्तै अभिशप्त एउटा क्लोन लिएर आऊ

मेरो त के र

कतिबेला सास छोड्छु

र फेरि लिन बिर्सन्छु।

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

 ७ जुलाइ, १९८६ मा उत्तर प्रदेशको मेरठ जिल्लामा जन्मिनु भएका श्री गौरव सोलन्की हाल आई.आई.टीमा अध्ययनरत हुनुहुन्छ। १५ वर्षको सानै उमेरदेखि काव्यलेखनमा लाग्नुभएको गौरवले प्रविधि विज्ञान छाडेर पूर्णकालिन लेखक बन्ने सोच बनाउनुभएको छ।
सम्पर्कः aaawarapan@gmail.com