|
निर्णय ? विवश पोखरेल "बा बहुलाउनुभयो। " घरभरि खासखुस चल्यो। हिजोसम्म केही नबोल्नु भएको बाले आज अप्रत्याशित यति ठूलो निर्णय गर्नुले घरका सबै आश्चर्यचकित भए। "बाँदर आफू पनि घर बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन।" बाको निर्णयपछि माइत जान पखेटा उचालेका बुहारीहरूके बेग्लै गुनासो र विद्रोह रह्यो। "त्यस्तो थियो भने अगाडि नै खबर गरेको भए त्यति टाढादेखि हामी आउने नै थिएनौँ। अनाहक खर्च। दक्षिणाको लोभ लाग्यो बालाई।" जीवनलाई अर्थसँग तुलना गर्ने गर्ने छोरीज्वाईँको बा प्रति बेग्लै आरोप रह्यो जो लालाबालासति बर्सौँपछि माइती-ससुराली आएका थिए। "त्यही त जमरा राखुन्जेल बाले केही बोल्नुभएन। एकैचोटि नवमीको दिन जनमतसङ्ग्रह घोषणा गरेझैँ घोषणा गर्नुभयो- यसपालि टीका लगाउने, बूढा खुस्किएका हुन्।" केही बेरअघिसम्मको बाप्रतिको आदर, सद्भाव दसैँमा टीका लाउन नपाएको रहनामा अब तपाईँबाट तिमीमा झर्यो। तर पुच्छरपछाडि यस्ता टीकाटिप्पणी चले पनि बाका अगाडि उभिएर 'किन बा ! यलपालि हामी टीका नलाउने ?" भनेर प्रश्न गर्ने आँट भने कसैमा थिएन। सबैलाई थाहा थियो बाको स्वभाव। निरन्तर आफ्नो निर्णयमा अडिग र आफ्नो निर्णयको प्रतिवाद सुन्न नरुचाउने उच्च रक्तचापको रोगी बासँग प्रतिवाद गर्नु खागाको घारमा झट्टी हान्नु बराबर थियो, फेरि जसलाई पारिवारिक मर्यादाको विपरीतसमेत मानिन्थ्यो। आजसम्म बाको कुनै निर्णयविरूद्ध कुनै छोराहरूले प्रतिवाद गरेको अभिलेख थएन। घरका सबैले पुच्छर चिमोटेपछि अन्ततः कान्छो नाति सिरूले सार्वजनिक गरेको थियो सामूहिक जिज्ञासा- "बा ! हामी यसपालि किन टीका नलाउने ?" "बाबु ! यसपालि देशलाई नै शोक परेको छ त्यसैले।" एकाएक गम्भीर हुनुभएको थियो बा। बालजिज्ञासाको निरुपणपछि मात्र थाहा भयो सबैलाई यसपालि दशैँमा किन टीका नलाउने। तर जुन कारणप्रति कसैको चित्त बुझेको थिएन र प्रतिवाद गर्ने साहस कसैँसँग थिएन। "त्यसो भे अगाडि नै जमरा नराखेको हुन्थ्यो नि त बा !" दसैँ नमान्ने निर्णय सार्वजानिक भएपछि बाको स्वभाव पढेको मैले नम्र भएर डराई-डराई बासँग आफ्नो प्रश्न राखेँ। "हुन्थ्यो, पछि बुद्धि आयो। हुन दे, अब जे भयो भयो। मन लागेन टीका लाउन।" मेरो प्रश्नको उत्तरपछि बा एकाएक टोल्हाउनुभयो। उहाँका अँखा धमिलो अतीततिर हराएको अनुभूति गरेँ मैले। यसपल्ट बाले टीका नलाउने घोषणा गर्नु राष्ट्रिय शोकमात्र नभएर पारिवारिक कारणहरू पनि छन्। जुन सबैलाई थाहा थियो र पनि बाभित्रका मर्म पीडाहरूलाई पढ्नभन्दा दुई-दुई वर्षसम्म टीको नलाएको निधार अकारण यो वर्ष पनि बुच्चो रहनुको विद्रोह सर्वत्र छताछुल्ल भएर बामाथि पोखिनु स्वाभाविक थियो। हुन पनि हो, दुई-दुई वर्षसम्म यो घरमा दसैँ आएन। यसपल्ट उल्लासमय दसैँ मनाउन सम्पूर्ण परिवारको अपूर्व उपस्थिति रहेको थियो , तर घरमको आदरणीय र पूजनीय व्यक्तित्व बाको निर्णयविरूद्ध विद्रोह गरेर आफ्नो उमेरको तीन रजत काटिसक्नुभएको बृद्ध बाको मन दुखाउन उपयुक्त थिएन "भैगो, छोड्देओ, अब यो वर्ष जे भयो-भयो, अर्को वर्ष रमाइलो गरेर दसैँ मनाउँला। जे होस दसैँको बहानामा सबैसँग भेट त भयो।" अन्तत घरको जेठो हुनुको नाताले विद्रोही सम्पूर्ण परिवारलाई थुमथुम्याउनु मेरो कर्तव्य रह्यो। साँच्चै नै शून्य थियो यसपल्टको घर। दसैँ दसैँजस्तो थिएन। जुन बेला घरमा आमा हुनुहुन्थ्यो, त्यसबेला दसैँको रौनक पनि बेग्लै हुन्थ्यो। अहिले आमा बित्नुभएको पनि तेइस महिना भएछ, लगभग दुई वर्ष। बर्खान्त नसकिएकाले पोहोर साल पनि टीका लगाइएन। अब आमाको स्मृति मात्र बाँकी छ। फगत आँखा र भित्तामा टाँगिएको एउटा धमिलो तस्वीर भएको छ आमाको अनुहार। दसैँमा घर आउनेसाथ आफ्ना सन्तानप्रति वात्सल्यका न्याना शब्द प्रस्फुटित हुन्थे आमाको अन्तरमनदेखि- "हेर, सबै दुब्लाएछन्। सहरको बसाइ, दूध-दही खान पाउँदैनन्। बीच-बीचमा यसो आए त हुन्थ्यो नि ! तिमीहरूलाई घर आउन फुर्सत हुँदैन, दसैँमा मात्र आउँछौ झुल्केघामजस्तै ! हामी हुन्जेल त हो।" जागिरे जीवनका व्यथा नबुझ्नुभएकी आमाको चिन्ता सधैँ आफ्ना सन्तानहरूप्रति हुन्थ्यो। हामी जागिरे छोराहरू दसैँको बहानामा मात्र वर्षमा एकपल्ट घर आउँथ्यौँ। अब त आमाको त्यो सङ्लो स्नेह सम्झना गर्नसिवाय केही थिएन हामीसँग। यसपल्ट आमाको सट्टा बाको गुनासो रह्यो। "आमाको बर्खान्त सकेर गएपछि बाबु ! तिमीहरू बीचमा कहिल्यै आएनौ, दिदीबहिनीहरू कहिल्यै आएनन्। म पनि त तिमीहरूको बा हुँ नि ! आमा हुन्जेल मात्र हो र यो घर....। आमा गएदेखि किन-किन यो घर नै घरजस्तो लाग्दैन। यसो आउँदै गरे त हुने नि ! आखिर म नै अब कति बाँच्छु र ?" हामीलाई देखेपछि घर पुग्नासाथ बा एकाएक भक्कानिनुभएको थियो। बाको शब्दले निकै आहत भएका थियौँ हामी। पोहोरको अनुपातमा निकै दुब्लाउनु भएछ बा ! जिङरिङ्ग दाह्री, मैलो लुगा। तुलसीको पात चपाइरहने अर्को बानी थपिएछ बासँग, सायद तुलसीको पातले पीर चपाउन सघाउ पुर्याउँदो हो बालाई। स्पष्ट छ यसपल्ट टीका नलाउनुको कारण, आमाको अभाव खट्क्यो बाभित्र। आमाको मृत्युपछि साँच्चै नै जीवनदेखि नै विरक्तिनुभएको छ बा। म बाको गम्भीर अनुहार पढ्छु। बा भित्रबाट प्रस्फुटित प्रत्येक शब्द तौलन्छु। गह्रौँ पाडीबोध हुन्छ मलाई। साँच्चै नै आमाको अभावमा बिक्षप्त हुनुभएको छ बा। हो, बूढो भएपछि सानो केटाकेटी हुन्छ मान्छे। आफ्नै व्यस्तताका कारण आफ्ना घरका परिवारले समय दिन नसक्दा ऊ आफूलाई निरीह र उपेक्षित ठान्दछ। सम्भवतः यसबेला त्यस्तै भएको छ बालाई। आफ्नी जीवनसँगिनी आफूसमीप नहुनुको पीडा भोग्नुभएको छ बाले। सके, आफ्ना आगामी अशक्त दिनहरूप्रति सशङ्कित हुनुभएको छ बा। त्यही अन्तरद्वन्द्वको मन्थन हो यसपल्टको टीका बहिस्कार। यस कारणसंग कुनै आर्थिक राजनैतिक सम्बन्ध छैन। कसलाई पुग्छ र दसैँको दक्षिणा र भेटीले जीवनपर्यन्त, मात्र यो त एउटा संस्कार हो, एउटा परम्परा, जो निरन्तर युगौँदेखि चलिआएको छ। हुन पनि हो- जसको मन पीरको झरीले लपक्क भिजेको छ उसलाई के महत्त्व उल्लसित दिनको। सम्भवतः एउटा सुखद् अतीत प्रत्येक क्षण, प्रत्येक झिम्क्याइमा सुकिला दृष्य भएर आउँदो हो बाका आँखामा। प्रत्येक दसैँमा चण्डीपाठका लागि पूजासामग्री जुटाइदिने आफ्नी अर्धाङ्गिनीको सहभागिता, टीकाको दिन प्रत्येक निदारमा केन्द्रित आमासँगका सामूहिक हात, 'आयुद्रोणसुते' को आशीर्वचनसहितका झझल्काहरू आरोहअवरोह गर्दा हुन् बाका स्मृतिमा र नै नरमाइलो लागेको हुँदो हो यसपल्टको दसैँ बालाई र आफ्ना अन्तर्मनलाई नियन्त्रण गर्न नसकेर उद्घोषण गर्नुभएको हुँदो हो 'यसपल्ट टीका नलाउने!' जसमा कुनै राजनैतिक, धार्मिक, आर्थिक कारण छैन। फर्किने दिन पनि आयो, झन् उदास देख्छु बाको अनुहार। अझ नरमाइलो लाग्दो हो बालाई। केही दिनको चहलपहलपछि फेरि शून्य हुँदैछ घर। "अब हामी जान्छौँ बा।" हामी बानजिक पुग्छौँ, सम्पूर्ण जागिरे छोराछोरी र बुहारीहरूको प्रतिनिधित्व म गर्छु। "जान्छौ ?" पुनः बाका आँखा रसिन्छन्। बूढो आँखामा आँसु नरमाइलो लाग्दो रहेछ। तर के गर्नु बिदा त हुनु नै छ, बाध्यता छ। "बाबु ! तैँले र दुलहीले यी भाइबहिनीहरूलाई बिदा गर्। दसैँको टीका नलाए पनि बिदाइको टीका त लाउन हुन्छ नि ! तिमीहरूले लाइदेओ आखिर मपछिको ठूला तिमीहरू नै हौ।" "हुन्छ बा !" म काट्न सक्तिनँ बाको आग्रह। "तिमीहरूचाहिँ भोलि जानू ! सबै एकैचोटि जाँदा मलाई आजको दिन आमालाई बिदा गरेको दिनजत्तिकै नरमाइलो लाग्छ।" बा फेरि भक्कानिनुहुन्छ। "म नै लाइदिन्थेँ तिमीहरूलाई टीका, तर बाबु ! मेरो हात काम्छ, म लाउन सक्तिनँ, आमा सम्झन्छु त्यसैले यसपल्टको दसैँ...।" बा त्यहाँभन्दा बढी केही बोल्न सक्नुहुन्न। बाको आग्रहअनुरूप बिदाइको टीका लाउन मेरा हात हिँड्न आतुर भैरहेका मेरा भाइहरूका निधारमा पुग्छ, दिदीबहिनीहरूका निधारमा पुग्छ। म पनि सम्झन्छु आमाको अनुहार....। सम्भवतः अरू पनि सम्झँदा हुन्। टीका लाएको हेर्न नसकेर बाक ओझेल हुनुभएको छ हामीदेखि। देख्छु- बा धारामा मुख धुँदै हुनुहुन्छ। सके, आफ्ना पीरलाई पानीले पखाल्दै हुनुहुन्छ उहाँ। ³³³ (स्नेहअस्त्रबाट) |
![]() |
वाणी प्रकाशन विराटनगरका व्यवस्थापक श्री विवश पोखरेलका अनिदो रात र बत्तिका पुतलीहरू(कवितासङ्ग्रह), समय बिम्ब(कथासङ्ग्रह), कर्कलाको छाता(बालकविता सङ्ग्रह), स्नेहअस्त्र(कथासङ्ग्रह) र साँडेको दाईँ(व्यङ्ग्यसङ्ग्रह) गरी पाँच कृतिहरू प्रकाशित छन्। विभिन्न पाँच पुरस्कारहरूले सम्मानित भइसक्नुभएका श्री पोखरेललाई vaani_prakashan@hotmail.com मा सम्पर्क गर्न सकिन्छ। |